अभिनेत्री केकी भइन् दीक्षित (फोटोफिचर)

अभिनेत्री केकी भइन् दीक्षित (फोटोफिचर)

काठमाडौँ: चर्चित अभिनेत्री केकी अधिकारीले एमबीएमा ग्रयाजुएसन लिएकी छन् । छोटो समयमा नेपाली चलचित्र क्षेत्रमा उत्कृष्ट अभिनेत्री बनेकी अधिकारी व्यवस्थापन विषयमा एमबीए गर्दै दीक्षित भएकी हुन् ।

राजधानीको अनामनगरस्थित प्रेसिडेन्सल कलेजबाट उच्चशिक्षा हासिल गरेकी केकीले उपराष्ट्रपति नन्दबहादुर पुनबाट ग्रायाजुएसनको प्रमाणपत्र लिएकी हुन्।

व्यवस्थापन विषयमा पहिलादेखि नै रुची भएकाले यो विषय पढेको केकीले बताइन । दीक्षित भएपछि अन्नपूर्ण अनलाइनसँग खुसी साट्दै केकीले भनिन्, ‘मेरी आमा मैले उच्चशिक्षा हासिल गरेको हेर्न चाहनुहुन्थ्यो, मैले आमाको सपना पूरा गरेकी छु र मेरो रुचीको विषयमा उच्चशिक्षा हासिल गर्दा खुशी छु ।’

केकीले दीक्षान्त समारोहमा करिब १० मिनेट लामो मन्तव्य समेत दिएकी छन् । केकीको मन्तव्य अवधिभर दीक्षान्त समारोह शान्त बनेको थियो । मन्तव्य राख्न पाउदाको खुशी साट्दै केकीले भनिन्, ‘मेरो मन्तव्य सुनेर सबैले प्रशंसा गर्नुभएको छ । कलाकारीतासँगै उच्च शिक्षाको प्रमाणपत्र पाउँदा हर्षित छु ।’

आजको आफ्नो मन्तव्यले कलाकार बोल्न जान्दैनन् भन्ने भ्रम चिरिएको समेत केकीले सुनाइन् । मन्तव्यका क्रममा केकीले कोशिस गर्नेहरु कहिल्यै नहार्ने कुरालाई पटकपटक दोहोर्याएकी छन् ।  

दीक्षान्तमा केकीको मन्तव्य
आज यो दिन छ, म जीवनको पहिलो ग्य्राजुएसन मन्तव्य दिँदै छु। थोरै नर्भस् छु, अलि–अलि उत्साहि छु। केही दिनहरु यस्ता पनि थिए, मेरो परिवारको विषम आर्थिक परिस्थिति सार्वजनिक चासोको विषय बन्न पुग्यो।

नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री हुँ मैले त्यसलाई अस्वाभाविक रुपमा लिइन । त्यतिबेला नै मैले भनेको थिएँ भौतिक सम्पत्ति गुमाएँ हुँला तर शून्य बाट शुरु गरेर अनन्त सम्म पुग्ने आत्मविश्वास गुमाएकी छैन। थोरै आँसु, धेरै संघर्ष र बल्ने निभ्ने आशाको किरणबीच म र मेरो परिवार ती विषम परिस्थितिहरु पार गर्दै हाम्रो जीवनको नयाँ अध्याय शुरु गर्न तयार भएका छौँ। त्यतिबेला भयावह लाग्ने ती परिस्थितिहरुकाबीच पनि मैले मेरा संघर्षहरु छाडिन किनकी मलाई थाहा थियो–कोशिस गर्नेहरुको कहिल्यै हार हुँदैन।

आज यो दिन छ, म मुस्कुराएर तपाईंहरु सबैसँग खुशी साटिरहेको छु। केही दिनहरु यस्ता पनि थिए। प्रकृति बलवान भइदिदा ८००० भन्दा बढि मानिसहरुले आफ्नो ज्यान गुमाए। हजारौँ घाइते भए लाखौँ मानिसहरु घरबार बिहिन भए। खरबौँ रुपैँयाको भौतिक सम्पत्ति तहसनहस भयो । त्यहि साँझ त्रिभूवन विश्वविद्यालयको शिक्षण अस्पताल बाहिर म स्वयंसेवीको रुपमा परिचालित थिएँ। र त्यसपछिका हप्ताहरुमा केही साथीहरुसंग मिलेर आफ्नै गोजीको थोरै पैसा संकलन गरेर जीवनजल, चाउचाउको बाकस र केही बोरा चामल लिएर म राहत वितरणको लागि गाँऊहरुमा पुगेँ। फर्किँदा एकप्रकारको डर थियो, आवश्यकता विकराल थियो हामी सँग स्रोत भने निकै कम। कसरी यो अभियानलाई निरन्तरता दिने होला ? तर, मैले त्यतिबेला पनि आत्मविश्वास गुमाईन। पछि त्यहि अभियानमा देशविदेशका धेरै नेपाली जोडिनु भयो।

हामीले ७०० भन्दा बढी अस्थायी टहराहरु निर्माण गर्यौँ। केही विद्यालयहरु पुनर्निर्माण गर्यौँ। थोरै भएपनि अनुहारहरुमा मुस्कान छर्यौँ। त्यतिबेला नेपालका लाखौँ युवा स्वतस्फूर्त गाउँगाँउमा पुग्नु भयो। सिमीत स्रोत र साधनका बावजूद राष्ट्रप्रतिको नागरिक उत्तरदायित्वको परीक्षामा हामी सबै नेपाली युवाहरुले ग्र्याजुएशन गर्यौँ। किनकि मलाई जस्तै सबै नेपाली युवालाई थाहा थियो–कोशिस गर्नेहरुको कहिल्यै हार हुँदैन।

आज यो दिन छ। म मेरो र मेरो पुस्ताको संघर्षका कथाहरु भनेरै थाक्दिन। भविष्यमा केहि दिनहरु यस्ता पनि आउने छन्। कक्षा कोठाका परिधिहरु भन्दा बाहिर वास्तविक संसारमा दिन प्रतिदिन सामना गर्नुपर्ने कठिनाईहरुले हामीलाई आजित बनाउन सक्छ। जीवन हामीले बुनेका सपनाहरु जस्तो सरल र हाम्रा ईच्छाहरु जस्तो मिठो नहुन पनि सक्छ। तर जीवन हामीले गर्ने संघर्ष र परिश्रम भन्दा फरक र जटिल कहिल्यै हुन सक्दैन किनकी– कोशिस गर्नेहरुको कहिल्यै हार हुँदैन।

आखिर, हामीलाई प्रेरित गर्ने आधुनिक समाजका हरेक कथाहरुका सार यी पंक्तिका भाव भन्दा फरक पनि त छैन। चाहे त्यो अनुराधा कोइरालाको कथा होस् वा महावीर पुन, डाक्टर सन्दुक रूईतका कथा होस् वा पुष्पा बस्नेत का।  चाहे कथा डाक्टर गोविन्द केसी कै किन नहोस् यी सबै प्रेरणादायी कथाहरुले एउटै सार भन्छ–कोशिस गर्नेहरुको कहिल्यै हार हुँदैन।

तीन बर्ष अगाडि यस्तै कोशिसले हामीलाई प्रेसिडेंसियल कलेजको कक्षा कोठासम्म ल्याईपुर्याएको थियो। त्यसपछि हामी सबैको सामूहिक कोशिसले हाम्रो ज्ञान र चेतनाको स्तर थप फराकिलो भएको छ।

अब भविष्यमा गरिने कोशिसहरुले हामीले आफ्नो ब्यक्तिगत लक्ष्यहरु हासिल गर्ने छौँ। यी कोशिसहरु नहार्न को लागि मात्र हुनेछैन। हाम्रा कोशिस हामी भित्रकै असल हामी सँग परिचित गराउने माध्यम पनि बन्ने छ। आफु भित्रकै असल आफुसँग परिचित हुन पाउनु भन्दा ठूलो अरु के नै सफलता हुन सक्छ र ? तपाँईहरु सबैलाई र म आफैलाई पनि यीनै यस्तै सफलताहरुको निम्ति अग्रिम शुभकामना दिन चाहन्छु। आजको दिन र भोलिको भविष्य सुखमय होस्, कोशिसमय होस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.