'चीनसँगको सम्झौता उल्टाएर सशक्त प्रतिवाद'
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग भएका सम्झौता उल्ट्याउने प्रयास आगामी सरकारले गरेमा त्यसविरुद्ध आफू लागिपर्ने चेतावनी दिएका छन् ।
कुनै पनि विदेशी मुलुकको नाजायज स्वार्थ नेपालले मान्नुपर्छ भन्ने अस्वीकार्य हुने बताउँदै प्रधानमन्त्री ओलीले छिमेकी तथा विदेशी मुलुकले नेपालको राष्ट्रिय स्वार्थविरुद्ध जान खोजे त्यसको सशक्त प्रतिवाद हुने चेतावनीसमेत दिए ।
मदन भण्डारी फाउन्डेसनले शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले भने, ‘अहिले हाम्रो मुलुकमा विचित्रको स्थिति छ । विदेशीले यसो गर उसो गर भन्छन् । म भन्छु हाम्रा मित्रहरूले मित्रको स्थानमा बसेर हामीसँग व्यवहार गरून् । छौंडा खेलाएर रातदिन दुःख दिने होइन । अत्यन्तै बेठीक तरिका हो त्यो ।'
दक्षिणी छिमेकी भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको तर्फ प्रधानमन्त्री ओलीको आक्रोश थियो ।उनले स्वतन्त्र देशका हिसाबले चीनसँग भएका सम्झौतामा अब बन्ने सरकारले जे पायो त्यही गर्न नसक्ने बताए । उनले भने, ‘सरकार सचेत जनताको घेरामा हुनेछ । सरकार चल्ने त नेपालमै हो । बाहिर गएर सरकार चल्ने त होइन होला नि ? नयाँ पिँढी यसरी जागेको छ, तलमाथि गर्न सकिने सम्भावना छैन ।'
प्रधानमन्त्री ओलीले कुनै पनि विदेशी मुलुकले आफ्ना स्वार्थ र मान्यता लाद्ने कोसिस गरे नेपाललाई त्यो सधैं अमान्य हुनेसमेत बताए ।
‘यहाँ कसै (विदेशी मुलुक) लाई हिन्दुत्व नभई नभएको अवस्था छ । कसैलाई यहाँ धर्मनिरपेक्षता हुनैपर्छ भनिएको छ । तर धर्म र मान्यताबारे नेपाली जनताले निर्णय गर्ने हो, कुनै विदेशीले होइन', उनले भने, ‘अरूले दबाब दिएर हुन्छ नेपालीले कुन आस्था, धर्ममा विश्वास गर्ने भन्ने कुरा ? किन कोही कस्सिनुपर्यो ? बरु जेजे गर्नुछ बहादुरीका साथ आफ्नो देशमा गर्नुस् न । हामी हाम्रो देशमा गर्छौं ।'
नेपालले चीन र भारत दुवै छिमेकीसँग राम्रो र मित्रतापूर्ण सम्बन्ध राख्न चाहेको उनले बताए । ‘हाम्रो देशको सार्वभौमसत्ता, स्वतन्त्रता र आन्तरिक मामिलामा आफैंले निर्णय गर्ने अधिकार, भौगोलिक अखण्डता, राष्ट्रिय हितहरू, स्वाभिमान यत्तिलाई हामी ध्यानमा राख्छौं । यत्ति कुरा छिमेकीबाट मानियोस्, सम्मान गरियोस् भनिएको हो', उनले भने ।
प्रधानमन्त्री ओलीले कुनै विदेशी मुलुकसँग झगडा र वैरभाव राख्नु नेपालको चाहना नरहेको बताए । वर्तमान सरकार विदेशी हस्तक्षेपको सिकार भएको उनको भनाइ थियो ।
प्रधानमन्त्रीले नेपाललाई आफ्नो भौगोलिक अवस्थिति ‘जियोपोलिटिक्स' राम्रोसँग थाहा रहेको समेत बताए । ‘नेपाललाई थाहा छैन र उत्तरमा चीन, दक्षिणमा भारत छ भन्ने कुरा ? जियोपोलिटिक्सका नाउँमा राइट टर्न भन्दा राइट टर्न गर्नुपर्ने, लेफ्ट टर्न भन्दा लेफ्ट टर्न गर्नुपर्ने जियोपोलिटिक्स हो ? ससाना व्यवस्थापनका पक्षहरूमा निर्णयहरूमा राष्ट्रको स्वाधीनता अन्डरमाइन गर्दा चुप लाग्ने, आफैंले सार्वभौम निर्णय गर्छु भन्न नपाउने जियोपोलिटिक्स हुन्छ ? ' भूराजनीतिका नाउँमा हुने गरेको विदेशी हस्तक्षेपलाई लिएर हुने गरेका टिप्पणीतर्फ उनले भने ।
प्रधानमन्त्री ओलीले छिमेकी देशमध्ये कुनसँग बाटो जोड्ने/नजोड्ने नेपाल आफैंले निर्णय गर्ने विषय भएको बताए । ‘दुईवटा छिमेकी छन् । दुवैतिर बाटो जोड्नुपर्छ । दुवैतिर व्यापार गर्नुपर्छ । अनि यसो गर्दा हाम्रो भूगोल बुझिएन भन्ने ?
जियोपोलिटिक्स बुझ्ने भनेको एकातिर बाटो बनाउन हुन्छ, अर्कोतिर हुँदैन भन्ने हो । दुईवटा छिमेकी छन्, दुईतिरै सम्पर्क गर्ने हो । दुईवटैसँग विशेष, निकट, मित्रतापूर्ण र देशका लागि फाइदा हुने सम्बन्ध विकास गर्ने हो', उनले भने । भारतीय सञ्चारमाध्यमले चीनसँग पारवहन सम्झौता भएपछि नेपाल भारतको हातबाट चीनतिर फुत्कियो भन्ने टिप्पणी गरेकोमा समेत उनले आक्रोश पोखे ।
‘यसबीचमा बहुतै स्पष्टताका साथ मलाई भारतसँगको सम्बन्ध बिगारेको पनि भनियो । म प्रधानमन्त्री हुँदा तराईमा आगो बलिरहेको थियो । ४ दर्जन मानिस, सुरक्षाकर्मी, राजनीतिक कार्यकर्ता र सर्वसाधारण मारिने क्रम थियो । नाकाबन्दी थियो । नाकाबन्दीको कुरा सम्झिनु । त्यसलाई सामन्ती राष्ट्रवाद भन्ने विद्वान् पनि छन् । कसैका जायज स्वार्थलाई बेवास्ता गरिन्न । नेपालको नीति यही हो', उनले भने ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरूबीच सहमति गरी नेपालले विदेश नीतिबारे साझा दस्ताबेज ल्याएर कार्यान्वयन गर्नुपर्ने बताए ।
नेपाल अहिले छिमेकीमुखी मात्र नभएर विदेशी मुलुकमुखी भएको उनले बताए । ‘हाम्रा दुई मित्रराष्ट्रको जायज चासो सम्बोधन गर्ने र उनीहरूको आर्थिक विकासबाट लाभ लिन काम गर्नुपर्छ', उनले भने ।
कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतले नेपालको आन्तरिक मामिलामा बारम्बार हस्तक्षेप गर्ने गरेको उदाहरण दिँदै नेपालका नेता र दलले समेत भारतको आमन्त्रित हस्तक्षेप चाहने गरेको बताए । ‘हाम्रो आन्तरिक मामिलामा भारतको सोझो हस्तक्षेप हुनु र हामी आफैंले हस्तक्षेप आमन्त्रण गर्नु दुवै गलत हुन् ।
भारतले हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्दा हामीले गर्ने विरोध भारतीय जनता र सरकारविरुद्धको विरोध होइन', उनले भने । उनले उत्तरी छिमेकी चीनसँग नेपालको कुनै वैरभाव र नराम्रो नरहेको उल्लेख गर्दै चीनसँग प्रधानमन्त्री ओलीको भ्रमणमा भएका पारवहनलगायत ऐतिहासिक सम्झौता नयाँ सरकारका पालामा कार्यान्वयन हुनुपर्ने बताए ।
पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपालले चीन र भारत दुवै देशका जायज चासोहरू सम्बोधन गर्नुपर्ने र दुवै छिमेकीसँग राम्रो सम्बन्ध राख्नुपर्ने बताइन् । ‘हामी चीन र भारतको बीचमा रणनीतिक रूपले महत्त्वपूर्ण स्थानमा छौं । एक छिमेकीविरुद्ध अर्को छिमेकी प्रयोग गर्नु ठीक होइन । हाम्रो राष्ट्रिय हित हेरेर दुवै छिमेकीसँग सम्बन्ध राख्नुपर्छ', उनले भनिन् । चीन र भारत विश्वमा उदाउँदा ठूला अर्थतन्त्र भएकाले उनीहरूबाट नेपालले लाभ लिनुपर्ने उनको भनाइ थियो ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का नेता जितेन्द्र देवले नेपालले चीन र भारत दुवै छिमेकीसँगको सम्बन्धलाई महत्त्व दिनुपर्ने बताए । उनले नेपालका दलहरूले आफ्नो राजनीतिक आस्थाभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा चीन र भारतसँग सहकार्य गर्नुपर्ने बताए । ‘वामपन्थी दलहरूले भारतको एकोहोरो विरोध गर्ने र चीनसँग निकट रहेको देखाउने अनि कांग्रेसलगायत डेमोक्र्याटहरूले आफूलाई प्रजातन्त्रवादी भन्दै भारतसँग निकट देखाएर चीनतिर सम्बन्ध छैन भन्नु हुँदैन । यी दुवै प्रवृत्ति गलत हुन्', उनले भने ।