साउने रङमा सेलिब्रेटी: व्रत बसेर राम्रो श्रीमान् पाइँदैन

साउने रङमा सेलिब्रेटी: व्रत बसेर राम्रो श्रीमान् पाइँदैन

साउनलाई रंगीन महिना मानिन्छ । साउनको आगमनसँगै वर्षभरिका महत्वपूर्ण चाडवर्षहरू सुरु हुन्छ । सांस्कृतिक, धार्मिक एवं सांगीतिक दृष्टिले पनि साउनको महिमा उच्च छ । मेहन्दी, चुरा, साडी, गरगहनाप्रेमीका लागि त साउन उत्सवको महिना नै मानिन्छ । साउन महिनाको महिमालाई कलाकारले कसरी लिएका छन् त ? केही प्रतिनिधि सेलिब्रेटीको विचार र अनुभव यहाँ प्रस्तुत गरिएको छ:
भगवानसँग केही मागेको छैन
केकी अधिकारी, अभिनेत्री

साउने सोमबारको व्रत बसिराछु । यो महिनाभर शाकाहारी भोजन गर्छु । भगवान्सँग केही माग्नु हुँदैन, भगवान्ले आफैं बुझ्नुहुन्छ रे । त्यसैले केही मागेको छैन । वर्षभरि मासु खाइन्छ, एक महिना भए पनि ‘भेज’ खाना खाँदा ‘गुड फिल’ हुन्छ । ‘फिटनेस’ को लागि पनि राम्रो हुन्छ । साउन महिनाको वातावरण नै राम्रो लाग्छ । सबैतिर हरियाली हुँदा धेरैलाई खुसी देख्छु । महिलामा सुन्दर हुने रहरहरू जागेको देख्छु । यो महिना रहर पूरा गर्ने, खुसी हुने बहाना हो । मलाई पनि मेहन्दी चुरा लगाउन रहर लाग्छ । कलाकार भएदेखि सधैं चलचित्रको छायांकनले गर्दा मेहन्दी लगाउन पाएकी छैन । हरियो चुरा चाहिँ लगाएकी छु ।

व्रत बसेरमात्र राम्रो श्रीमान् पाइँदैन
आस्था राउत, गायिका

अहिलेसम्म व्रत बसेको छैन । व्रत बसेर राम्रो श्रीमान् पाइन्छ भन्ने कुरामा विश्वास लाग्दैन तर अरूको आस्थाको सम्मान गर्छु । बच्चैदेखि ‘टम बोय’ जस्तो थिएँ । सानो छँदा कहिलेकाहीँ मेहन्दी लगाउँथे । बुझ्ने भएपछि हातमा मेहन्दी, चुरा लगाएको छैन । हरियो रङ मन पर्छ । दिदीबहिनीलाई हरियो रङमा देखिनुहुन्छ, रमाइलो लाग्छ । यसपालि दिदीबहिनी जम्मा भएको ठाउँमा मलाई पनि सबैले मेहन्दी लगाउन कर गरे । पाखुरामा मेहन्दीको टाटु बनाएँ । आ आफ्नो आस्था बोकेका महिलालाई धेरै खुसी देख्छु । अरूलाई खुसी देखेर म पनि खुसी हुन्छु । पानी पर्ने भएकाले धूलो कम उड्छ । साउन महिनाको यही विशेषता मन पर्छ । हरियाली मन पर्छ । तर व्यस्तताको कारण त्यस्तो वातावरणमा जाने अवसर मिल्दैन ।

भगवानलाई हेरेर मुसुक्क हाँसे
कोमल वली, गायिका

साउनको पहिलो सोमबार पशुपतिनाथमा तीजको गीत रिलिज गरेँ । व्रत बसेर भगवान्सँग गीत सुपरहिट होस् भन्ने वरदान मागेँ । मेरो गीत हिट त भइहाल्छ तै पनि देवादीदेव महादेवको कृपा रहोस् भनेर भगवान्लाई हेरेर मुसुक्क हाँसे । मेरो गीत हेरेर भगवान् पनि हाँस्नुस् है भनेँ । भगवान्लाई खुसी बनाएँ । व्रत बसेको दिन सधैं पानी टन्न पिउँछु, पूजा गरेर फलफूल खान्छु । त्यसको एक दुई घन्टापछि दूध खान्छु । बाहिर निस्कनुपर्ने जरुरी काम छैन भने दिनभर घरमै बस्छु । दिउँसो पनि फलफूल खान्छु । साँझ पूजा गरेर रोटी खान्छु । मलाई साउन महिना साह्रै मनपर्छ । पानी परेको एकदम मन पर्छ तर छाता कहिल्यै बोक्दिनँ । पानीमा रुझ्न मनपर्छ । व्यस्त भएर हरियो चुरा चाहिँ लगाउन पाएकी छैन ।

शिवजीले वर दिएनन्
दीपाश्री निरौला, अभिनेत्री

अहिलेसम्म व्रत बस्दा शिवजीले मलाई वर नै दिएनन् । त्यसैले यसपालि चलचित्र छक्का पन्जाको लागि व्रत बस्दैछु । बिहान फलफूल र चिया खान्छु । बेलुकी च्याँख्ला खान्छु । साउन एकदम रंगीन महिना जस्तो लाग्छ । यही महिनादेखि रंगीन चाडहरू सुरु हुन्छ । आफू पनि रंगीन बन्न मन लाग्छ । हातमा मेहन्दी, हरियो चुरा लगाउँछु । सधैं खुसी हुने प्रयास गर्छु । खुसी हुने यस्ता बहानाहरू छोड्न मन लाग्दैन । पानी पर्ने भएकाले पनि यो महिना मनपर्छ । पानी परेको बेला लङ्ग ड्राइभ जान मनपर्छ । पानीमा भिज्न उत्तिकै मन पर्छ ।

व्रत बस्न छोडेँ
विनीता बराल, अभिनेत्री


धेरै पहिले एक पटक साउने सोमबारको व्रत बसेकी थिएँ । गाह्रो भएर त्यसपछि व्रत बस्न छोडेँ । पेट खाली भएपछि खसीको मासु र भातमात्र याद आउँछ । व्रत नबसे पनि साउन महिना मनपर्छ । झरी परेको, सबैतिर हरियाली देख्दा मन नै रमाइलो हुन्छ । यसपटक हरियो चुरा लगाएकी छु, मेहन्दी चाहिँ लगाउन भ्याइनँ । यसपालि मेरो पहिलो उपन्यास जुइनोको प्रोमोसनमा हिँडिरहेकी छु । अलि व्यस्त छु । कतै मनपर्ने मान्छेसँग भेट भइहाल्छ कि भनेर यो रमाइलो महिनामा राम्री बनेर हिँड्न मन लाग्छ । अहिले म जुइनोको अशोकसँग प्रेममा परेकी छु । कतै अशोक भेटिएला कि भनेर पनि चिटिक्क परेर हिँड्छु ।

आफ्नै लागि ब्रत बस्छु
रीतु कँडेल, गायिका
साउन महिनाको सोमबार व्रत बस्छु । धेरैले राम्रो श्रीमान् पाऊँ भनेर व्रत बस्छन् तर म चाहिँ आफैंलाई राम्रो होस् भनेर व्रत बस्छु । स्वास्थको ख्याल गर्दै खाली पेट व्रत बस्दिनँ । फलफूल, दूध, पानी खान्छु । यो भगवान् शिवको आराधना गर्ने महिना भएकाले धेरै महिमा हुन्छ र मलाई मन पनि पर्छ । साउन महिनाभरि माछामासु खादिनँ । रंगीन महिना भएकाले रातो, पहेँलो, हरियो लुगा लगाउन मनपर्छ । हातमा मेहन्दी, चुरा लगाएकी छु । यो हाम्रो मौलिक संस्कृति हो । संस्कृति जोगाउँदै चुरा मेहन्दीको व्यापार बढाउन हामीले सहयोग गरेका हुन्छौं ।

साउनमा एकसाइटेड हुन्न
सोम्या बराइली, गायिका

साउन महिनामा एउटा दिनमात्र सेलिब्रेट गर्छु । साउन २२ गते मेरो जन्मदिन भएकाले यो दिन मात्र मेरो लागि विशेष लाग्छ । हुन त जन्मिएको महिना भएकाले साउन यसै पनि मन पर्छ । साउन महिनाको लागि एक्साइटेड हुन्न । तर व्रत बस्ने, मेहन्दी, चुरा लगाउने कुरामा कुनै रुचि छैन । यसरी मनाएको पनि छैन । तर अरु ब्रत बसेको, मेहन्दी, चुरा लगाएर झिलिमिली भएको देख्दा चाहिँ रमाइलो लाग्छ । तीजको आयो भनेर रमाइलो पनि लाग्दैन ।

झरी एकदम मनपर्छ
प्रविशा अधिकारी, गायिका
यसपालि व्रत बसेको बसिनँ । साउन महिना चाहिँ धेरै मनपर्छ । यो महिना सुरु हुनासाथ मेहन्दी, हरियो चुरा, रातो, हरियो पहेँलो लुगा लगाउनाले रंगीन लाग्छ । यस पटक चुरा लगाएको छैन । मेहन्दी चाहिँ लगाएँ । भगवान् शिवको आराधना सँगै तीज आएको संकेत यो महिनाले गर्छ । नेपाली हिन्दु नारीहरूको लागि सबभन्दा रमाइलो चाड तीज नै हो भने पनि हुन्छ । यसपालि केही अगाडिदेखि नै पानी परिरहेको छ । मलाई झरी एकदम मनपर्छ । चारैतिर हरियाली देख्दा आनन्द आउँछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.