दसगजा भारतीयले मिचेपछि...

दसगजा भारतीयले मिचेपछि...

राजविराजः भारतीय पक्षले नेपालीभूमि डुबानमा पर्ने गरी सप्तरीको तिलाठीको दसगजामा निर्माण गरेको बाँध नेपाली पक्षले भत्काएका छन् ।
    
भारतीय पक्षले बनाएको बाँध तिलाठीका स्थानीयवासीले बाँध भत्काएपछि बिहीबार अपरान्ह भारतीय र नेपाली पक्षबीच झडप भएको हो । भारतीय पक्षले गरेको लाठी एवम् ढुङ्गा प्रहारबाट तिलाठी १ का हर्षबद्र्धन कर्ण, संजीब झा, तिलाठी ४ का देवनारायण यादव, तिलाठी ७ का रोशन झा, तिलाठी ८ का सुशिल यादव र शंकर प्रसाद यादव घाइते भएका छन् । घाइतेलाई राजविराजस्थित अञ्चल अस्पताल भर्ना गरिएको छ ।
    
नेपाली जनताको विरोध र स्थानीय प्रशासनको आग्रहलाई वेवास्था गर्दै भारतीय पक्षले तिलाठी र भारत बिहार राज्यको सुपौल अन्तर्गतको कुनौली सीमाको दसगजामा बाँध निर्माण कार्य जारी राखेपछि बिहीबार बिहानैदेखि दुई पक्षबीच विवाद बढेको थियो ।

सहमतिविपरित भारतीय पक्षका प्राविधिक कर्मचारीले माथिको आदेश भन्दै धमाधम पक्की संरचना बनाउन थालेपछि विवाद बढेको तिलाठी ४ का देवनारायण यादवले बताए । बिहान भारतीय जनताको संख्या धेरै भएपछि विरोध जनाएर फर्केका नेपाली पक्षको संख्या अपरान्ह बढेपछि बाँधमा राखिएको बाँस, बालुवाले भरिएको बोरा निकालेर मिल्काई दिएका हुन् ।

बाँधका लागि बनाइएका सामाग्री मिल्काएपछि भारतीय पक्ष र नेपाली पक्षबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको हो । स्थानीय प्रशासन र सीमामा रहेको सशस्त्र प्रहरीका सुरक्षाकर्मीको आग्रह भारतीय पक्षले वेवास्ता गर्दै बाँध निर्माण कार्यलाई जारी राखेपछि डुबानग्रस्त तिलाठीवासीले नेपाली भूमि डुबानमा पार्ने गरी बाँध बनाउन नदिने भन्दै भत्काएका हुन् ।

एक साताअघिबाट भएको अविरल वर्षापछि खाँडो नदीमा आएको बाढीले गत शनिबार भारतीय पक्षले सात वर्ष अघि एकपक्षीय रुपमा बनाएको उक्त बाँध भत्काइदिएको थियो । दसगजामा बाँध निर्माण नगर्न आग्रह गरेपनि भारतीय पक्षले निर्माण कार्य जारी राखेकोले अवस्था तनावग्रस्त बनेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट तिलाठीका निरीक्षक ज्ञानबहादुर श्रेष्ठले बताए ।

प्राकृतिक रुपमा बग्दै आएको पानीको बहाव थुनिने गरी सात वर्षअघि भारतीय पक्षले एकपक्षीय रूपमा दसगजा मिचेर बाँध निर्माण गरेपछि वर्षाको पानीको निकास थुनिएर सप्तरीको करिब एक दर्जन गाविस डुवानमा पर्ने गरेको स्थानीयले बताए ।  

बाँध निर्माणले पश्चिमतर्फबाट बग्ने गरेको पानी थुनिएर पूर्वतर्फनै फर्किएपछि वर्षायाममा नेपालको तिलाठी, रम्पुरा मल्हनिया, सकरपुरा, विषरिहया, कोइलाडी, कोबरसाइन, लौनिया, हनुमाननगरलगायतका गाविस डुबानमा पर्ने गरेको स्थानीय सुशील यादवले बताए । उनका अनुसार ‘बाढीले जलमग्न भएपछि पहिले बग्ने गरेकै ठाउँबाट गत शनिबार बाँध भत्किएर पानीको सहज निकास भएपछि सप्तरीवासीलाई केही राहत मिलेको थियो ।’

सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘पानीको निकास थुन्न भारतीय प्राविधिक कर्मचारी र मजदुरले दसगजामा राती–राती बालुवाले भरिएका बोरा थुपारेर पक्की संरचना ठड्याउन थालेका हुन् । भारतीय पक्षले नेपाली नागरिक र सुरक्षाकर्मीको विरोधको सामना गर्न नपरोस् भनेर दिनभरी बालुवाले बोरा भर्छन् र राती भत्केको ठाउँमा हाल्छन् । उनले स्थानीय प्रयासबाट बाँध निर्माण कार्य नरोकिएकोले माथिल्लो स्तरबाट पहल गर्नुपर्ने आवश्यक्ता औल्याए ।
    
बाँध निर्माणस्थलमा बुधबार पुगेका सो क्षेत्रका सांसद उमेशकुमार यादवले बाँध निर्माणले नेपाली भूमि डुबानमा परेको जानकारी गराए पनि भारतीय पक्षले गम्भीरतापूर्वक नलिएको उनको भनाइ छ । उनले तत्काल बाँध निर्माण कार्य रोक्न आग्रह गर्दै प्राकृतिक बहावलाई नै उल्टो फर्काउने गरी बाँध निर्माण गर्न नहुने बताए ।

बाँध निर्माणले सीमाक्षेत्रमा तनावको अवस्था सिर्जना भएपछि प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, गणपति भुवनेश्वर आचार्य र प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल घटनास्थल पुगेका थिए । प्रजिअ ढकालले तत्काल दसगजा क्षेत्रमा विवादित बाँध निर्माण कार्य अगाडि नबढाउने भनी गत सोमबार भएको सहमतिविपरित भारतीय पक्षले निर्माण कार्य थालेको बताए ।

प्रजिअ गौतमले भारतीय पक्षले काम अगाडि नबढाउने भनेपनि काम नरोकिएको बताए । घटनास्थलमा भारतीय पक्षका महत्वपूर्ण व्यक्तिहरु नभएपछि सुपौलका डिएम बैधनाथ यादवसँग मोबाइल फोनमा कुराकानी हुँदा उनले चिफ इञ्जिनियरलाई काम रोक्न आदेश दिएपनि काम नरोकिएकाले अवस्था तनावग्रस्त बनेको प्रजिअ गौतमले बताए । प्रजिअ गौतमले दुई देशबीचको सम्बन्धको कुरा भएकाले परराष्ट्र मन्त्रालयमार्फत पनि उच्चस्तरमा कुराकानी गर्न अनुरोध गरिएको बताए ।
    
नेपाल पक्षका नागरिकले आफ्नो भूमि डुबाउने गरी बाँध निर्माण गर्न नपाउने भन्दै प्रतिरोध गरेपछि र भारतीय पक्षले आफ्नो भूमिमा पानी आउन नदिने गरी बाँध बनाएरै छाडने अडान लिएपछि सो क्षेत्रमा तनाव कायम छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.