सूचनाले दिएको लोकसेवाको नम्बर

सूचनाले दिएको लोकसेवाको नम्बर

काठमाडौंः दोलखाका गोविन्दप्रसाद दाहाल नेपाल बैंक लिमिटेडले खुलाएको छैटौं तहको सहायक प्रबन्धक पदको परीक्षामा सामेल भए । उनी परीक्षामा अनुत्तीर्ण भए । अनुत्तीर्ण भएपछि परीक्षामा कति नम्बर आएको थियो जानकारी माग्दै बैंकमा निवेदन दिए ।

बैंकले उनले मागेको सूचना व्यक्तिगत भएको भन्दै उपलब्ध गराउन अस्वीकार गर्‍यो । लगत्तै उनले राष्ट्रिय सूचना आयोगमा सूचनाको हक प्रत्याभूत गरी पाऊँ भन्दै पुनरावेदन दिए ।

आयोगले नेपाल बैंकलाई दाहालले मागेको सूचना उपलब्ध गराउनु भन्ने आदेश दिएपछि २०७२ फागुन ३० मा सूचना पाए ।सहायक प्रबन्धक पदमा खुला प्रतिस्पर्धामार्फत उनले प्रथम पत्रमा ६० र दोस्रोमा ६५ अंकसहित एक सय २५ अंक प्राप्त गरेको सूचना मिल्यो । सूचनाका आधारमा उनी अन्तर्वार्तामा सामेल हुँदा उनको नाम ४५ औं नम्बरमा निस्कियो । तर ४५ संख्याको विज्ञापन ननिकालेको हुँदा उनी अनुत्तीर्ण भएको सूचना पाए ।

सूचनाको हक कति उपयोगी र प्रभावकारी हुन्छ भन्ने यो उदाहरणले प्रस्ट पारेको राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा बताउँछन् । बाँस्कोटा भन्छन्, ‘सूचनाले आमयुवामा नैराश्य ल्याउँदैन । हाम्रा युवामा सरकारी जागिर खान सोर्सफोर्स चाहिन्छ वा राजनीतिक दलमा निकट हुनुपर्छ भन्ने धारणा छ । यो उदाहरणले युवामा सार्वजनिक निकायप्रतिको विश्वसनीयता बढाउँछ । भित्रभित्रै आफ्ना मान्छे राख्छन् भन्ने शंका-उपशंका हटेर जान्छ ।'

दाहालजस्तै केशव प्रसार्इंले पनि लोकसेवा आयोगसँग सूचना मागे । उनले कृषि विकास सेवाअन्तर्गत ‘बाली संरक्षण अधिकृत’ पदका लागि प्रतिस्पर्धा गरेका थिए । उनको लिखितमा नाम निस्कियो । अन्तर्वार्तामा अनुत्तीर्ण भएपछि कति नम्बर पाएँ जानकारी पाऊँ भनेर आयोगसमक्ष सूचना माग्दै निवेदन दिए । तर आयोगबाट मागअनुसारको प्राप्तांक पाउन नसकेपछि उनी पनि पुनरावेदन लिएर राष्ट्रिय सूचना आयोग आए । राष्ट्रिय सूचना आयोगले लोकसेवा आयोगलाई प्राप्तांक उपलब्ध गराउन आदेश जारी गर्‍यो ।

हालका दिनमा लोकसेवा आयोगको परीक्षामा सम्मिलित हुनेले प्राप्तांक पाउन थालेका छन् । यसबाट लोकसेवा आयोगको विश्वसनीयता, निष्पक्षता र पवित्रता निकै उचाइमा गएको प्रमुख आयुक्त बाँस्कोटा बताउँछन् ।

 

 

तर यस्तै प्रकृतिको केसमा कृषि विकास बैंक र नेपाल चार्टर एकाउन्ट संस्थाले लामो समयदेखि परीक्षार्थीलाई प्राप्तांक दिन अटेर गरेकाले किन दण्डित नगर्ने ? भनी स्पष्टीकरण सोधिएको प्रमुख आयुक्त बाँस्कोटाले बताए । उनले शिक्षकसेवा आयोगलाई पनि प्राप्तांक उपलब्ध गराउन आदेश जारी गरेको सुनाए ।
दाहाल र प्रसार्इंको उदाहरणले सूचनाको हकका क्षेत्रमा एउटा नजिर तयार गर्‍यो । नेपालको संविधानले ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्न पाउने हक' व्यवस्था गरेको छ ।

यसको कार्यान्वयनका लागि सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भएको छ । आमनागरिकले आफ्नो अधिकारको प्रयोग गरी सूचना माग गरे जुनसुकै निकायबाट जस्तोसुकै सूचना पनि पाइने सन्देश राष्ट्रिय सूचना आयोगले प्रवाह गर्ने प्रयास गरिरहेको छ ।

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले भने, ‘अंक हेर्न पाउने व्यवस्था अन्तर्वार्तामा सामेल हुने परीक्षार्थीका लागि हो । उत्तीर्ण वा अनुत्तीर्ण जे भए पनि उनीहरूको अंक हेर्न पाउने व्यवस्था आयोगले गरेको छ । लोकसेवा आयोग पनि एउटा फरक संवैधानिक निकाय भएकाले आफ्नै नियमअनुसार चल्ने र कसैले कुनै पनि सूचना माग गर्दैमा पाउने भन्नेचाहिँ होइन ।'

‘कस्तो सूचना पाउने वा नपाउने आयोग आफैंले निर्णय गर्छ । तर यस्ता उदाहरणमा कुनै पनि व्यक्तिले उसको नम्बर हेर्न पाउने आयोगको पहिलो चरणको निर्णय हो । आयोगले समयको मागअनुरूप आफ्ना निर्णय फेरबदल गर्दै लैजानेछ', मैनालीले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.