पेरिसडाँडाले भन्यो, प्रचण्ड अझै कठोर बन
काठमाडौं: कांग्रेससँगको गठबन्धनमा सरकारको नेतृत्व गर्न लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सरकार र पार्टी दुवै सञ्चालन गर्दा कठोर बन्न पार्टी नेताहरूले सुझाव दिएका छन् ।
पार्टी र सरकारको नेतृत्व गर्दा मन कमलो नबनाउन र दृढ भएर अगाडि बढ्न सल्लाह दिँदै नेताहरूले दाहाललाई कूटनीतिलाई सन्तुलित बनाउन सुझाव दिएका हुन् । सरकारको नेतृत्व गरेको ६ महिनाभित्र जनताले अनुभूति गर्नसक्ने गरी सरकार सञ्चालन गर्ने र महाधिवेशनलाई केन्द्रित गरी पार्टी सञ्चालन गर्ने छुट्टाछुट्टै नेताको टिम बनाएर अगाडि बढ्न नेताहरूले सुझाव दिएका छन् ।
मधेसी, आदिवासी जनजाति, थारू र उत्पीडित समुदायका मुद्दा सम्बोधन गर्न पहल गर्ने, शान्तिप्रक्रियाका बाँकी कामलाई पूर्णता दिने, स्थानीय निकायको निर्वाचन गरी संविधान कार्यान्वयन गर्ने, भूकम्प प्रभावित क्षेत्रका जनताका समस्या समाधान गर्ने र जनतालाई राहत दिने कार्यक्रम बनाउन दाहालले नेताको सुझाव मागेका हुन् ।
सरकारको राजनीतिक दिशा बनाउन दाहालले पार्टी नेतासँग सुझाव मागेका थिए । समावेशी, प्रादेशिक सन्तुलन र कार्यदक्षता देखाउन सक्नेलाई आधार बनाएर मन्त्रिमण्डल गठन गर्न नेताहरूले सुझाव दिएका छन् । शान्तिप्रक्रियालाई पूर्णता दिने, भूकम्प प्रभावित क्षेत्रका समस्या समाधान गर्ने, संविधान कार्यान्वयन गर्ने, जनतालाई सरकारको अनुभूति दिलाउने गरी सरकारको नीति तथा कार्यक्रम बनाउन सुझाव दिइएको केन्द्रका नेता मणि थापाले बताए ।
नेत्री जयपुरी घर्तीले पार्टी र सरकार सञ्चालन प्रभावकारी बनाउन दाहालले सुझाव मागेअनुसार आफूहरूले सुझाव दिएको बताइन् ।
नेता मातृका यादवका अनुसार पार्टी र सरकारको सम्बन्धका बारेमा बैठकमा छलफल भएको छ । बैठकमा ‘महेन्द्रवादी राष्ट्रियता, केपी ओलीको जस्तो राष्ट्रियता कि राष्ट्रिय एकता कायम गर्ने राष्ट्रियता' भन्नेमा बहस केन्द्रित थियो ।
बैठकमा नेता गिरिराजमणि पोखरेलले अध्यक्ष दाहालले भारतीय मिडियामा अन्तर्वार्ता दिँदा पर्ने प्रभावका बारेमा विचार नगरेको बताएका थिए भने अग्नि सापकोटाले कोमल मन गरेर नबोल्न र निर्णय नलिन सुझाव दिएका थिए ।