जावलाखेलमा राष्ट्रपति भण्डारीले भोटो जात्रा अवलोकन गरिन्
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले रातो मच्छिन्द्रनाथको भोटो जात्राको परम्परा तोड्दै पहिलो पटक राष्ट्रप्रमुखको हैसियतमा भोटो हेरेकी छन् । पुरुष राष्ट्रप्रमुखले भोटो हेर्ने प्रचलनमा नेपालकी पहिलो महिला राष्ट्रप्रमुख भण्डारीले परम्परा तोडेकी हुन् ।
राष्ट्रप्रमुखको हैसियतले फोटो जात्रा हेर्ने भण्डारी पहिलो महिला बनेकी छन् । भोटो जात्राको प्रारम्भदेखि नै पुरुष राष्ट्रप्रमुखले भोटो जात्रा अवलोकन गर्दै आएका थिए ।
भोटो जात्रा अवलोकनपछि राष्ट्रपति भण्डारीले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरेकी छन् । उनले जीवित देवी कुमारीको पनि दर्शनसमेत गरेकी छन् ।
गुठी संस्थान ललितपुरका कामु प्रमुख बैकुण्ठ आचार्यले हिरामोती जडित भोटो रथको चारैदिशाबाट देखाएका थिए । जात्रा सम्पन्न भएलगत्तै रातो मच्छिन्द्रनाथको मूर्ति खटमा राखेर बुङ्मती लगिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई रातो मच्छिन्द्रनाथका पानेजु यज्ञ शाक्यले टीका तथा प्रसाद प्रदान गरिन । भोटोजात्रा स्थलमा प्रमूख जिल्ला अधिकारी ऋषिराम शर्माले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।
भोटो राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा अोली, सभामुख ओनसरी घर्तीलगायतले हेरेका छन् ।
यो लिच्छवी कालदेखिको भोटो देखाउने परम्परा हो । बहुमूल्य हिरामोती जडित भोटोलाई प्रत्येक वर्ष देखाएर सुरक्षित ढंगले राख्ने गरिन्छ । वैशाख शुक्ल प्रतिपदादेखि सुरु हुने रातो मच्छिन्द्रनाथको जात्रा भछोटो देखाएसँगै समाप्त हुने गर्दछ । यो जात्रा नेपालकै सबैभन्दा लामो हो । मच्छिन्द्रनाथलाई हिन्दू र बौद्ध धर्मावलम्बीले साझा देवता मानेर पुज्ने गर्दछन् ।