रबरको जिब्रो

रबरको जिब्रो

दुई प्रमुख नेपाली अखबारमा खानामाथि लेखिइरहेका दुई स्तम्भमा जबजब आँखा जान्छ, मनमा एउटा प्रश्न धेरै वर्षदेखि उठ्ने गरेको छ– नेपाली मानव कुखुराको मासु र बियर खानमात्रै यो पृथ्वीमा जन्मेर आएको हो ? र, यथार्थचाहिँ त्यही नै हो । हरेक व्यक्ति जब आन्तरिक पर्यटक बनेर फूर्तिसाथ हिँड्छ, उसले स्थानीयसँग माग्ने त्यही नै हो । जब कि फ्रेन्च र जापानी दुई नागरिक सु–स्वादको चरम सीमा पनि पार गरेर शृंगारिक परखको चरणमा पुगिसके ।

मास्टर सेफ अस्ट्रेलिया यति बेला युरोपियन कुजिनमा तीनवटा कुरा गरिरहेछ– सिर्जना, ‘सेलुलोज' अधिक भएको गाईभैंसीका बेस्वादिला भुसाजस्ता फिलरहरूलाई सु–स्वादु चिजमा पुर्‌याउने यत्न र शृंगारिक चरणमा तिनको प्रवेश । खाना मूलतः तीन किसिमका हुन्छन्– भोक जगाउने (एपेटाइजर्स), भरुवा (फिलर्स), सु–स्वादु (डेलिकेसी) ।

भूमध्यसागरबाट आएका ६ वटा मसलामा हाम्रा सबै मूलधारका मेनु आश्रित छन् । फोनेसियन व्यापारीहरूको जगजगीकालमा सम्भवतः ती जनकपुर भएर नेपालभरि सर्वत्र फिँजिए । किनभने ती सबैको साझा नाम मैथिल नै हो– जीरा, धनियाँ, मरीच आदि । तर, नेपालका यावत् गाउँघर त्यस्तो छैन । मेचेहरूले खरानीविशेषलाई खानाविशेषका निम्ति मसलाको रूपमा प्रयोग गर्छन्– मासको सुकेको डाँठको खरानी ।

नामै खारदईबाट थाहा हुन्छ ‘अल्कालिन्' हो । थकालीहरूले टिम्मुरबिना खाना नै बनाउँदैनन् । पश्चिम मध्यपहाडमा भिनैला (एल्सोजिया फ्रुटिकोसा) प्रयोग गर्छन् । यस्ता मसला सयौं छन् अस्तित्वमा । इन्डोनेसियाले जसरी भूमध्यसागरीय मसलालाई अस्वीकार गर्छ र आफ्नै मसला जोड्छ, त्यस्तै कुरा नेपालमा पूर्ण स्थापित छ । तर, संगठित छैन । त्यतिमात्र हो ।

कर्णाली अञ्चलले मात्रै झन्डै २५ किसिमका खाद्य तेल उत्पादन गर्छ । तर, स्रोत कुनै तेलहन मानिएका वनस्पति होइनन् । नेपालको मात्र होइन सम्भवतः विश्वमै यो घनत्व एक रेकर्ड हो । सबैभन्दा प्रचलित ढँटेलो (प्रिन्सिपिया युटिलिस)को तेल हो । यद्यपि यसको अहिले लिटरको दुई हजार पर्छ भन्छन् छिनासिममै ।

कुकुर खाइन्छ नेपालको मध्यपहाडको कुनै समुदायबीच । पश्चिम पहाडका कुनै समुदायमा मरेको घोडा खाने चलन छ । डेढ सय वर्षअघि दोलखाबाट वन–घोडा झिकाएका थिए राजेन्द्रविक्रम शाहले र त्यो चुरेतलको जंगलमै समेत पाइन्थ्यो प्रशस्तै ।

तर, काठमाडौं उपत्यकाको नेवारी परम्पराको मेनुको स्वादको स्रोत भने भुटेको तोरीको तेल हो । योबिना नेवारी खानाको स्वाद बाँच्न सक्दैन । त्योभन्दा पनि तीन कदम बढेर पूर्वी पहाडका साम्पाङ राईहरू भन्छन्– खराने (सिम्प्लोक्स रासेमोसा)को जस्तो स्वाद दिने तेल अरू हुनै सक्दैन । एउटै खराबी छ, खोकी लाग्छ । खोकी लाग्ने तत्त्व ‘फाइटोकेमिस्ट'ले पत्ता लगाएर बीज प्रशोधन प्रक्रियामात्र गर्न बाँकी छ । खराने कसैले आफ्नो निजी जमिनमा राख्दैनन् उपयोगिताविहीन देखेर, जंगलमा मात्र हुन्छ प्रायः ।

तर, पहिचान कम्ताको छैन कर्णालीका लागि पनि उछिन्ने साम्पाङहरूको । पश्चिमा संसारको जैतुनको तेलमा हुरुक्क छ केन्द्रीय धारको मेनु भने । यद्यपि नेपाली जैतुन (अलिया नेपालेन्सिस)को पश्चिम नेपालमा जंगलैजंगल छ भन्ने कुरामा केन्द्रीय धार भने निरक्षरजस्तै नै छ ।

फ्लोरिकेसी नाम दिए हुन्छ नेपाली मेनुको एउटा अंगलाई, जर्मन ‘डेलिकाटसेन'को समकक्ष । फूलभात नामको मुख्य कोर्स बन्नसक्ने बाँसको फूलको भातदेखि फूलखीर नामको ‘डेजर्ट'सम्म पूरा कोर्स पूरा गर्न सकिन्छ नेपालकै मेनुमा । प्रपन्नाचार्यले सिस्नुको फूलको खीरजस्तो मीठो केही हुन सक्दैन भनेका छन् ।

दिलमान नेवारलगायत अन्यले पनि धेरै गीत गाएका छन् यसबारे । चितवनको कृषि प्रदर्शनीमा धेरै वर्षअघि राखिएको थियो यो । सायद अहिले काठमाडौंमा पनि पाइन्छ । बीचमा सुनपातीको फूलको चियादेखि भुसी (बेन्थामेडिया क्यापिटाटा/तराईको भुसी अर्कै हो)को मदिरादेखि सयौं सयौं प्रकारका फूलहरूले यसरी साथ दिन्छन् कि फूलकोर्समा, ती सबै सिजनमा कुनै न कुनै वैकल्पिक स्रोत बनेर, यसरी उभिदिन्छन् कि पहाडे गराको चिउरी फूलदेखि महुवा फुल्ने तलको मैदानसम्मले, मेनु संयोजकले अलमलिएको ठान्नै पर्दैन ।

‘मोस' भएको अंगुरले बन्ने वाइनको अर्कै परख र उत्पादन हुन्छ युरोपको बजारमा, स्याम्पेनदेखि बोद्र्रां र बर्गन्डीको मैदानमा । वाइन वर्गीकरणको महासमुद्र नै छ पश्चिममा । खास इनारको पानीबाट मात्रै बनेको बियरको अनेक दाबी पनि भइरहन्छ त्यहाँ । यता अग्र्यानिकको मात्रै अत्यन्तै बेसिक कुरामा एकोहोरो रट छ । कसैले ‘द हिमालयन' अंग्रेजी दैनिकमा फूर्तिका साथ भनेको पढियो– म हरेक आइतबार बिहान ‘तुयुको विस्ट्रो'मा अग्र्यानिक खान जान्छु ।

पढ्दा रमाइलो किन थियो भने त्यही विस्ट्रोका सञ्चालकले हिमाल पाक्षिकमा भनेका थिए– हामीले देशभरि खोज्दा तीनवटा गाउँमा बाहेक कहीँ अग्र्यानिक पाएनौं । हिमालयन जाभाका सञ्चालकको भनाइ धेरै सटिक छ, अग्र्यानिकको रटभन्दा एक कदम परको कुरा– नेपालको कफीको माग विश्वमा किन छ भने त्यो चिसो मुलुकको हो । यहाँ भन्न खोजिएको हो– तुषारो पर्ने मौसमको सागपात हाम्रो मेनुको अद्वितीय अंग हो तर वास्ता छैन । मोटो अर्थमा जिरो कावाकिताले तेह्रवटा मौसम नेपालमा छ भनेर चिनाइदिनुको अर्थ नै त्यही हो– अग्र्यानिकपछि पनि चिसो ठाउँको हो भनेर मेनुमा अडान लिनसक्ने स्थिति छ नेपालीको ।

वाइनको कुरा माथि अलिकति कोट्याइयो । अहिलेको हिंवा र नेटलेन्ज वाइनका उत्पादनका प्रवर्तक स्व. सत्यलाल रञ्जितकारले भनेका थिए– सिस्नुको वाइनले भियाग्राको काम गर्दो रहेछ भनेर तत्कालीन श्री ५ को सरकारका १४ वटै सचिवले अनुभव गरी हेरे । बारम्बार त्यसको चाह पनि देखाइरहे तर लाइसेन्स दिएनन् ।

झलक थापाले उत्पादन गरिरहेको डाँडाघरे वाइनमा धोबिनी (म्युसेन्डा माइक्रोफाइला)को जराको बोक्रा परेको छ, जो अक्षयतृतीयामा निर्धन समाजसेवीले चपाउन लगाएर बटुवालाई पानी पिलाउँथ्यो र गुलियोको अनुभूति दिलाउँथ्यो ।

अर्थात् प्राकृतिक रूपमै गुलियोको खोजी गरी त्यसमा प्रयोग भएको छ । सोझै ठर्रामा खान हुने रङ मिसाइदिएका जस्ता अरू कतिपय वाइन उत्पादनकर्ताका कुरा नगरौं । सालको पातको पहाडमाथि सोझै युरिया मल खनाएर उत्पादन गरिरहेका कतिपय ग्रामीण मधभट्टीका तरलहरूको कुरा पनि नगरौं ।

पंक्तिकारले भेट्न नसकेको पासाङ काम्बाछेको कुरा पनि नगरौं जसले नेपालमा वाइन उत्पादन गर्न मुस्ताङमा आफ्नो जीवन व्यतीत गरे, अंगुरका अनेक प्रजाति लगाए, फ्रान्सबाट फर्केर ।

तर, सक्कली वाइन उत्पादकहरूले भने आज पनि आफ्नो विशिष्ट अनुभव र ज्ञान इमानदारीपूर्वक प्रयोग गरिरहेको कुरा बिर्सन हुँदैन । कसैकसैले ती त सबै ‘कुकिङ रेन्ज'का हुन् भनेर होच्याउँदै अस्ट्रेलियन वाइनको बजार विस्तार गर्ने मोह राखे पनि ।

‘आइराक' आज भोलि डिस्टिल्ड हुन्छ तर फर्मेन्ट गरिएको संखुवासभाको मानेभञ्ज्याङको सरुवा सक्कली रूपमै उपलब्ध हुने हो भने त्यो कुनै जापानी साकी र कोरियन बाकलीभन्दा बेजोड भएर मेनुमै उक्लनसक्नेमा शंका छैन, नेपाली ‘रोगन जोस' विश्वव्यापी भएजस्तो । बरु फेरि चार हजार वर्षअघि फर्केर इथियोपियन हाइल्यान्डसबाट कोदोको पहाड ओसारिरहन नपरोस् ।

‘फुगु' माछाको ज्यानमारा सेला खाएर प्राणै दिने पर्व हुन्छ जापानीहरूमा । अहिले त्यसमा रहेको ‘साइनाइड' नभएको वर्णशंकर उत्पादनको तरिका पनि विकास हुँदैछ । त्यस हदसम्मको होइन, तर कलबिख तितो बोकाको पित्त स्वाट्टै निल्ने एउटा प्रचलन हो– हाम्रो पनि । तीतो खाने हाम्रो विशेषता नै हो । लिम्बूहरू कुखुराको भर्खर उम्रिएको भुत्लाको तिते खान्छन्, तिते माछामाथि हुरुक्कै हुने पनि उनीहरूकै चलन हो ।

झन्डै आधा दर्जन पक्का तीतो वनस्पति हाम्रा चलनचल्तीमा छन् । नेवारहरूमै पालावी र बकैनाको चलन पुरानो हो– औषधिकै नाममा भए पनि । तीतोमाथिको यो रुचि संसारकै अन्य कुनै मेनुमा छैन होला । मातृकाप्रसाद कोइरालाले त एक नीम पागलको वृत्तान्तमात्र दिए उताको ।

कुकुर खाइन्छ नेपालको मध्यपहाडको कुनै समुदायबीच । तर, उसले यसलाई गोप्य राख्ने गर्दै आएकाले पंक्तिकारले समुदायको नाम लिएको छैन । पश्चिम पहाडका कुनै समुदायमा मरेको घोडा खाने चलन छ, त्यसको नाम पनि नलिइहालौं । डेढ सय वर्षअघि दोलखाबाट वन–घोडा झिकाएका थिए राजेन्द्रविक्रम शाहले र त्यो चुरे तलको जंगलमै समेत पाइन्थ्यो प्रशस्तै । अहिले मुस्ताङमा नाम मात्रको अस्तित्व छ त्यसको । त्यो पूरै खाएरै सकिएको हो ।

स्याल खान्छन् राउटेहरू– पूर्णप्रकाश यात्रीले लेखेकै छन् । चीनले बाघ खाएर सिध्यायो होइन, हामीकहाँ पनि चितुवाको मासु र हाडको रक्सी बन्छ । राउटेको बाँदर र चेपाङको चमेरो भोजनबारे सबैलाई थाहै छ । अर्थात् बिरालो र सर्प बिर्सिदिने हो भने चीन र कोरियाको मांसाहारी मेनुबाट हाम्रो रत्ति पनि फरक छैन ।

तर तिनको खाद्यस्तर भरुवा (फिलर्स)बाट माथि छैन, नेवारहरूले राँगोलाई मल्लकालमै पूर्ण सु–स्वादु (डेलिकेसी)मा पुर्‌याइसक्दा पनि । जुन मल्लकाल आज बितेको पनि झन्डै तीन सय वर्ष पुग्न लाग्यो होला । त्यति बेला जापानी मेनुमा क्रान्ति ल्याउने मेइजिकाल आएकै थिएन ।

कोसी, गण्डकी र कर्णाली नदी प्रणालीका माछाका प्रजातिहरूमा धेरथोर भिन्नता अवश्य छ । नारायणी र बागमती नदी प्रणालीकै प्रकारमै पनि केही छ । झन्डै दुई सय प्रजाति भएपछि केही न केही विविधता हुने नै भयो । तर, पहाडकाले माछा बनाउने तरिका तराईवासीसँग आजसम्म पनि सिक्न नसक्नु, नचाहनु, माछाका प्रकारअनुसार खानाको प्रकार पनि भिन्न हुन्छ भन्ने कुरामा चासो नदिनु आठौं आश्चर्य छ यो जीवन र जगत्मा ।

पंक्तिकार पनि पहाडी मूलकै हो । त्यसैले नरिसाउने हो भने पहाडवासीले माछा बनाउनुको के कुरा केलाउनसम्म पनि जानेको छैन । एक जापानीले वीरेन्द्रलाई एप्रोच गरेपछि उनले नुवाकोटमा लगाइदिए रेन्बो ट्राउटको खेती सुरुआत गर्न । अहिले देशैभरि रेन्बो ट्राउटको जगजगी छ । तर, त्यो घरमा नल्याएर त्यहीँ बनाउन अर्डर दिने हो भने ढिँडो र माछामा कुनै अन्तर पाइँदैन ।

यसैले त्यो जग्गा दलाल, रसिक र भन्सारका कर्मचारीहरूको मात्रै बढी प्रिय हुन पुगेको छ । जुन कु–संस्कृति नै हो, दुर्घटना नै हो । यद्यपि रेन्बो ट्राउटभन्दा महासेर र जलकपुरको स्वादले धेरै उचाइ लिइसक्नुपर्ने हो । तराईवासी नेपाली भाषा बोल्दा हेरेकोलाई देखेको र देखेको भन्नुपर्नेलाई हेरेको भनेर उत्पात भ्रम खडा गरिदिन्छन् । त्यसैगरी उनीहरूले सस्र्युं र रायो दुवैलाई सस्र्युं भन्दै आएकाले पहाडवासीलाई माछाको मसलामा भ्रम भएको होला ।

रोल्पाको लिवाङमा कचौरामा बाह्रपन्ध्रवटा माछाका ससाना टाउका हालेर होटलवालाले प्रस्तुत गरे । तर, गजब के भने प्रत्येक टाउका भिन्नभिन्न माछाका थिए । एउटा बंगाली भए यो विसंगति देखेर मुर्छै पथ्र्यो होला ।

१०

वैष्णवहरूलाई माथिका दुवै प्रसंग घिनलाग्दा, दिगमिगलाग्दा हुने नै भए । कम्तीमा बाह्र सय वर्षदेखि वैष्णवहरूलाई बहुबीजयुक्त फसल खान प्रतिबन्ध छ । तर ओक्रा/तोरियाँअगाडि राम जोडेर ती रामतोरियाँ बनाइदिन्छन् र खान्छन् । गोलभेँडालाई रामभेँडी बनाइदिन्छन् ।

लट्टेको बियाँलाई रामादाना बनाइदिन्छन् ती । दुईदलीय (डाइकटिलेडनस) बिटुलो र एकदलीय (मोनोकटिलेडनस) चाहिँ चोखो भन्ने तिनको अद्भुत मान्यता छ । तर, वनस्पतिशास्त्रले डाइकट भनेर वर्गीकृत गरेका दर्जनौं वनस्पति ती खाइरहेकै छन् छुट्ट्याउन नसकेर, किन यहाँ नाम लिएर असजिलो पारिदिनु ?

क्रिस्मसभन्दा चालीस दिनअघि लेन्टको आइतबार पर्छ जुन दिन मुसुरोको दाल पिइन्छ । त्यो इसाई धर्म स्थापित हुनुअघिको युगको संस्कृति हो, मध्यपूर्वीय हो । यसैले मुसुरोको अंग्रेजी नाम लेन्टिल भएको र उत्पत्ति थलो पनि इजरायल भनिदिए हुन्छ । यसैले वेदले यसलाई स्वीकार गर्‌यो पवित्र मानेर, तर श्राद्धकेन्द्रित विष्णुपुराणले अपवित्र भनिदियो धेरै तागत हुने देखेर । वेदलाई चुनौती दिने के हैसियत पुराणको ?

लसुन–प्याज खाए जात जाने याज्ञवल्क्य स्मृतिको रट लागिरहेको छ तर त्यही ‘अलियम' वर्गको जिम्बु खाएर जात गएको हजारौं वर्ष भइसक्यो । यसैले जसरी वैष्णव धार नेपाली होइन, त्यसैगरी त्यसको छुट्टै मेनुको अर्थ छैन । एनिमल फ्याटले अन्ततः हित गर्दैन भन्ने वैज्ञानिक मान्यताले, प्रकृतिले उत्पत्ति गरेका सबै वनस्पति पवित्र मानेर बनेका शाकाहारी मेनु सर्वस्वीकार्य हुनसक्छ, बनाउनुपर्छ पनि त्यही । तर त्यसरी पनि बनेको छ र ? प्रश्न छ ।

११

कास्की र बारा स्थानीय धान प्रजातिका धनाढ्यतम जिल्लाहरू हुन् देशमा । जेठाबूढाकै मात्र खेती प्रजाति (ल्यान्ड रेस) पंक्तिकारले थाहा पाउँदा पचासीवटा थियो । अहिलेसम्म सयभन्दा बढी नाघिसकेको होला । बासमतीजस्ता सुवासदार प्रजातिको भोजनले आन्तरिक अंगहरूलाई दीर्घकालमा घातक असर गर्छ भन्ने विद्यावारिधिको निक्र्योल हो अस्ट्रेलियामा एक नेपालीको । त्यसको हेक्का नहुनु सामान्य कुरा हो ।

हुनुपर्छ भन्ने पनि छैन । तर, त्यति धेरै प्रजाति हुँदा पनि, त्यति प्रशस्त उत्पादन हुँदा पनि चामलको ‘एन्ड प्रडक्ट' आधा दर्जनभन्दा बढी छैन । त्यही लट्टे, त्यही चाम्रे वा झ्याउँकोबाट पर जान सकेको छैन प्रकार । यद्यपि मध्य पहाडी र पश्चिम पहाडी झ्याउँकोको प्रकार अर्कै हो ।

के कास्की र बारामा ०२१ सालभन्दा अघि उल्लेखनीय जमिनदार सामन्तहरू थिएनन् तिनमा भारी मात्रामा प्रयोग गराउनलाई ? कास्कीका त श्री ३ महाराज हौं भन्ने राणाशासकहरू नै थिए । चामल सम्भवतः तेह्र हजार वर्षदेखि हाम्रो मुख्य खाद्य पदार्थ हो । तैपनि त्यो भरुवाबाट सु–स्वादुमा अहिलेसम्म पुग्न सकेको देखिन्न ।

१२

पश्चिम पहाड अझ डोटी र त्यसका वरिपरि बावर, ढेसु, माणा, तले, तलेमाणा आदि अनेकौं नामले के पुष्टि गर्छन् भने ती रोटीका प्राचीन पारखी हुन् । तिनमा विविधपन व्यापक छ । उखानै छ– गयो डोटी, खायो रोटी आउँदा धोती न टोपी । यो रोटी मुसलमानी प्रभाव हो ।

चार सय वर्ष अघिसम्म भारतमा खासगरी मुसलमानमात्रै गहुँ खान्थे । पछि पञ्जाबीहरूले यसलाई व्यापकता दिए । त्यसको विपरीत पूर्वी पहाडमा रोटीको नामनिसान छैनजस्तै छ । यति हुँदा पनि काठमाडौंको मेनुमा पश्चिमा रोटीहरू फूर्ति लगाएर उत्रिन सकेका छैनन् । कारण स्पष्ट छ, ती अझै पनि भरुवाकै स्तरमा छन् ।

सु–स्वादुमा पुग्न सकेका छैनन् । मानिसका जिब्राहरू हुरुक्किने उचाइमा पुग्न तिनलाई अझ समय लाग्ने देखिन्छ । जब कि पश्चिम नेपाल पूरै सामन्त शासित इलाका हो, सेराफाँटहरूमाथि युगौंयुगसम्म जमेर बसेको ।

१३

गुल्मीमा आज दुहेको दूध राति राखेर भोली खाइन्छ ( श्रापको कुरा गर्छन् ती, त्यो गल्पमात्र हो), बझाङको कँडेल गाउँमा नउमालीकन दूध जमाइन्छ– कसैले लेखेकै छन् । कतै गाईको दूध पिउनलाई हो, भैंसीको जमाउनलाई हो भन्ने पनि मान्यता छ । भैंसीको दूधमा फ्याट बढी हुने हुनाले त्यो सही पनि हो ।

अहिलेको हिंवा र नेटलेन्ज वाइनका उत्पादनका प्रवर्तक स्व. सत्यलाल रञ्जितकारले भनेका थिए– सिस्नुको वाइनले भियाग्राको काम गर्दो रहेछ भनेर तत्कालीन श्री ५ को सरकारका १४ वटै सचिवरुले अनुभव गरिहेरे । बारम्बार त्यसको चाह पनि देखाइरहे तर लाइसेन्स दिएनन् ।

तर, कसैले लेखेको छ, ‘कैली गाईको घ्यू, सेती गाईको दही र काली गाईको दूध उत्तम मानिन्थ्यो ।' तर, वैज्ञानिकता के हो स्पष्ट छैन । यद्यपि यो पश्चिम पहाडकै कुरा हो । भक्तपुरको जुजु धौ अंग्रेजीको कर्डमात्र हो, तर पश्चिमा संसार घुमेर आएर नेपालमा योगर्त खान पाइँदैन भन्नेहरूले शिखरिणीको प्राचीन अस्तित्व बिर्सनु पनि अचम्मै छ ।

पश्चिमतिर अछामी, लुलुजस्ता गाईको केही नश्ल अद्यापि राम्रैसँग रहिरहेकाले पनि दूध–दहीका निम्ति त्यो धेरै परिचित भएको होला, श्रीगाई लोप भइसकेको इलाम भेगलाई छोडेर । भारी मात्रामा लेकमा प्रशस्त घाँस भएकाले पनि गाईपालन सजिलो भएको होला । तर न त्यसको अध्ययन भएको छ न त प्रयोग नै भएको छ मेनुमा चढाउन ।

१४

गल्ती होइन भने ऋग्वेदमै बधिया शब्द परेको छ (वेदमा त छ नै), दाङको बधिया भालेको धेरै पुरानो प्रचलन बुझाउन । अहिले त्यहाँका थारूहरूले पाल्न छोडेका छन् मृत्युदर उच्च भएकाले बधियाको । तर, यो त एउटा पशुचिकित्सकको तालिमप्राप्त सहायकले सहजै सुल्झाउनसक्ने समस्या हो ।

पाटनको च्यासलमा अहिले पनि खेतीकिसानी गरिरहेको कुनै प्रौढ व्यञ्जनकार छ भने उसले सहजै बताइदिने कुरा हो, बजारमा विद्यमान तेह्र प्रजातिका पालुंगोमा कुनचाहिँ कस्तो प्रयोजनका लागि हो ? पालकका निम्ति उसले छान्ने दुईवटा बाहेक बढी पर्दैन होला । तर, एउटा भुस्याहालाई तेह्रवटै चल्छ, फिलर भनेको यही हो ।

१५

अवसर र परिकार हेरेर खाद्यवस्तुको आकार नै फरक हुन्छ नेपाली परम्परामा । तर, उपत्यका न तराईका चमेनागृह सबैका सबैले सलाद जुन ढंगले काटेर ल्याउँछन् त्यो शोकको बेलामा खाइने आकारको हुन्छ । एउटा नेवार पाहुनालाई राती सुत्न पहाडवासी घरधनीले मान्द्रो ओछ्याइदियो भने उसले के ठान्ला ? यो त राम्रै खाना हो भनेर कुनै गैर–तामाङले अर्को तामाङलाई तोर्मा पस्किदियो भने के ठान्ला ?

हुँदाहुँदा केही अग्रणी भनिने रेस्त्राँले आठ र बाह्रको संख्यामा खानाका एकाइहरू प्रस्तुत गर्छन् । पेरुभियन एन्डिजमा आलु हुन्छ नै दुई किलोसम्मको भने केएफसीले छ इन्चसम्मको फिंगर चिप्स उत्पादन गर्नु ठूलो कुरा नै भएन । तर, तीन इन्चको आलुलाई मरीमरी केएफसीको पारामा काट्न खोजेर चौथाइ खेर हालिरहने झिंगा टाँस मानसिकताका नमुनाहरू देखिन्छन् नेपाली चमेनागृहमा ।

१६

नेटमा हेर्दा तीन किसिमका बजी हुन्छ भनेर कुनै नेवार समाजले हालेको रैछ– धौ बजी, चाकु बजी र स्या बजी । त्यसरी त लैं बजी, तुकँ बजी, साख बजीजस्ता हजारवटा नाम पनि बन्लान् । यसको अर्थ लोहें बजी (ढुंगे चिउरा) मार्सीको, उला बजी (छरुवा चिउरा) घैयाको, टिकन बजी अर्थात् टिकनी भन्ने गाउँमा बन्ने मसिनो चामलको पातलो, स्या बजी अर्थात् फुलेको तर चेप्टो, शिवा बजी अर्थात् न फुरेको, न चेप्टो प्रायः पूजामा चढाइने, हरियो बजी भर्खरैको काँचो धानको ।

आजका नेवारहरूले यसलाई बिर्सन नपर्ने हो, कुनै बेला देशको कुल राष्ट्रिय उत्पादनको तीन प्रतिशत योगदान भएको उपत्यकामा । पशुपतिको ढोकामा राखिएको चाहिँ पोहा हो भारतीय मूलको अझ महाराष्ट्रियन, त्यो हाम्रो चिउरा नै होइन । यस्तै हो कास्की र बाराको धानको ‘एन्ड प्रडक्ट'माथिको प्रश्न । नबिर्सनुपर्ने हो लोहें बजी रातो मासुसँग, अरू सेतो मासुसँग भन्ने पुरानो मान्यता जुन रातो वाइनसँग रातो मासु, सेतो वाइनसँग सेतो मासु भन्ने पश्चिमा धारणासँग ठ्याम्मै मिल्छ ।

१७

अर्थात् सेंचुवान वा क्यान्टानिज भनेजस्तो वा सिन्धी, पञ्जाबी, बंगाली वा दक्षिणी भनेजस्तो धार समातिसकेको छैन हाम्रो मेनुले । तर, त्यसभित्र झिनो रूपमा दर्जनौं धार अस्तित्वमा छ । वैष्णव मतलाई मन पर्ने कुरा के भने, झन्डै एघार हजार वनस्पति भएकाले, असी प्रतिशत वनस्पति खानलायक हुने हुनाले, सामान्य भए पनि एक हदसम्म वनस्पतिमा विद्यमान विषबारेको ज्ञान (टक्सिकोलोजी)माथि केही अध्ययन भइसकेकाले त्यसलाई फुड टेक्नोलोजीहरू नै पढेका सेफहरूको योगदान आवश्यक परेको हो ।

विश्वेश्वरप्रसाद कोइरालाले साहित्यको सन्दर्भमा भनेको एउटा उद्धरण नेपाली भोजन बनाउने सेफहरूका सन्दर्भमा पनि लागू हुन्छ– अरुले हिँडेको बाटोमा हिँड्ने त सिपालु हो अर्थात् शिल्पी हो त्यो सिर्जक होइन । नेपाली भोजन बनाउने सेफहरू सिर्जक होइनन् ।

१८

चीनका अन्तिम मञ्चु सम्राट्का भान्सेको केही दशकअघि निधन भयो । जीवनका अन्तिम दिनतिर हङकङको कुनै गोप्य टावरमा विश्वभरका अज्ञात ६ धनाढ्यलाई तिनले भोज दिन्थे । त्यसमा सहभागी हुन विश्वभर प्रत्येक सिटको गोप्य लिलाम बढाबढ हुन्थ्यो किनभने केही घन्टा अघिमात्रै अफ्रिकामा मारिएको हात्तीको सुँढ तस्करी गरेर चार्टर जेटबाट ओराल्नुपथ्र्यो, भर्खरै मारिएको बाघको कलेजो अर्को जेटबाट ओराल्नुपथ्र्यो, एक विशेष माछाको थुतुनो चाहिन्थ्यो, भालुको पञ्जा पनि चाहिन्थ्यो (यो त सायद देङ स्याओ पिङले लि क्वान युलाई खुवाएका पनि हुन् त्यहाँ), मृगको कुनै अंग चाहिन्थ्यो । ती आगन्तुक पनि चार्टर विमानबाट ओर्लेर केही घन्टामै उडेर जान्थे ।

‘फुगु' माछाको ज्यानमारा सेला खाएर प्राणै दिने पर्व हुन्छ जापानीहरूमा । कलबिख तीतो बोकाको पित्त स्वाट्टै निल्ने एउटा प्रचलन हो– हाम्रो पनि ।

नेपालमा त्यस्ता जोडा लाग्नसक्ने केही कुरा छन् । तर, यो आज ज्ञानबाटै बाहिर पुगिसकेको कुरा नलेख्दा नै राम्रो । अत्यन्त तन्नम अवस्थाबाट दासता र देशद्रोहका माध्यमले धनी हुन पुगेका दरिद्र संस्कृतिका राजनीतिज्ञहरूका निम्ति एक नागरिकले सुपर–ए दर्जाको डेलिकेसीको ज्ञान किन उपलब्ध गराउने ? भनेर पनि पंक्तिकार रोकिएको हो ।

बरु कुरा मोडेर अर्कै कुरा गरौं, यार्सागुम्बा कालो गुन्दरगानोमा प्रशोधन नगरी त्यो टनिक बन्नै सक्दैन भन्ने धारणा मध्यपश्चिम पहाडमा विद्यमान छ । तर, त्यो गुन्दरगानो विज्ञानको सिसामपेलोस् पेरेराचाहिँ होइन । त्यो जिनस सिसामपेलोस् नै होइन । त्यो पनि किन चिनाउने ?

एक सुपरिचित अर्थशास्त्री थिए जो अहिले पश्चिम लागिसके तर वीरगन्जनिवासी तिनले रोसी खोलाबाट असनको बजारमा आउने तर अहिले अप्राप्य भइसकेको झ्याउ (प्रेसिओला)लाई निर्यातयोग्य सु–स्वादु देखेर छापामा बयान गरे । यो निश्चय नै प्रशंसा गर्नलायक एउटा एपेटाइजर हो । एकजना वातावरणविद्ले अहिले आफ्नो ठेली पुस्तकमा दूबोको जराको डेलिकेसीबारे त्यस्तै बयान गरेका छन् । पश्चिमको फूल सखरको त्यस्तै बयान अर्कोले गरेको छ ।

पंक्तिकारको सम्झनामा झन्डै बाह्र सय होलान् । तर, नेपाली धार, खानेकुराको नेपाली स्कुल पर्खंदापर्खंदै ती अलपत्र छन् । पुनर्जागरणको युग नआईकन के अर्थ मास्टर सेफ नेपालको ? जब नेपाली जिब्रो नै चलायमान तर टेस्टबड नै नभएको रबरको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.