पश्चिममा महिला अभिकर्ताले वित्तीय सेवा दिने

काठमाडौं: छिमेक लघुवित्त विकास बैंकले यूके एड सक्षमको सहकार्यमा महिला बैंकिङ अभिकर्तामार्फत पश्चिम नेपालका ग्रामीण केन्द्रमा वित्तीय सेवा विस्तार गरिरहेको छ । डिजिटल महिलाः डिजिटल वुमन च्यानल पाटनर्स फर जेन्डर इन्क्लुसिभ माइक्रो फाइनान्स सर्भिसेज नामक यस साझेदारीले स्थानीय महिलालाई शाखारहित बैंकिङ अभिकर्ताका रूपमा बाँके, डडेल्धुरा, दाङ, कैलाली र रुकुममा काम गर्न सशक्तीकरण गर्ने बैंकले जनाएको छ ।
यस परियोजनाका दुई भिन्न विशेषता हुनेछन् । डिजिटल महिलाका रूपमा नियुक्त महिलालाई बैंकका भौतिक शाखाको सेवा पुग्न नसकेका क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्न प्रशिक्षित गरिनेछ र आवश्यक उपकरण तथा इन्टरनेट सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।
यी अभिकर्ताले गरेको कारोबारलाई वास्तविक अनलाइन कारोबारको रूपमा सुनिश्चित गर्न डिजिटल उपकरणको मद्दतले बैंकको व्यवस्थापन सूचना प्रणाली (एमआईएस) मा जोडिने बैंकले जनाएको छ । कार्यक्रममा सक्षमका टोली प्रमुख बलजित बोहराले वित्तीय क्षेत्रका नेतृत्वदायी संस्थासँगको साझेदारीमा सक्षम कार्यक्रम नेपालका ग्रामीण गरिब जनताका लागि वित्तीय सेवाको पहुँच सुधार्न यस्ता कार्यक्रम गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस !
