गल्तीले टेबुलटेनिस खेलाडी

गल्तीले टेबुलटेनिस खेलाडी

‘अरे भाइ बाई फल्ट'... पहिले हिन्दी अनि त्यसपछि इङ्लिस मिसिएको वाक्य निकै मीठो लाग्यो । नेपालमा जन्मी–हुर्केका तर अहिले भारतीय बनेका नेपाली मूलका यी खेलाडी कुमुदकुमार राईलाई कुराकानीका क्रममा सोधेको थिएँ, टेबुलटेनिस खेलाडी कसरी बन्नुभयो ? त्यसको जवाफमा उनले भने, ‘अरे भाइ बाई फल्ट ।'

कहिलेकाहीँ गल्तीले पनि सही काम बन्छ । यसको मतलब सही काम गर्न गल्ती गर्नुपर्छ भन्ने हैन । तर, कहिलेकाहीँ ‘बाई फल्ट' पनि केही राम्रा काम बनेको उदाहरण छन् । कुमुदले त्यसको उदाहरणका रूपमा आफूलाई प्रस्तुत गरेका हुन् ।

टेबुलटेनिसको नेपालमा एकपटक जुनियर राष्ट्रिय च्याम्पियन, भारतमा आठपटक भेट्रान्स च्याम्पियन हुँदै चारपटक विश्व च्याम्पियनसिपमा समेत प्रतिस्पर्धा गरेका कुमुद आफ्नो यी सफलता बाई फल्ट अर्थात् गल्तीले सम्भव भएको मान्छन् ।
नक्साल भगवतीबहालमा जन्मिएका कुमुदको बाल्यकाल त्यहीँ बित्यो ।

उनको आईस्सीसम्मको अध्ययन पनि नेपालमै भयो । कुमुद सुरुमा फुटबल खेल्थे । सेन्टर फर्वाड पोजिसनमा सशक्त प्रदर्शन गर्नसक्ने उनले नक्सालको ब्राइट स्टार क्लबबाट खेले । त्यस बेला नेपालमा फुटबलप्रतिको क्रेज निकै थियो । आफ्नो रुचि र क्षमताका कारण कुमुदले भविष्यमा फुटबल खेलाडी बन्ने अठोट गरिसकेका थिए । त्यसैले उनले १४ वर्षकै उमेरमा त्यस बेलाको चर्चित नेपाली क्लब महावीरका लागि ट्रायल पनि दिए । महावीर त्यस बेला ‘ए' डिभिजनको सशक्त टोली थियो ।

 

सानो गौचरण मैदानमा ‘ट्यालेन्ट हन्ट' प्रतियोगिता आयोजना गरेर महावीरले खेलाडी छानेको थियो । सोही प्रतियोगितामा नक्साल ब्राइट स्टारबाट सहभागी कुमुद पनि छनोट भएका थिए । तर, त्यति नै बेला कुमुदलाई हजुरआमा (मावली)ले फुटबल खेल्न रोकिदिनुभयो । ‘बुवा (अरुण) र आमा (सावित्री) मुम्बईमा बस्नुहुन्थ्यो । हजुरआमाले फुटबल खेल्दा खुट्टा भाँचिन्छ, खुट्टा भाँचियो भने बुवाआमालाई के जवाफ दिनु भन्नुभयो', कुमुद हजुरआमालाई सम्झन्छन्, ‘त्यसैले महावीरबाट बोलाउँदा पनि गइनँ । फुटबलर बन्ने सपना त्यहीँ टुंगियो ।'

त्यसपछि कुमुदको यात्रा फुटबलबाट टेबुलटेनिसतर्फ मोडिएको हो । यसैलाई उनले बाई फल्ट भनेका हुन् । घटना पनि रोचक छ । कुमुदले त्यसअघि कहिल्यै टेबुलटेनिस खेलेका थिएनन् । उनी पढ्ने स्कुलमै टेबुलटेनिस बोर्ड थियो । उनका फुटबलर साथीहरू प्रायः सबै टेबुलटेनिस खेल्थे । तर, कुमुदलाई टेबुलटेनिसप्रति कुनै रुचि थिएन । उनी टेबुलटेनिसलाई महिलाले खेल्ने खेल ठान्थे । त्यसैले १५ वर्षको उमेरसम्म उनले टेबुलटेनिसको ब्याट समातेका थिएनन् ।

सदाझैं कुमुद साथीहरूसँग फुटबल खेल्न घरबाट निस्किएका थिए । तर, त्यो दिन कस्तरी पानी पर्‌यो भने उनीहरूले खेल्ने मैदानमा पानी जमेर आहाल बन्यो । साथीहरूले उनलाई टेबुलटेनिस खेल्ने प्रस्ताव गरे । उनले इन्कार गरे । तर, साथीहरूले उनलाई तानेर लगिछाडे ।

‘मैले साथीहरूलाई त्यस बेला पनि टेबुलटेनिस महिलाले खेल्ने खेल हो, म खेल्दिनँ भनेको थिएँ', कुमुद भन्छन्, ‘तर उनीहरूले मलाई घिसारेरै लगिछाडे ।' कुमुदलाई साथीहरूले नक्सालको एउटा घरमा फलेक बिछ्याएर बनाइएको बोर्डमा पुर्‌याएका थिए । उनले त्यहीँ हो पहिलोपटक टेबुलटेनिसको र्‌याकेट समातेको । ‘हामीभन्दा पहिले १५–२० जना लाइनमा रहेछन् । त्यस दिन साथीहरूले मलाई कुरेर खेल्न लगाए', कुमुद चार दशकभन्दा पहिले आफूले पहिलोपटक र्‌याकेट समातेको क्षण सम्झन्छन्, ‘तर पहिलोपटक खेल्दा नै निकै रमाइलो भयो ।'

त्यसपछि कुमुदलाई टेबुलटेनिस खेल्न कहिल्यै कर गर्नु परेन । बरु आफैं टोलटोलमा टेबुलटेनिस बोर्ड चहार्दै हिँड्न थाले । उनलाई टोलमा खेलेरमात्रै भएन । त्यस बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले लैनचौरस्थित टेबुलटेनिस प्रशिक्षण केन्द्रमा भर्खरै पाँच÷छवटा बोर्ड राखेर प्रशिक्षण सुरु गरेको थियो । उनले त्यहीँ गएर सिक्न थाले ।

लैनचौरमा टेबुलटेनिस प्रशिक्षकद्वय दाजुभाइ आरआर जोशी र जेआर जोशीले सिकाउँथे । कुमुदले जोशी दाजुभाइलाई आफ्नो पहिलो गुरु बनाए ।

त्यस बेला त्रिपुरेश्वरस्थित राखेप परिसरमा राष्ट्रिय टोलीका खेलाडीलाई चाइनिज प्रशिक्षकले प्रशिक्षण दिइरहेका थिए । कुमुदलाई पनि प्रशिक्षकद्वयले त्रिपुरेश्वरमै गएर चाइनिज प्रशिक्षकसँग सिक्न सुझाव दिए । ‘सुरुमा एमेच्योर थिए । आरआर जोशी र जेआर जोशी गुरुबाट मैले ठीकसँग टेबुलटेनिस खेल्न सिकेँ', कुमुद भन्छन्, ‘उहाँहरूको सुझावपछि त्रिपुरेश्वरमा चाइनिज प्रशिक्षकसँग गएर सिकेँ । त्यसले मेरो खेल छोटो समयमै निकै सुधारिएको थियो ।'

त्यसमा कुमुद आफैंले पनि निकै मेहनत गरेका थिए । फुटबलमा जस्तो खुट्टा भाँच्चिने डर नभएपछि उनलाई हजुरआमा र घरपरिवारबाट पनि टेबुलटेनिस खेल्न सहयोग भएको थियो । त्यसैले प्रशिक्षकसँग सिक्न सुरु गरेकै वर्ष उनी जुनियर राष्ट्रिय च्याम्पियन (यू–१८) बनेका हुन्, सन् १९७४ मा । उनी बागमती अञ्चलस्तरीय छनोटमा पहिलो हँुदै विराटनगरमा भएको राष्ट्रिय च्याम्पियनसिपमा सहभागी भएका थिए । राष्ट्रिय च्याम्पियन बनेलगत्तै उनले अवसर पनि पाए, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने ।

राष्ट्रिय च्याम्पियन बनेलगत्तै १९७५ को सुरुआतमा नाइजेरियाको लागोसमा एफ्रो एसिया ल्याटिन अमेरिका आमन्त्रण टेबुलटेनिस प्रतियोगिता हुँदै थियो । त्यसका लागि उनी सिनियर खेलाडीसहित टोलीमा समावेश भए । नाइजेरिया जानुअघि अखिल नेपाल टेबुलटेनिस संघले खेलाडीलाई अभ्यासका लागि चीन पठायो । उनी नेपाली टोलीसँगै चीन गए ।

चीनमा झन्डै एक महिनाको प्रशिक्षणपछि नाइजेरिया पुगेका कुमुदले उत्कृष्ट प्रदर्शन गरे । तर, उनी क्वार्टरफाइनलभन्दा माथि जान सकेनन् । उनलाई त्यो प्रतियोगिताले पनि महत्त्वपूर्ण अनुभव दिलाएको थियो । टोली नाइजेरियाबाट फेरि सीधै चीन फर्किए, थप प्रशिक्षणका लागि । सन् १९७५ को अन्त्यतिर फेरि अर्को राष्ट्रिय प्रतियोगिताको तयारी हुँदै थियो ।

त्यसका लागि बागमती अञ्चलस्तरीय छनोट प्रतियोगिता सुरु भएको थियो । उनी चीनको दुईपटकको प्रशिक्षण तथा एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको अनुभवले निकै खारिएका थिए । त्यसैले अझ राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित क्षेत्रीय छनोट प्रतियोगिताको तयारीमा थिए ।

छनोटको पहिलो दिन कुमुद आफ्नो पहिलो खेल जितेर घर फर्किएका मात्र थिए । उनको हातमा एउटा टेलिग्राफ थमाइयो । त्यसमा लेखिएको थियो, ‘तिम्रो पापा बित्नुभयो । सकेसम्म छिटो आउनु ।' त्यसपछि उनी मुम्बईतर्फ लागे । परिवारसँग भेटघाट गरे । तीनजना छोराछोरीमा कुमुद घरको जेठा छोरा हुन् । त्यसैले घरको सम्पूर्ण जिम्मेवारी उनै कुमुदमाथि थपियो ।

त्यसले गर्दा उनले न नेपाल फर्केर आफ्नो खेल जीवनलाई अघि बढाउन सके न त भारतमै त्यसलाई अगाडि बढाउन पाए । ‘छोटो समयमै भए पनि मेरो प्रदर्शन र सफलताको ग्राफ जसरी अघि बढिरहेको थियो, त्यसले मैले पक्कै पनि राम्रो गर्थे । त्यस्तो भएको भए नेपालमा मेरो इज्जत नै फरक हुन्थ्यो', कुमुद भन्छन्, ‘तर घरमा जेठो छोरो भएकाले सम्पूर्ण जिम्मेवारी आफंैमाथि थोपरियो । मम्मी एक्लै हुनुहुन्थ्यो । भाइबहिनी सानै थिए । त्यसैले खेल यात्रा फेरि रोकियो ।'

नेपालको राष्ट्रिय खेलाडी बनेर देशलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने आफ्नो चाहना दोस्रोपटक तुहिएकोमा कुमुद अहिले पनि चुकचुकाउँछन् । ‘फुटबलको राष्ट्रिय खेलाडी बन्ने इच्छा हजुरआमाले रोकिदिनुभयो । त्यसपछि टेबुलटेनिसको सिनियर राष्ट्रिय च्याम्पियन हुँदै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने इच्छा थियो । बुवा बित्नु भएपछि त्यो सपना पनि पूरा भएन', कुमुद भन्छन्, ‘पूरा नभएका यी सपनाले मलाई अझै पनि झस्काइरहन्छ ।'

उनले भारत गएपछि आफ्नै बुवाको कम्पनीमा काम पाए । उनी काममा यति व्यस्त हुन थाले कि खेल्नका लागि समय नै पाएनन् । कामकै व्यस्तताले उनी नेपाल फर्कन पनि पाएनन् । मुम्बई गएको ठ्याक्कै २० वर्षपछि नेपाल फर्किएका थिए उनी । आफन्तसँग भेटघाट गरी फर्किए ।

उमेर, अवसर, क्षमता हुँदा खेल्न पाएनन् । तर उनीभित्रको जोश र क्षमता अझै मरेको छैन । त्यसैले सन् १९८२ पछि फेरि टेबुलटेनिस खेल्न सुरु गरे । समय मिलाएर अभ्यासका लागि निस्कन्थे । तर फेरि पनि आफ्नो खेललाई निरन्तर अघि बढाउन सकेनन् । बीचमा केही सयमको ग्यापपछि भने उनले आफूलाई भेट्रान्सतर्फको विधामा सशक्त रूपमा प्रस्तुत गर्न थाले ।

फलस्वरूप उनले सन् १९९८ मा पहिलोपटक भेट्रान्सतर्फ ३९ वर्षमाथिको क्याटेगोरीमा आफूलाई भारतकै राष्ट्रिय च्याम्पियन बनाए । त्यसयता उनी आठपटक भारतको राष्ट्रिय च्याम्पियन बनेका छन् । सन् १९९८, ९९, २०००, २००२ र २००४ मा ३९ वर्षमाथिको क्याटेगोरीमा भारतको राष्ट्रिय च्याम्पियन बने । सन् २००६, २०१२ र २०१३ मा भने उनी ४९ वर्षमाथिको क्याटेगोरीमा च्याम्पियन बनेका हुन् ।

उनले भारतलाई प्रतिनिधित्व गर्दै चारपटक विश्व च्याम्पियनसिपमा समेत प्रतिस्पर्धा गरेका छन् । उनले सन् १९९८ मा इङ्ल्यान्डको म्यानचेस्टर, सन् २००० मा क्यानडाको भ्यान्कोभर, सन् २००२ मा स्विट्जरल्यान्डको लुसर्न र सन् २००४ मा जापानको योकोहामामा भएको विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । म्यानचेस्टर, भ्यान्कोभर र लुसर्नको प्रतियोगितामा उनी प्रिक्वार्टरफाइनलसम्म पुगे । योकोहामामा क्वार्टरफाइनलमा पुगेर रोकिए ।

उमेरले ५८ वर्ष पुगिसकेका कुमुद टेबुलटेनिसमा अझै सक्रिय छन् । सन् २०१४ मा गम्भीर प्रकृतिको रोगको उपचारमा व्यस्त हुनु परेपछि उनले झन्डै दुई वर्ष खेल अघि बढाएनन् । तर उनी फेरि टेबुलटेनिसमै जम्ने सुरमा छन् । नेपाल भेट्रान्स टेबुलटेनिस संघको आयोजनामा अघिल्लो साता सम्पन्न च्याम्पियनसिपका लागि नेपाल आएको उनले अझै एक विश्व च्याम्पियनसिप खेल्ने योजना सुनाए । भेट्रान्सतर्फ ५० वर्षमाथिको क्याटेगोरीमा स्वर्ण जितेका उनले भने, ‘सन् २०१८ मा लस भेगासमा विश्व च्याम्पियनसिप हुँदैछ । कम्तीमा त्यो विश्व च्याम्पियनसिपमा खेल्नेछु ।'

भारतबाट खेल्दा उनलाई नाम, दाम सबै मिलेको छ । नेपालमा वर्तमान राष्ट्रिय च्याम्पियनहरूलाई समेत प्रायोजक मिल्दैन । तर, उनलाई भेट्रान्समै पनि प्रायोजक मिल्छ । फेरि पनि उनलाई सिनियर टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न नपाउँदा खल्लो लागेको छ । त्यसमा उनी आफ्नो भाग्यलाई दोष दिन्छन् । ‘खेल्नलाई सबै नेपालमै सिकेँ । नेपालको सिनियर टोलीबाट खेल्न पाउनु मेरा लागि सौभाग्य हुने थियो', उनी आफ्नो अनुभूति सुनाउँछन्, ‘तर सबै भाग्य हो । मलाई त्यो अवसर जुरेन ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.