बाबुरामको आरोपः माओवादी केन्द्र ‘वासिङ पाउडर'
सुर्खेतः नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्र ‘वासिङ पाउडर' बनेको टिप्पणी गरेका छन् ।
पुराना शक्ति कांग्रेस र एमालेलाई पालैपालो सत्तामा पुर्याउने र चोख्याउने काम गरेर माओवादी केन्द्रले वासिङ पाउडरको काम गरेको नेता भट्टराईको आरोप छ । सत्ताको वैशाखी टेकेर माओवादी केन्द्र अगाडि बढीरहेको भन्दै उनले समयको अन्तरालमा माओवादी केन्द्र समाप्त हुने दाबीसमेत गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले माओवादी आन्दोलनको बदनाम गर्दै माओवादी केन्द्र पुरानै संसदीय शैलीमा फसेको आरोप लगाए । प्रेस सोसाइटी प्रदेश नम्बर ६ ले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराइले भने, ‘माओवादी आन्दोलन अब सत्ताको फोहोरी खेलमा फस्यो, कहिले कांग्रेस त कहिले एमालेलाई सत्तामा पुर्याउने र चोख्याउने काम गरिरहेको छ । पुराना शक्तिलाई चोख्याएर माओवादी केन्द्रले वासिङ पाउडरको काम गर्दै आएको छ, त्यसबाट कसैले केही अपेक्षा नगरे हुन्छ ।'
देशमा सरकार परिवर्तनको खेल सुरु भएको र त्यसमा विदेशी शक्तिको समेत नाम जोडिएको भन्दै भट्टराईले दुख व्यक्त गरे । ‘सरकार बनाउने र गिराउने खेल सुरु भयो, यसमा विदेशी शक्तिको नाम जोडिनु दुखद हो' नेता भट्राईले भने, ‘सरकार बनाउने र गिराउने नेपालको आन्तरिक मामिला हो, तर बाहिरी शक्तिको नाम जोडिएको छ । अब सरकारमा जान लालयित भएकाले यसको जवाफ दिनु पर्दछ, हामीले त अशली राष्ट्रवादीको अनुहार प्रष्ट देखिसक्यौं ।'
नेपालले भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने भन्दै उनले सत्तामा पुग्नका लागि छिमेकीको चाकडी र दलाली गर्ने काम गलत भएको उल्लेख गरे । पुराना शक्तिले बदनाम गर्न आफूलाई भारत निकटको आरोप लगाउने गरेको भन्दै भट्टराईले आफू राष्ट्रियताको पक्षमा कसैसँग नझुक्ने जनाए ।
आफ्नो पार्टी अब देशको वैकल्पीक शक्तिको रुपमा स्थापित हुने दाबी भट्टराइको छ ।