निकास थुनिदा छोरेपाटन बस्ती डुबानमा
पोखराः रानीवनको दक्षिणी पानीढलोबाट बर्खामास पलाएको मूल दामोदर खोला बनेर बग्छ । यही खोलाको पानी अलि झरेपछि समथर जमिनका भ्वाङ हुँदै डेभिजफल (पातले छाँगो) पुग्थ्यो । दुई वर्षयता ती भ्वाङ पुरिए । खोलाको बाटो थुनियो ।
खोलामा यसपालि पानी यति धेरै आयो कि छोरेपाटनको शीतलमार्ग क्षेत्र डुबानमा पर्यो । ‘दोष खोलाको होइन’, घरै डुबानमा परेका विष्णु सुनारले भने, ‘मान्छेले नै खोलाको बाटो थुने, पानी कतै जान पाएन, ताल पर्यो ।' यो साता परेको झरीका बेला उनीसँग दर्जन घर डुबानमा परे । थुप्रै घडेरीमाथि पानी ताल पर्यो ।
खेतलाई प्लटिङ गरेर घडेरी बनाउँदा प्राकृतिक भ्वाङ पुरिएका थिए । त्यसबारे स्थानीयले उतिबेलै आवाज उठाएका पनि हुन् । ४ वर्षअघिका क्षेत्रीय प्रशासकदेखि सीडीओ र नगरपालिकाका कार्यकारी अधिकृतसम्मले स्थलगत अवलोकन गरी त्यस्तो प्लटिङ अगाडि नबढाउन निर्देशन दिएका थिए । ‘तर सयमसँगै अधिकारीहरु पनि फेरिए र प्लटिङ रोकिएन । अहिले आएर समस्या देखियो', स्थानीय मनबहादुर विश्वकर्माले भने ।
छोरेपाटनमा अहिले पानीको निकास थुन्नुलाई पोखराको उत्तरी क्षेत्र अर्मलामा परारसालदेखि परेको जस्तै भ्वाङलाई निम्ता गर्नु हो भन्छन् विज्ञहरु । जलउत्पन्न प्रकोप व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियरिङ जियोलजिस्ट श्रीकमल द्विवेदी भन्छन्, ‘अर्मलामा पानीले निकास नपाएपछि भित्रभित्र छिरेको थियो, र पछि भ्वाङ पर्यो ।' उनका अनुसार पोखराको भूगर्भमा चुन र चुनढुंगाको मात्रा अत्यधिक छ ।
‘ढुंगा र गिटीलाई चुनलेको जोडेर बसेको ठाउँमा पानी रसाउँदा चुन खिइँदै जान्छ ', उनी भन्छन्, ‘अर्मलामा त अझ चुन लेदै थियो र पग्यो अनि भ्वाङ पर्यो । अन्त जमेको पनि खिइँदै गएपछि भ्वाङ पर्छ ।' उनी पोखरामा पानीलाई जमिनमुनि जान नदिई सतहबाटै तर्काएर टाढा लगी सेती नदीमा निकास गर्नुपर्ने सुझाउँछन् ।
छोरेपाटन क्षेत्रलाई पोखरामै सबैभन्दा कमजोर भूगर्भ भएको ठाउँ मानिन्छ । खानी तथा भूगर्भ विभाग र जर्मनीस्थित फेडेरल इन्स्टिच्युट फर जिओसाइन्स एनड नेचुरल रिसोर्सले २०५५ सालमा गरेको अध्ययनले त्यो ठाउँलाई जोखिमपूर्ण किटेको थियो । भूगर्भविद द्विवेदी छोरेपाटन क्षेत्रमा गुप्तेश्वर जस्तो ठूलो गुफा हुनुलाई पनि भूगर्भ कमजोर हुनुको उपज मान्छन् ।
दामोदर खोलामा त्यसैको मूलबाट आएको पानीबाहेक अरु खोल्साबाट आएर मिसिन्छ । पानीको निकास ७ वटाभन्दा बढी भ्वाङबाट हुन्थ्यो । ४ वर्ष यता सबै भ्वाङ पुरेपछि यो क्षेत्र विपत्तिको संघारमा पुगेको हो । ती भ्वाङ पुरेर २ सय घडेरी बनाइएको छ । प्लटिङकर्ताले ती घडेरी लगभग सबै बेचिसकेको स्थानीय बताउँछन् । मलेसिया र अरबमा मजदुरी गरेर कमाएकाहरुले त्यहाँका घडेरी किनेका छन् ।
‘भ्वाङ पुरियो र खाडीमा पसिना बगाएकाहरुको भाग्यमा भ्वाङ पारियो', एक स्थानीयले टिप्पणी गरे । अहिले पनि प्लटिङवालाले निर्माण गरेको पिच सडकमा भ्वाङ देखिएका छन् । तिनलाई सिमेन्टले टालटुल पारिएको छ ।
यसैबीच पोखरा उपमहानगर पालिकाले छोरेपाटनको उक्त क्षेत्रमा भौतिक संरचना निर्माणमा रोक लगाएको छ । पोखरा उपमहानगरपालिकाले रोक लगाएको छ । नगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलका अनुसार बस्ती विकास निर्देशिका २०७२ अनुसार अर्को आदेश नहुँदासम्म तितेपानी क्षेत्रमा कुनै पनि संरचना निर्माणमा रोक लगाइएको हो ।
बिहीबारको बोर्ड बैठकले अर्को आदेश नहुँदासम्म संरचना निर्माणमा रोक लगाउने निर्णय गरेको जानकारी उनले दिए । ‘करिब ३७ रोपनी क्षेत्रफल प्रभावित देखियो, त्यहाँ कुनै विकल्पबिना भौतिक संरचना निर्माण गर्नु हुँदैन', उनले अन्नपूर्णसँग भने, ‘पानीको निकासको विकल्प खोजेपछि मात्रै समस्या समाधान हुनसक्छ ।'