प्रचण्ड नेतृत्वमा बन्ने सरकारलाई चीनले पूर्ण सहयोग गर्ने
काठमाडौं: चीनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बन्ने नेपालको नयाँ सरकारलाई पूर्ण सहयोग गर्ने धारणा सार्वजनिक गरेको छ । नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग शुक्रबार गरेको भेटमा भनेका थिए, ‘माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा कांग्रेसलगायतका दलहरू संलग्न हुने संयुक्त सरकारलाई सबै प्रकारको सहयोग रहन्छ ।'
माओवादी अध्यक्षको निवासमा शुक्रबार बिहान दूतावासका वरिष्ठ अधिकारिसहित पुगेका राजदूत चुन्ताई र दाहालबीच नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा कुराकानी भएको थियो ।
राजदूत चुन्ताईले दाहाल नेतृत्वमा गठन हुने सरकारले दुई देशबीचको मित्रता बढाउन सहयोगी भूमिका निभाउने बताएका थिए । अध्यक्ष दाहालले विकसित राजनीतिक घटनाक्रम बारे राजदूत चुन्ताईलाई प्रष्ट्याउँदै अब केही दिनभित्र आफ्नो नेतृत्वमा नयाँ सरकार निर्माण हुने अवगत गराएका थिए ।
दाहालले राजदूतलाई सरकारले लिने नीतिका बारेमा संक्षिप्त जनाकारी दिएका थिए । आफ्नो नेतृत्वमा बन्ने सरकारले संविधान कार्यान्वयन, राजनीतिक स्थिरता एवं शान्ति, भूकम्पपीडितको पुनर्निमाण र विकासका कामलाई तीव्रताका साथ आगाडि बढाउने नीति लिने दाहालले स्पष्ट पारेका थिए ।
‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चीन सरकारसँग गरेका सन्धी, सम्झौता र समझदारी आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदै भएका सहमतिकै परिणाम हो' चिनियाँ राजदूतसँग दाहालले भनेको थिए ।
दाहालले राजदूत चुन्ताईसँगको भेटमा भनेका छन्, ‘अब बन्ने सरकारले चिनियाँ सरकारसँग भएका सन्धी, सम्झौता र समझदारीलाई कार्यान्वयन गर्दै अझ नयाँ सहमति गर्नेछ ।'
नयाँ सहमति गर्न आवश्यक गृहकार्यसहित आफू चीन भ्रमणमा जाने चिनियाँ राजदूतलाई दाहालले अवगत गराएका थिए ।
भेटमा राजदूत चुन्ताईले दाहाललाई उनको नेतृत्वमा बन्ने सरकारलाई चिनियाँ सरकार, चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताको पूर्ण सहयोग र समर्थन रहने बताएका थिए ।
नेपालको विकासका निम्ति अध्यक्ष दाहालको नेतृत्वमा बन्ने सरकारलाई चिनियाँ सरकारको पूर्ण साथ, सहयोग र समर्थन रहने प्रतिवद्धता राजदूत चुन्ताईले जनाएको दाहालको सचिवालयले उल्लेख गरेको छ ।
दाहालले राजदूत चुन्ताईसँग भनेका थिए, ‘ओलीले चीनसँग गरेका संझौता कार्यान्वयनको समय आयो ।' दाहालको यो भनाईलाई सकारात्मक रुपमा लिँदै राजदूतले जवाफ दिएका थिए, ‘हाम्रो तर्फबाट कुनै कमी हुनेछैन ।'
ओली सरकारविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गरेपछि निवासमा आयोजित पत्रकार सम्मेलनमा दाहालले भनेका थिए, ‘वर्तमान सरकारविरुद्ध आफ्नो नेतृत्वमा बन्न लागेको गठबन्धनसँग मित्र राष्ट्र चीन सन्तुष्ट छ । ओलीले चीन भ्रमणमा भएका संझौता माओवादी केन्द्रका अध्यक्ष दाहालको सहयोग र सद्भावका कारण भएको भन्दै आफूलाई चिनियाँ राजदूत उ चुन्ताईले धन्यवाद दिए । मलाई प्राप्त सूचनाले पनि कांग्रेससँग मैले गरेको गठबन्धनबाट चीन खुशी छ ।'
दाहालको पहिलो भ्रमण चीन !
नयाँ सरकारको प्रधानमन्त्रीमा प्रस्तावित दाहालले आफ्नो पहिलो विदेश भ्रमण चीन हुनुपर्ने धारण माओवादी सचिवालय, कुटनीतिज्ञ र केही निकट सल्लाहकारसँग राख्न थालेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली तथा उनका सहयोगीले सरकार बहिर्गमनमा भारतको संलग्नता रहेको प्रतिक्रिया दिइरहेका बेला दाहालले पहिलो विदेश यात्राका रुपमा चीन भ्रमण गर्नु उपयुक्त हुने सुझाव आएको स्रोतले दाबी गरेको छ ।
ओली नेतृत्वको सरकार रहेका बेला चिसो रहेको भारतसँगको सम्बन्धलाई नयाँ आयाम दिँदै चीनसँगको सम्बन्ध झनै प्रगाढ बनाउने गरी दाहाल गृहकार्यमा जुटेको माओवादी सचिवालय स्रोतको दाबी छ ।
दाहाल चीन, भारत र नेपालबीच विकासका लागि त्रिदेशीय समझदारीको कार्यान्वयनमा जोड दिने पक्षमा छन् । यद्दपि यसलाई भारतले त्यति सकारात्मक रुपमा नलिएको हुँदा दाहालले आफ्नो यो नीतिमा केही परिवर्तन गर्न लागेको जानकारी स्रोतको छ ।