भारतीय पक्षले बाँध निर्माण गरेपछि सप्तरीमा तनाव
सप्तरीः भारतीय पक्षले सप्तरीको तिलाठीमा दशगजा मिचेर नेपाली भूमिमा बाँध निर्माण सुरुगरेपछि तनाव भएको छ । नेपाली भूमि डुबानमा पर्ने गरी बाँध निर्माण गरेको भन्दै स्थानीयवासी बिरोधमा उत्रिएका छन् ।
नेपाली पक्षले विरोध गर्दा गर्दै भारतीय पक्षले शनिबारदेखि बाँध निर्माण थालेको छ । स्थानीयले प्रशासनले वेवास्था गर्दा नेपालीले विरोध गर्दागर्दै भारतीय पक्षले बाँध निर्माण कार्यलाई निरन्तरता दिएको छ ।
खाँडो नदीको बाढीले भत्काएको बाँध भारतीय पक्षले एक पक्षीय रुपमा निर्माण सुरुगरेको छ । दैनिक डेढ सय भारतीय प्राविधिकले माथिको आदेश भन्दै बाँध निर्माणको कामलाई तिब्रता दिएका छन् ।
नेपाल पक्षका स्थानीयवासीले विरोध गर्दै कुनै पनि हालतमा बाँध निर्माण गर्न नदिने भन्दै अवरोध गरेपछि उक्त क्षेत्रमा तनाव भएको छ । सीमामा रहेको सशस्त्र प्रहरीका सुरक्षाकर्मीले समेत बाँध निर्माण गर्न नदिने प्रयास गरेपछि तनाव उग्र बन्दै गएको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट तिलाठीका प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठका अनुसार पटकपटकको आग्रहलाई समेत भारतीय पक्षले वेवास्ता गर्दै आएको छ । भारतीय पक्षले निर्माण सुरु गरेको बाँध बनेमा खाँडो खोला तर्फको निकास थुनिने छ । जसले सप्तरीका तिलाठी, सकरपुरा, कोइलाडी, विषहरिया, मल्हिनियालगायतका आधा दर्जन गाविस डुबानमा पर्नेछन् ।
भारतीले एकपक्षीय रुपमा १५ वर्षदेखि बनाएको बाँधले विभिन्न गाविस डुबानमा पर्दै आएका थिए । बाढीले बाँध भत्काएपछि भारतीय पक्षले पुन बाँध निर्माणको क्रमलाई एकतर्फ रुपमा तिब्रता दिएपछि विवाद चुलिएको हो ।