राजनीतिक मूल्यपतन र नियति

राजनीतिक मूल्यपतन र नियति

भूराजनीतिक स्वार्थहरू आधुनिक विश्व राजनीतिमा विस्मयका विषय होइनन् । हरेक मुलुक आफ्नो राष्ट्रिय हितको जगेर्ना र संवद्र्धन गर्न खोज्छन् । यो उपक्रमबीच मुलुकहरूले आपसी सम्बन्धका केही स्तर निर्धारण गरेका हुन्छन् । हितकारी सोचबाट प्रेरित स्तरले मुलुकविशेषको मात्र नभएर क्षेत्रीय विकासमै योगदान पुर्‌याउँछ ।

युरो जोनको अवधारणा, अमेरिका र क्यानडाले कायम गरेको सम्बन्ध परम्परा, आसियान क्षेत्रको एकीकृत उदयलगायत केही चोटिला उदाहरण हामी समकालीन दुनियाँमा देख्न सक्छौँ । युगौँदेखि युद्ध, हिंसा, गरिबी र रोगसँग लडिरहेको अफ्रिकासमेत यतिबेला तुलनात्मक रूपमा सम्हालिन थालेको छ । अपार प्राकृतिक स्रोतको स्वार्थसँग जोडिएर भए पनि शक्तिशाली मुलुकहरूबीच त्यहाँ आफ्नो असल छवि निर्माण गर्ने होड चलेको छ । जसको प्रत्यक्ष फाइदा उठाउनुपर्छ भन्ने चेतना अफ्रिकी महादेशमा हुर्किरहेको छ ।

आजको दिनमा हाम्रा बैठकमा सजाएर राखिने ग्लोब घुमाएर हेर्‌यौँ भने दक्षिण एसिया र मध्यपूर्व मात्रै अँध्यारा गरा जस्ता लाग्छन्, जहाँ बालीनाली मात्र बिग्रेको छैन, विभिन्न खालका अनेक रंगी प्राणघातक सर्पहरूसमेत सल्बलाइरहेका छन् । मध्यपूर्व यतिखेर मानिसले मानिसलाई मार्ने अचम्मको क्रूरताले गाँजिएको छ भने दक्षिण एसियाचाहिँ सबै चिज भएर पनि अविश्वास, घृणा र वैचनीमा फनफनिरहेको छ ।

के यो समस्या एक पक्षको मात्र कमजोरीले भएको हो त ? अवश्य होइन । भूगोल, जनसंख्या, उपादकत्व, ओद्यौगिक विकास, राजनीतिक र सामाजिक संस्कृतिका आधारमा मुलुकहरूको विश्व रंगमञ्चमा अवस्थिति, शक्ति अनि प्रभाव मापन हुन्छ । त्यहीअनुसार मुलुक र त्यसका जनताले आफ्नो लागि एउटा चेत विकास गरेका हुन्छन् । गरिब मुलुकले सन्तुलित सोच, पहुँच र नीति बनाउने विषय अलि कठिनै छ किनभने उसले आफ्नो अधिकतर समय र सामथ्र्य न्यूनतम आवश्यकता पूर्ति खातिरै खर्चेको हुन्छ ।

त्यही भएर अभावमा नैतिकता एकदम ठूलो चुनौती बन्छ । गरिबले गरिबै ताल देखायो, ठीकै छ । तर धनी र सक्षमले राम्रो गरे हुने नि । समस्या त्यहाँनेर तेर्सिन्छ, जब धनीले गरिबलाई झन् गरिब बनाउन चाहन्छ । गरिबलाई दुष्चक्रमै घुमाएर आफ्नो आत्मरति र स्रोत दोहन गर्नु धनीको चेष्टा हुन्छ । यहाँ धनी र गरिबलाई एउटा उदाहरणको रूपमा मात्र लिऊँ । त्यो भौगोलिक र सामरिक रूपमा शक्तिशाली मुलुक एव्म प्राकृतिक अवस्थितिका कारण ठगिएको र इतिहासका कतिपय गल्तीले पिछडिएको मुलुकबीचको विषयसमेत हुन सक्छ ।

 

मध्यपूर्वको समस्या अलिक विशेष छ । त्यहाँ अतिवादको विष युगौँदेखि गाडिएको हो । धनी राष्ट्रहरूले स्रोतका लोभले त्यो विषको घडा अनाहकमा हल्लाइदिँदा आज संसारभर जहर फैलिरहेको छ । कहाँ कतिबेला त्यो विष आत्मघाती विस्फोट वा बन्दुकधारीहरूको विनाशकारी लीलाका रूपमा प्रकट हुने हो यकिन गर्न सकिँदैन । दक्षिण एसियाको सन्दर्भमा चाहिँ सक्षम भाले बनेर निम्छरोलाई ठुँगिरहने उही प्राकृतिक दोष प्रस्ट छ ।

त्यो दोषले कताकता मध्यपूर्वकै अतिवादको बाटो समात्न खोजेको समेत बेलाबेला देखिन्छ । धन्न, यो क्षेत्रमा शदीयौँदेखिको सहिष्णुता, संयम र मानवीयता निहित परम्पराको बल अझै निख्रेको छैन । आज पनि होन्डुरसको कुनै गाउँमा एउटा भारतीयले नेपाली भेट्यो भने आफ्नौ दाजु वा भाइ भेटेबराबर गर्न सक्छ ।

जनस्तरमा यहाँका जनबीच अझै अपार प्रेम छ । ६ महिनासम्म कुनै जायज कारणले पुष्टि हुन नसक्ने नाकाबन्दी हुँदाहुँदै पनि नेपालीहरूले भारतीयहरूको कुनै अर्थमा कुभलो चिताउने काम गरेनन्, गर्न सक्दैनन् । यो अपार माया र भरोसा कुनै राजनीतिले सिर्जना गरेको मूल्य होइन, नकि नरेन्द्र मोदीले बनाउन खोजेको नयाँ भारतको उद्देश्य ।

दक्षिण एसियाको समस्या भनेकै निम्नकोटीको राजनीति हो । गरिबी र राष्ट्रियतालाई भोटको लागि भजाउने नकचरो संस्कृति यहाँ सर्वस्वीकार्य सामाजिक नियम बनाउन खोजिएको छ । यहाँ दल चलाउनु, त्यसमा आबद्ध हुनु जनसेवाको विषय होइन ।

दलहरू तल्लो स्तरसम्म पूर्णकालीन कुण्ठित कार्यकर्ताहरूको झुण्ड विकास गर्नमै केन्द्रित छन्, जसबाट राजनीतिक कार्यकर्ताहरू जनसेवक पात्रहरू नभएर दलीय आबद्धताको शक्तिलाई दलालीको अस्त्र बनाउने असुरहरू जस्ता बन्न पुगेका छन् । यो दोष उच्च स्तरका नेताहरूले आफ्नो निहित स्वार्थको लागि, भोलि मरेर जाँदा दुनियाँले के भन्ला भन्ने हेक्का नराखी मलजल गरेका हुन् ।

कसले यो दोषलाई व्यवस्थित रूपमा भण्डारण र उपयोग गर्न सक्छ, ऊ नै सफल राजनीतिक प्राणी बन्ने, उसले चुनाव जित्ने, जिताउने क्षमता राख्ने अवस्था छ । समस्या के भने जनस्तरमा समेत यो दोषलाई क्षमताको कडीको रूपमा हेर्न थालिएको छ । हाम्रो समाज यस अर्थमा चरम मूल्य पतन र सामाजिक भष्टाचारको भासमा परेको प्रतीत हुन्छ ।

नेपाली राजनीतिमा यतिबेला ठ्याक्कै यही ‘डायनामिक' पराकाष्ठामा चलिरहेको छ । नेताहरू कतिसम्म बेहोसीमा छन्, रहेछन् भन्ने पछिल्लो राजनीतिक संकटबाटै प्रस्ट भयो । सरकार समीकरणका सामान्य नियमहरूको अभिलेखन नै जो संविधानमा प्रस्टतः हुन सकेन । भुइँचालोको उथलपुथलबाट संविधान जारी गर्नुपर्छ भन्ने नाटकीय उत्साह आउनु, फेरि त्यही संविधानले मुलुक एउटा विभाजित मनोविज्ञानतर्फ उन्मुख हुनु, गराइनु सबै विस्मयका विषय रहे ।

फेरि एक वर्ष बित्न नपाउँदै त्यही संविधान एउटा गठबन्धन परिवर्तनको लागिसमेत प्रस्टसिद्ध हुन नसक्नु कसको लागि लाजमर्दो विषय हो त ? अब सोचौँ, के यो संविधान निर्माण दौरान नेपाली नेताहरू विशुद्ध नेपाली जनताको हितमा केन्द्रित रहेर स्वतन्त्र ढंगले काम गरिरहेका थिए ?

नेपाली जनताले त आफ्नो मतादेशको बलमा आएको संविधानका कारण ६ महिना भोकभोकै मर्नुपर्ने स्थिति आउँदा पनि सम्झौता गरेनन् । तर यो कुराले न नेपाली नेतालाई चेताएको छ न तिनका कार्यकर्तामा नयाँ सोचको प्रार्दुभाव गरेको छ । बरु नेपालमाथि स्थायी रूपमा अनावश्यक नियन्त्रण राख्न खोज्ने विदेशी तत्त्वहरूले बुझ्न पुगे, नेपालीलाई यसरी गलाउन नसकिने रहेछ भनेर । त्यसैले अब उनीहरूको खेल जनतामाथि नभएर तिनै सजिला र सस्ता नेतामाथि केन्द्रित हुन पुगेको छ ।

यति धेरै स्रोत छन्, काम गरे अनाज किन्नुपर्दैन, बुद्धि बेचे पानी चलाएर धन कमाइन्छ । समथर फाँटहरूबाट झलमल हिमालको दर्शन गर्न पाइने अपार प्राकृतिक सौन्दर्य छ । तर हामी माल पाएर चाल नपाएको जस्तो स्थितिमा किन छौँ ?

नेपालले पछिल्लो वर्ष भोगेको नियतिका आधारमा के भन्न सकिन्छ भने नेपाली दलीय संस्कृतिमा अब कालकुट विष पनि सामान्य हो । यति भोला जनता छन्, जो नेताको अक्षमतालाई पेटमा पटुका बाँधेर सहिदिन्छन्, पटक–पटक गल्ती गरेका नेतालाई फेरि–फेरि पनि जिताएर सत्तामै पुर्‌याइरहन्छन् ।

यति धेरै स्रोत छन्, काम गरे अनाज किन्नुपर्दैन, बुद्धि बेचे पानी चलाएर धन कमाइन्छ । समथर फाँटहरूबाट झलमल हिमालको दर्शन गर्न पाइने अपार प्राकृतिक सौन्दर्य छ । बाढी आए उकालोतिर जाऊ, पहिरो आए समथर तिर जाऊ । नेपालमाथि नियन्त्रण राख्न खोज्नेहरूको निहित उद्देश्य नै त्यही स्रोत हो भन्ने जानेर पनि हामी माल पाएर चाल नपाएको भन्नेजस्तो स्थितिमा छौँ ।

एक क्षणको भोकले मानिसलाई अन्नको महत्त्व सिकाउँछ । तिर्खाले आकुल–व्याकुल हुँदाको बखत को चाहिँ खोलानालामा गएर सौच गर्ला ? मानवीय विवेक पद्धतिको सबैभन्दा आधारभूत नियम नै आवश्यकता हो । हामीकहाँ त एक क्षण, एक घन्टाको कुरै रहेन, महिनौँ गयो । अस्पतालमा औषधि र अक्सिजन थिएन । के यतिबेलै सोचिनुपर्ने होइन, अब सम्बन्ध पुराना दोषहरूबाट निर्देशित हुनु हुँदैन भनेर ?

के भारतसँगका सम्बन्धका सकरात्मक पहलुहरू पहिचान गर्ने र सन्तुलनमा आधारित व्यवहार विकास गर्ने विषयको लागि पछिल्लो वर्ष करिब–करिब ‘न्युट्रलाइजेसन' को अवस्था आइसकेको थियो । त्यसको लागि भारतसँगको विशेष सम्बन्धबाट चिनिएका नेताहरूले के पहल गरे त ? आज के गर्दैछन् त ? भारतसँगको हाम्रा कतिपय बेमेल भारतभित्रैका तत्त्वहरूका कारण भयो होला, तर हाम्रा तत्त्वहरू पनि तिनीहरूजस्तै हुनु जरुरी थियो र ?

हामीकहाँ भारत र अन्य छिमेकीसँग सुदृढ र समदूरीय सम्बन्ध विकासको लागि उपयुक्त भूमिका निर्वाह गर्नसक्ने योग्य मानिसहरू पनि छन् नि । भारतको भूराजनीतिक स्वार्थ खासगरी सुरक्षा र स्रोतहरूसँगै जोडिने हो, हामीले पनि हामीसँग भएको चिजको यथोचित मूल्य कायम गरी व्यवहार गर्न सक्छौँ । विश्वमा कैयन् त्यस्ता साना र कमजोर मुलुक छन्, तर ठूला तर अनुदार मुलुकसँग मिल्दो व्यवहार गरिरहेका छन् ।

तर इतिहास र समकालीन प्रमाणहरूले भन्छन्, भारतको लागि नेपाल मात्रै त्यस्तो मुलुक हो, जसले छिमेकी हित भनेर आत्मोत्सर्गमा पनि कुनै कन्जुस्याइँ गरेको छैन । आफ्ना जनता अझै सैनिक भर्तीमा पठाइरहेको छ । प्राकृतिक रूपमा एउटा बफर जोनको काम गरेको छ । अनि प्राकृतिक स्रोतका विषयमा भारतलाई नै पहिलो हकदार बनाइरहेको छ । यति हुँदा पनि बितेको वर्ष जनताले दिएको सन्देश अझै नेताहरूले नबुझेजस्तो गर्नु, सत्ताको दर्खास्त दिनमात्र जानु दुःखलाग्दो मात्रै हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.