तीन दिनदेखि रसुवागढी नाका बन्द
नुवाकोटः अविरल वर्षातका कारण सडकमाथिबाट खसेको पहिरोका कारण तीनदेखि त्रिदेशीय प्रवेशमार्ग रसुवागढी नाका पुग्ने सडक अवरुद्ध भएको छ । रसुवाको स्याफ्रुबेसी-टिमुरे खण्डको सडक १५ भन्दा बढी स्थानमा गएको पहिरोले बुधबारदेखि नेपाल-चीन-भारत जोड्ने सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा रसुवागढी नाका हुदैँ नेपाल र चीनबीचको व्यापारिक कारोबार पूर्ण रूपमा ठप्प भएको छ ।
‘ढुंगासहितको पहिरो खसिरहेको छ, स्काभेटरले पहिरो पन्छाउने कार्य भइरहेको छ', रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले भने । रसुवाको स्याफ्रुबेसीटिमुरे खण्डमा गएको १५ मध्ये ६ वटा पहिरो शुक्रबार बिहानसम्म हटाइएको उनले बताए ।
वर्षा भइरहेका कारण पहिरो खसिरहेको छ । प्रजिअ अधिकारीका अनुसार हुम्लाबाट चीन प्रवेश गरी रसुवागढी नाका हुदैँ आएका २९ जना पर्यटक पहिरोका कारण टिमुरेमै थुनिएका छन् ।
तातोपानी नाका गत वर्षदेखि बन्द भएपछि रसुवागढी नाकाबाट सयौं यातायातका साधन आवतजावत गर्दै आएका थिए । सो सडकको स्तरोन्नति हुन नसकेका कारण पहिरोले दुःख दिने समस्या बर्सेनि छ । अविरल वर्षाका कारण १५ दशमलब पाँच किलोमिटर दूरीको स्याफ्रुबेसीदेखि रसुवागढीसम्म विभिन्न भागमा एक महिनादेखिनै पहिरो जाने क्रम बढेको र कन्टेनरमा क्षति पुग्दै आएको छ । गत महिना रसुवागढीमा आएको पहिरोले एकैपटक २५ वटा कन्टेनरमा क्षति पुगेको थियो ।
पहिराकै कारण टिमुरे रसुवागढीमा विद्युत् आपूर्ति बन्द भएको छ । जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार ठाडो भीरको पहिरो बढी जोखिमपूर्ण भएकाले सावधानीपुर्वक अवरोध हटाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
निर्माणाधीन रसुवागढी हाइड्रोपावरका अनुसार कच्ची सडकबीचमा रहेको रसुवाको बृदिम गाविस १ फ्यांलुङ पाखाबाट झरेको पहिरोले सडकको सतह पुरी आवतजावतमा समेत अवरोध पुर्याएको छ ।
यसका साथै पासाङल्हामु मार्गको त्रिशूली-धुन्चे सडकखण्डको बीचमा रहेको राम्चेको ठाडेमा सडकमाथिबाट आएको ठूलो ढुंगाका कारण मालबाहक तथा ठूला यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।