विपद्सम्बन्धी पूर्वसूचना मोबाइलमा
काठमाडौंः नेपाल टेलिकमले मौसमी विपद्सम्बन्धी सूचना निःशुल्क प्रवाह गर्ने भएको छ । टेलिकमले महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, बागमती, कोसी नदीआसपास र हिमाली क्षेत्रका ग्राहकको मोबाइलमा विपद्सम्बन्धी पूर्वसूचना सम्प्रेषण गर्ने भएको छ ।
जल तथा मौसम विज्ञान विभागसँग बिहीबार जल तथा मौसमजन्य विपद्सम्बन्धी पूर्वसूचना मोबाइलमार्फत एसएमएसका रूपमा प्रवाह गर्ने सम्झौता टेलिकमले गरेको हो । यसका लागि टेलिकमले ती क्षेत्रका मोबाइल सेवाका ग्राहकको डाटा मौसम विज्ञान विभागलाई उपलब्ध गराउने भएको छ ।
विभागले ११५५ कोड प्रयोग गरी विशेष गरी विपद् आउनुपूर्व प्रभावित क्षेत्रका बासिन्दाले प्राप्त गर्न सक्नेगरी समूहगत रूपमा एसएमएसमार्फत आवश्यक जानकारी पठाउने भएको छ । यो सेवा टेलिकमले निःशुल्क उपलब्ध गराउनेछ ।
सम्झौतापत्रमा टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक आचार्यले विपद्को पूर्वजानकारी सम्प्रेषण गरी क्षति न्यूनीकरण गर्ने कार्यका लागि विगतमा पनि अन्य संस्थासँग सहकार्य गरेको बताए ।
उनले विपद्को पूर्वजानकारीले क्षति न्यूनीकरण गर्न सकिने तथा मानिसको जीवन जोगाउन सकिने भएकोले कम्पनीले मौसम विज्ञान विभागसँग पनि सहकार्य गरेको बताए ।
मौसम विज्ञान विभागका महानिर्देशक शर्माले कम्पनीसँग भएको सम्झौतालाई विभागले दक्षतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्राकृतिक विपद् न्यूनीकरण गर्नु दुवै संस्थाको संयुक्त दायित्व भएकाले पनि भविष्यमा अन्य क्षेत्रमा समेत सहकार्य गर्न सकिने बताए । टेलिकमले वर्तमान वर्षाको मौसममा धेरै नेपाली प्रभावित भइरहेको समयमा कम्पनी र विभागबीचको सहकार्यले जनधनको क्षति न्यूनीकरण गर्न प्रभावकारी भूमिका खेल्ने विश्वास लिएको छ ।
टेलिकमले महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, बागमती, कोसी नदीआसपास र हिमाली क्षेत्रका ग्राहकको मोबाइलमा विपद्सम्बन्धी पूर्वसूचना सम्प्रेषण गर्ने भएको छ ।