चेपाङले मागे छुट्टै प्रदेश
हेटौंडाः देशभर राज्य पुनर्संरचनाको बहस चलिरहँदा सीमान्तकृत चेपाङ समुदायले भने छुट्टै प्रदेशको माग गरेका छन् । नेपाल चेपाङ संघकी केन्द्रीय उपाध्यक्ष सुनीमाया चेपाङले भनिन्, ‘चेपाङहरूको छुट्टै प्रदेश नहुने हो भने राज्यमा हाम्रो उपस्थिति कहिल्यै नहुने भयो ।'
उनले भनिन्, ‘त्यसैले मकवानपुर, चितवन र धादिङ जिल्लाका चेपाङ बाहुल्य क्षेत्रलाई समेटेर छुट्टै प्रदेशको माग गरेका हौं ।'
स्वायत्त, विशेष वा संरक्षित क्षेत्र घोषणा गरी प्रदेश निर्माण गरिदिन संघले माग गरेको चेपाङले बताइन् । ‘संघले केन्द्रमा प्रमुख राजनीतिक पार्टी र जिल्लामा क्रियाशील राजनीतिक दल तथा अन्य सरोकारवालासँग छलफल गर्ने तयारी गरेका छौं', उनले भनिन् ।
राज्य पुनर्संरचना आयोगको हालको मापदण्डअनुसार एउटा जिल्लाभित्र एउटै जातिको ५१ प्रतिशत जनसंख्या रहेमा स्वायत्त प्रदेश बनाउन सकिनेछ । पूर्वसभासद् गोविन्द चेपाङले अहिलेको मापदण्डअनुसार चेपाङहरूले आफ्नो समुदायको विकास र राज्यमा प्रतिनिधित्वका लागि सधैं अन्य जाति र समुदायमा निर्भर रहनुपर्ने बताए ।
‘त्यसैले हामीले अहिलेको मापदण्ड परिमार्जन गरी तीन जिल्लाका चेपाङ बाहुल्य क्षेत्रलाई समेटेर चेपाङ प्रदेश निर्माणको माग गरेका हौं', उनले भने ।
तीन नम्बर प्रदेशका विभिन्न गाउँपालिकामा गाभिँदा आफ्नो जातिको भाषा, संस्कृति र पहिचान लोप हुनेमा चेपाङ समुदायको चिन्ता छ ।
‘गरिबीको रेखामुनि रहेको चेपाङ समुदाय शिक्षा र स्वास्थ्यमा पनि पछाडि छ', नेपाल चेपाङ संघ मकवानपुरका निवर्तमान अध्यक्ष सन्त चेपाङले भने, ‘चेपाङ समुदायको छुट्टै प्रदेश नहुने हो भने भाषा, संस्कृति र पहिचान पनि लोप भएर जान्छ ।'
तीन नम्बर प्रदेशमा करिब ५५ हजार चेपाङ समुदायको बसोबास रहेको संघले जनाएको छ । मकवानपुरका काँकडा, राक्सिराङ, खैराङ, भार्ता, चितवनका कोराक, सिद्धि, काउले, चण्डीभन्ज्याङ, दाह्रेचोक र धादिङका पिँडा, जोगीमारा, गजुरी गाविसलाई समेटेर चेपाङ प्रदेश निर्माण गर्न संघको माग छ ।