धनकुटामा बस दुर्घटना: पूर्वराज्यमन्त्रीसहित १४ को मृत्यु (अपडेट)
धनकुटा/धरान: संखुवासभाबाट धरानतर्फ जाँदै गरेको बस बिहीबार दिउँसो धनकुटामा दुर्घटना हुँदा पूर्वअर्थराज्यमन्त्री तथा माओवादी केन्द्र धनकुटाका अध्यक्ष हरिराज खेवासहित १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन् ।
संखुवासभाको मुढेशनिश्चरेबाट सुनसरीको धरानतर्फ हिँडेको बा २ ख ७३६६ नम्बरको डाँफे मुनाल यातायातको बस धनकुटाको परेवादिन गाविस ५ सिँधुवामा दुर्घटनामा परेको हो । दुर्घटनास्थलमा पूर्वअर्थराज्यमन्त्री खेवासहित ७ जनाको मृत्यु भएको हो भने ७ जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
सिँधुवा बजारभन्दा माथि रहेको हिलटप होटेलको माथिल्लो घुम्तीमा बस अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल झरेको थियो । बिजुलीको पोल र रूखमा बज्रिँदा बसका सिट र पार्टपुर्जा टुक्राटुक्रा भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुने पूर्वराज्यमन्त्री खेवा धनकुटाको हात्तीखर्क ६ का बासिन्दा हुन् । मृत्यु हुने अन्यमा परेवादिन गाविसका तारादेवी बस्नेत, उनकी ३ वर्षीया छोरी रेश्मा बस्नेत, अतिमाया तामाङ र खिनमाया भट्टराई छन् । धरान २ का व्यापारी वेदप्रकाश अग्रवालको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए । घटनास्थलमा मृत्यु भएका एकजना पुरुषको भने सनाखत हुनसकेको छैन ।
उपचारका क्रममा मृत्यु हुनेमा बसका चालक धनकुटा मूलघाटका सनम तामाङ, तेह्रथुमकी १२ वर्षीया होमा पौडेल, धनकुटा लेगुवाका १५ वर्षीय तेजबहादुर थापा र मारेकटहरे ३ का ५२ वर्षीय वीरबहादुर काफ्ले छन् । खड्काका अनुसार तामाङ, थापा र पौडेलको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र काफ्लेको विजयपुर हस्पिटल धरानमा मृत्यु भएको हो । त्यस्तै संखुवासभा मादीका टंक कटवाल र संखुवासभा आँखीभुइँका खगेन्द्र कार्कीको पनि धरानमा उपचारका क्रममा मृत्यु भएको छ । उपचारका क्रममा मृत्यु भएका एकजनाको सनाखत हुनसकेको छैन ।
दुर्घटनामा घाइते भएका २६ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घाइते हुनेमा तेह्रथुमका कांग्रेस जिल्ला सदस्य छिरिङ शेर्पा, धनकुटा मारेकटहरेका विष्णु मगर, धरानका मनोज पोदार, धरानकै निरमाया गुरुङ, धनकुटा घर भएका बसका मालिक विनोद घिमिरे, धरानका रमेश श्रेष्ठ, तेह्रथुम ओख्रेका टंक भण्डारी, धनकुटा डाँडागाउँकी कला थापा, तेह्रथुमकी अनिता पौडेल, संखुवासभाका सुजन रानामगर, धनकुटा मारेकटहरेका पोषराज अधिकारी र मनीषा अधिकारी छन् ।
त्यस्तै ताप्लेजुङका निमा छिरिङ, संखुवासभाका भक्तबहादुर थापा, तेह्रथुमकी अनिता गुरुङ, संखुवासभाका पुष्पलाल कटवाल, तेह्रथुमका प्रवीण शेर्पा, धनकुटाका भोलानाथ थापा र आयुष थापा, धनकुटाकै अनीशा विक, संखुवासभाकी हर्कमाया तामाङ, संखुवासभाकै दीपक पौडेल र तेह्रथुमका खगेन्द्र भट्टराई गम्भीर घाइते भएका छन् ।
घाइते तीनजना बालबालिकाको सनाखत हुनसकेको छैन । दुर्घटनाका अधिकांश घाइतेको अवस्था चिन्ताजनक रहेको बीपी प्रतिष्ठानका सहायक निर्देशक डा. पशुपति चौधरीले बताए । प्रतिष्ठानको आकस्मिक कक्षकी डा. मासुम पौडेलका अनुसार अधिकांश घाइतेको टाउको, हात, खुट्टा र शरीरका अन्य भागमा गम्भीर प्रकारका चोट लागेर अत्यधिक रक्तस्राव भएको छ ।
दुर्घटनाको खबर पाएपछि धनकुटाका सुरक्षा प्रमुख, स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहाललगायतको टोली घटनास्थल पुगेको थियो । दुर्घटनापछि नेपाली सेनाको श्री मेहर गण, जिल्ला प्रहरी कार्यालय, सिँधुवा प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वसन्तपुरका जवान, स्थानीय बासिन्दा र स्थानीय स्कुलका विद्यार्थी उद्धारमा खटिएका थिए ।
दुर्घटनास्थल नजिकै रहेको सगरमाथा हाइयर सेकेन्डरी स्कुलका शिक्षक दिवेश खड्काले दुर्घटना दिउँसो १२ बजे भएको जानकारी दिए । ‘स्कुलमा चौथो घन्टी लागेको थियो । तेस्रो घन्टी सकेर म चौथो घन्टी लिन अर्को कक्षामा जान लागेको थिएँ । एक्कासि ठूलो बम पड्किएजस्तो आवाज आयो', उनले भने, ‘म कक्षाबाट बाहिर निस्कें । माथि हेर्दा त गाडी पो सडकबाट तल झरेको रहेछ ।'
त्यसपछि स्कुलका अर्का शिक्षक कमल श्रेष्ठ र आफू घटनास्थलमा पुगेको उनले बताए । उनी घटनास्थल पुग्नेबित्तिकै विद्यालयमा फोन गरी उद्धारका लागि कक्षा ९ र १० का विद्यार्थीलाई बोलाएका थिए । उनले भने, ‘हामी सबैको प्रयासमा गाडीको चक्कामुनि रहेका चारजनामध्ये दुई महिलालाई सकुशल उद्धार गर्यौं । दुईजनाको भने चक्काले किचेर मृत्यु भइसकेको रहेछ ।'
उद्धारका क्रममा घाइतेसँग कुरा गर्दा गाडी ब्रेक फेल भएर दुर्घटना भएको बुझिएको उनले बताए । ‘ब्रेक फेल भएको थाहा पाएपछि पूर्वराज्यमन्त्री खेवाले चालकलाई गाडी भित्तातिर हाल्न भन्नुभएको रहेछ', खड्काले भने, ‘समयमै एम्बुलेन्स आएको भए केहीलाई बचाउन सकिन्थ्यो होला । कतिपय घाइतेलाई बसमा लैजानुपर्यो ।'
स्थानीय सानीमाया गुरुङले बस दुर्घटना भएका बेला आफूलाई भुइँचालो आएजस्तो लागेको बताइन् । उनको घर दुर्घटनास्थलबाट करिब १० मिटर नजिक छ । हल्लाखल्ला भएपछि घरबाहिर निस्किँदा बस बिजुलीको पोलमा ठोक्किँदै तल झरेको देखेको उनले बताइन् ।
बसमा सवार धनकुटा भीरगाउँकी कमला पोखरेलले एक्कासि बस बिजुलीको खम्बामा ठोक्किएपछि चारैतिर अन्धकार देखेको बताइन् । उनी एसएलसीको लब्धांकपत्र लिन माइती संखुवासभाको देउराली गएकी थिइन् । धनकुटा अस्पतालमा उपचार गराइरहेकी उनको अनुहारभरि घाउ नै घाउ छ ।
घटनाको प्रकृति हेर्दा कुहिरो लागेको र चिप्लो बाटोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
खेवा लोकप्रिय नेता थिए
दुर्घटनामा परी मृत्यु भएका खेवा जिल्लामा कुशल नेताका साथै नाटककारका रूपमा पनि परिचित थिए । २०२५ सालमा जन्मिएका उनी २०५४ सालको स्थानीय चुनावमा एमालेका तर्फबाट हात्तीखर्क गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।
माओवादी सशस्त्र द्वन्द्वको अन्तिम समयमा उनी एमाले छाडेर माओवादीमा प्रवेश गरेका थिए । २०५० सालसम्म हात्तीखर्क गाविस ५ स्थित जनकल्याण प्राविका शिक्षक रहेका उनी शिक्षण पेसा छोडेर राजनीतिमा लागेका थिए ।
२०६४ सालको संविधानसभा निर्वाचनमा उनले धनकुटा क्षेत्र नम्बर २ बाट पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई पराजित गरेका थिए । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनी अर्थराज्यमन्त्री बनेका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने पराजित भएका थिए ।
माओवादी केन्द्रका जिल्ला सदस्य यमबहादुर कार्कीका पिताको निधन भएपछि खेवा बुधबार कार्कीलाई भेट्न मारेकटहरे गएका थिए । त्यताबाट फर्कने क्रममा धनकुटा र तेह्रथुमको सीमा क्षेत्र चित्रेमा खाना खाएर उनी उक्त बसमा चढेका थिए ।