नेपालीले हारेका छैनन्, भारतप्रति नै घृणा जागेको छ

नेपालीले हारेका छैनन्, भारतप्रति नै घृणा जागेको छ

नेपालको राजनीतिक वृत्तमा भर्खरै एउटा भद्दा नाटकको रिहर्सल भएको छ । पर्दा आधा मात्रै खुलेको छ । जेजति खुलेको छ, त्यसले एउटा गजबको परिदृश्य हाम्रोसामु उपस्थित गराएको छ । यो सानो मुलुक, नेपालको माटोलाई असाध्यै माया गर्ने यहाँका जनताविरुद्ध, आफूलाई विश्वको उदाउँदो शक्ति राष्ट्र भन्न मन गर्ने भारत कस्ता–कस्ता जालझेल, प्रपञ्च र षड्यन्त्र गर्न पछि पर्दो रहेनछ भन्ने सबैसामु खुलस्त भएको छ ।

यो कलाहीन नाटकको सूत्राधार बनेर सबैसामु अभिनय गर्ने पात्रका रूपमा एक कालखण्डमा जनयुद्धका नायक, जनताका नेता भनेर सम्बोधित हुने ‘प्रचण्डपथ' का उन्नायक भनिने पुष्पकमल दाहाल उर्फ प्रचण्ड देखा परेका छन् । २००७ सालदेखि आफ्नो व्यक्तिगत स्वार्थको लागि भारतीय गोटी बन्दै मुलुकको सार्वभौम सत्तासमेत धरौटी राख्न पछि नपर्ने भनेर नाम लिइने अमूकअमूकहरूमा अब आएर पुष्पकमल दाहालको नाम सुनौला अक्षरले सबैले देख्ने र बुझ्ने गरी सूचीकृत भएको छ ।

नौ महिनाको कार्यकालपछि केपी ओली प्रधानमन्त्रीबाट बाहिरिएका छन् । उनले आफूलाई ‘छापामार शैलीमा हटाउन खोजियो' भनेका छन् । म यसलाई ‘कु' को शैलीमा हटाइयो भन्न चाहन्छु । नौ महिनाको लामो अभ्यासपछि भारत नेपालमा एकपल्ट फेरि लेन्डुप प्रवृत्तिको अन्वेषण गर्न सफल भएको छ, त्यो पनि माओवादी वृत्तबाट । ओलीको स्वभाव र सन्कीपन, उनको राजनीतिक विचार आदिप्रति सहमति नभए पनि उनी सम्मान र सहानुभूतिका साथ सरकारबाट बिदा भएर ‘हारे' भनिए पनि जितेका पात्र झैँ उभिए ।

‘प्रचण्ड प्रधानमन्त्री होलान्, तर उनी राजदूत रे लगायतका भारतीय कर्मचारीभन्दा बढी हुने छैनन् र माओवाद र माओवादी नामसित थप कलंक र बद्नामी जोडिनेछ' भनेर यसअघि नै मैले यसै पत्रिकामा लेखिसकेको हुँ । अहिले सामाजिक सञ्जालहरू कालो पोतिएको उनको अनुहारले भरिएका छन् ।

यतिखेर भारतीय पत्रपत्रिका तथा अनलाइनहरू पढ्दा बडो ‘रमाइलो' अनुभूत हुन्छ । नालापानीमा पानीका मुहानसमेतको नाकाबन्दी गरेर हाम्राविरुद्ध लडाइँ लड्ने अंग्रेज साम्राज्यवादविरुद्धको इतिहासजस्तै हामीले पनि नाकाबन्दीसहितका यी नौ महिना लडाइँ नै लड्यौँ । पहिले भूकम्पसित अनि भारतसित ।

 

अहिले ‘प्रचण्ड हमारा आद्मी' भनेर ‘जस्न' मनाइरहेका छन्, भारतीयहरू । केही समयअघि ओली सरकारबाट हट्ने हल्लासँगै भारतमा भोजभतेर भयो भनेर सोही पार्टीका नेता अमिक शेरचनको भनाइ सार्वजनिक भएको थियो । ओलीको राजीनामासँगै नेपालका लागि पूर्व राजदूत राकेश सूदले प्रचण्डले गर्नुपर्ने कामको सूची नै अगाडि सारे । प्रचण्ड ल्याउनुको उद्देश्य उनले सार्वजनिक गरे । सूद तिनै पात्र हुन्, जसले कटवाल प्रकरणाताका प्रचण्डलाई बाघबाट बिरालो बनाउँछौँ भनेर घोषणा गरेका थिए ।

ओली गए प्रचण्ड आए भन्ने कुरा मात्र होइन यो । भारतीय टाउको दुखाइसित चीनसितको बढ्दो सम्बन्ध र समझदारी यातायात र व्यापार र वाणिज्यका सन्दर्भहरू पनि जोडिएका छन् । फास्ट ट्रयाकका सम्बन्धमा अन्तिम समयसम्म विमलेन्द्र निधिमार्फत भारतले प्रयास गरेको हो र कोशी उच्च बाँध र मार्सल प्रकरण उसको हिजोदेखिकै योजना हो । प्रचण्ड आफैँ अघि सरेर अपर कर्णाली भारतलाई सुम्पिए ।

अहिले अर्को अचम्मको कुरा बाहिर आएको छ । ओलीको राजीनामासँगै भारतले कोसी पुलमा आईएसआईको आक्रमणको मनगढन्ते कथा बुनेर सुरक्षाका नाममा भारतीय सेना नेपालमा तैनाथ गर्ने योजना बुनेको छ । भारत आफैँ नक्कली आईएसआई बनेर कोशी ब्यारेजलाई ध्वस्त नपार्ला भन्न सकिन्न । प्रचण्ड प्रधानमन्त्री भएकै बेला बाबुराममार्फत एयरपोर्टहरूमा भारतीय मार्सल राख्ने अन्तिम तयारी भएकै हो र अब फेरि एकएक बहाना गरेर यो काम गरिनेछ ।

एकपटक भारत नेपाल पसेपछि फर्किन र फर्काउन गाह्रो छ भन्ने कुरा प्रचण्ड प्रधानमन्त्री भएका बेला कोशीमा आएको बाढीलाई बहाना बनाएर विराटनगरमा राखिएको जासुसी कार्यालय भारतले अहिलेसम्म हटाएको छैन र हट्ने स्थिति पनि छैन ।
अब प्रचण्ड कारिन्दा मात्र हुन् । अब उनले मन्त्री पनि छान्न पाउने छैनन् मन्त्री बन्न चाहनेहरूको भारतीय दूतावासमा लर्को लागेको कुरा आइसकेको छ । भारतले ‘हिरो र जिरो' बनाइसकेको छ र माओवादी केन्द्रबाट समेत को–को मन्त्री हुने कुरा भारतले सूची पठाएको चर्चा छ । माओवादको आवरणमा संसदीय राजनीतिमा लागेकाहरू मन्त्री बनाइदेऊ भनेर विदेशी शक्तिकेन्द्रसित सम्बन्ध बनाउनु अचम्मको होइन ।

तर मोहन वैद्यले क्रान्ति गरेनन् र गर्न सक्तैनन् भनेर क्रान्ति गर्न गएका ‘बादल एन्ड कम्पनी' पनि यतिबेर संसद्वादी घिनलाग्दो खेल र राष्ट्रघातको मतियारमा परिणत भएको छ । न त मन्त्री बन्नसक्ने स्थिति छ न त त्यहाँभित्र विद्रोह गर्ने स्थिति नै छ । उनीहरूसामु प्रचण्डका कुकृत्यको साक्षी बस्नुबाहेक अरू उपाय छैन ।

‘कथित एकता सिंगो माओवादी आन्दोलनलाई संसद्वादी आहालमा डुबाएर सिध्याउने परिपञ्च हो' भनेर नेकपा (क्रान्तिकारी माओवादी) ले गरेको ठहर सही साबित भएको छ । बादल एन्ड कम्पनीको व्यवहार माओवादी आन्दोलनलाई राष्ट्रिय आत्मसमर्पणवादको स्थितिमा पुर्‌याउने भारतीय योजनाबद्धताकै उपज रहेछ ।

कथित मधेसवादी नेताहरूलाई अगाडि सारेर भारतले दीर्घकालीन रूपमा नेपालको पानी र चुरेउताको भूगोल हात पार्ने योजना ओली सरकारमा रहुन्जेल सफल हुने स्थिति रहेन । अहिले आएर एकपटक फेरि कथित मधेसवादीहरूको आन्दोलन भारतकै इसारामा नेपालको सार्वभौम सत्ताविरुद्ध मात्र थियो भन्ने प्रस्ट भएको छ । भारतले ओलीविरुद्ध सुशील कोइरालालाई भोट दिन लगायो, उनीहरूले त्यसै गरे । अहिले ओलीविरुद्ध भोट हाल्ने भनियो, त्यसै गरे ।

कथित मधेसी मोर्चा र उपेन्द्र यादव–अशोक राईहरूको आन्दोलन उत्पीडित जनताको हक, हित र पहिचानको लागि होइन भनेर भन्दै आएको सही साबित भएको छ । यिनले फेरि एकपटक राष्ट्रिय स्वाभिमानिता र धोका दिएका छन् । आन्दोलनमा तराईका जनताले बगाएको रगतमा टेकेर यी सत्तासुख भोग्न चाहन्छन् । यही नै यिनीहरूको पहिचान हो ।

हामी संसदीय व्यवस्था जिन्दावाद ! भन्न सक्तैनौँ, तर राष्ट्रिय स्वाधीनताको प्रश्नमा विस्पृह हुन सक्तैनौँ र हुनु पनि हुँदैन । हामी क्रान्तिकारी हौँ, तर हामी एकान्त टापुका वासिन्दा होइनौँ र हुन पनि सक्तैनौँ । खरबारीमा चारैतिर आगो लागेको बेला म त सुरक्षित छु भनेर विचारलाई सिरान बनाएर मस्त निदाउने स्थिति हुँदैन । आत्मगत स्थितिका नाममा सधैँ पुर्पुरोमा हात राख्ने हो कि तयारीमा जुट्ने हो ? प्रश्न यहाँनेर छ ।

यसपटकको भद्दा नाटकमा प्रचण्ड र देउवा मात्र परिदृश्यमा देखिएनन्, एमालेभित्रै पनि विभीषण बनेर ‘लंका दाह' गर्न कोको लागेका रहेछन् भन्ने पनि सतहमा आयो । कति गजबको हुने रहेछ, संसदीय फोहरी राजनीति !

हिजोका ‘विषवृक्ष' माधव नेपाल र प्रचण्ड यतिबेर एकअर्काको प्रशंसामा तल्लीन छन् र वामदेवले एकपटक फेरि ‘पिँध नभएको लोटा' का रूपमा आफूलाई साबित गरेका छन् । अविश्वासको प्रस्तावमा मतदान भएको भए तिनले कता भोट हाल्थे भन्न सकिएन, तर एमालेभित्रै भारतले खाँटी विभीषणहरू तयार पारिसकेको रहेछ भन्नेचाहिँ प्रस्ट भएको छ । यसको लागि भारतले राम्रै लगानी गरेको हुनुपर्छ ।

ओली गए प्रचण्ड आउलान्, अथवा देउवा आउलान्, यो खास कुरा होइन, संसदीय राजनीतिमा यस्तो चलिरहन्छ । एउटै पार्टीमा त हुन्छ भने यो अचम्मको कुरा होइन । परन्तु जसरी र जुन सन्दर्भका साथ ओली गए, त्यो सामान्य छैन । ओलीको बहिर्गमनपछि जेजस्तो भारतीय प्रतिक्रिया आयो, त्यो पनि सामान्य छैन । संसदीय राजनीतिमा यस्तै हुन्छ भनेर चुपचाप बस्ने कुरा पनि होइन यो । अब एकपछि अर्को गरेर राष्ट्रघातका शृंखला चल्नेछन् ।

अब चाँजोपाँजो र रीतिस्थिति मिलाएर, माग पूरा गर्ने नाममा भारतीयहरूलाई निर्बाध रूपमा नागरिकता दिइनेछ । परिबन्द मिलाएर अब नेपालको नदीनाला सुम्पिने काम हुनेछ । अब मधेसका समस्या समाधानका नाममा ‘मधेस एक प्रदेश' लागू गर्ने प्रयास हुनेछ । सुरक्षाका नाममा मार्सलहरू एयरपोर्टमा तैनाथ हुनेछन् । निजगढ विमानस्थलको के कुरा फास्ट ट्र्याक पनि कहिल्यै बन्ने छैन ।

संसदीय व्यवस्थाले नेपाली राष्ट्रिय स्वाधीनताको रक्षा र उत्पीडित नेपाली जनताको आवश्यकता पूरा गर्न सक्तैन र नेपाली समाजको अन्तर्विरोध हल गर्न सक्तैन भन्ने प्रस्ट छ । भारतले अहिले जे गर्न खोजेको छ, त्यो केही होइन भन्न मिल्दैन । यस्तो अन्तर्राष्ट्रिय चर्चा र टिप्पणीका विषयमा क्रान्तिकारी भनिएका हामी निस्पृह देखिनु सही र सान्दर्भिक छैन । हामी संसदीय व्यवस्था जिन्दावाद !

भन्न सक्तैनौँ, तर राष्ट्रिय स्वाधीनताको प्रश्नमा विस्पृह हुन सक्तैनौँ र हुनु पनि हुँदैन । हामी क्रान्तिकारी हौँ, तर हामी एकान्त टापुका वासिन्दा होइनौँ र हुन पनि सक्तैनौँ । खरबारीमा चारैतिर आगो लागेको बेला म त सुरक्षित छु भनेर विचारलाई सिरान बनाएर मस्त निदाउने स्थिति हुँदैन । आत्मगत स्थितिका नाममा सधैँ पुर्पुरोमा हात राख्ने हो कि तयारीमा जुट्ने हो ? प्रश्न यहाँनेर छ । विचारको अर्थ व्यवहार पनि हो ।

भद्दा नाटकको रिहर्सल चलिरहेको छ र यसका पछिका दृश्यहरू अझ रोचक र विस्मयकारी हुनेछन् । एउटा खतरनाक परिस्थिति नेपाल र नेपाली जनताले भोग्नुपर्ने त होइन भन्ने प्रश्नले हाम्रो वरिपरि चक्कर मारिरहेको छ । दिल्लीले जितेको छ, खुसी भएको छ । तर नेपाली जनताले हारेका छैनन् । भारतप्रति नेपाली जनतामा अझ बढी घृणा जागेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.