इटालीमा केही दिन
इटालीमा आयोजित १९९० को विश्वकपदेखि ‘विश्वकप फुटबल' र ‘युरो फुटबल'का अधिकांश खेल हेर्न छुटाएको छैन । विश्वकप र युरो दुवैमा म इटालीकै समर्थक हुँ । तर, इटालियन पिज्जा र पास्ता भने उति मन पर्दैन । त्यही इटाली जाने मौका मिल्यो केही साताअघि ।
रोममा हुने स्त्री तथा प्रसूति रोग विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संस्था (फिगो)को विश्वव्यापी सम्मेलनमा ‘प्रसवोत्तर हुने अधिक रक्तस्राव’सम्बन्धी कार्यपत्र प्रस्तुत गर्न अप्रिलतिरै ईमेल पाएपछि इटाली जाने मोटामोटी निश्चित भयो । यस क्रममा भिसाका लागि २०१२ अगस्ट १७ मा लैनचौरस्थित फ्रान्सेली राजदूतावासमा गएँ । युरोपमा कहाँ बस्ने, बिमा गरे नगरेको, यहाँ बैंक ब्यालेन्स कति छ, सम्बन्धित ठाउँबाट आधिकारिक निमन्त्रणा छ छैन लगायतका सबै प्रमाण जुटाएँ । यस कार्यमा बेल्जियममा रहेका चिनियाँ लाल दुवालले धेरै सहयोग गर्नुभयो ।
इटालीपछि बेल्जियम पनि घुम्न जान चाहन्थेँ । इटालीमा भन्दा बेल्जियममा मेरो बसाइ लामो देखिएका कारण जर्मनी राजदूतावासबाट भिसा कार्य अघि बढाउन भनियो । भिसाका निम्ति गर्नु परेको दुःख सम्झिँदा अहिले पनि रिस उठ्छ ।
५ अक्टोबरका दिन इटालीको रोम जान बिहान ९ः३० को उडान थियो । घरमा बिदा लिई एअरपोर्ट पुगेँ । काठमाडौंबाट प्लेन एक घन्टा ढिलो उडेका कारण दोहामा कनेक्टिङ फ्लाइट लिन हतारिनु पर्यो । दोहासम्मको फ्लाइटमा जिरेखुर्सानी हास्य सिरियलका किरण (रातामकै) र शिवहरि पौडेल (मुखमा हानूँजस्तो) पनि सँगै थिए । कतार एअरवेजबाट दोहा हुँदै रोमको फ्लुमिचिनो एअरपोर्टमा ओर्लंदा त्यहाँको ७ बज्न लागेको थियो । रोममा बस्न होस्टेल मिलाइसकेको थिएँ । रातिको समय एअरपोर्टबाट होस्टेलसम्म पुग्न अल्मलिने डरले मन ढक्क फुल्यो । तर पहिले पेरिसमा मेट्रो चढेको अनुभव काम लाग्यो ।
६ अक्टोबर शनिबारका दिन बिहान एकैछिन टहलिन निस्केँ । १० बजेतिर एक्लै रोम घुम्न निस्किएँ । ३ दिनका लागि मेट्रोका लागि टिकट काटेँ । रोमको पर्यायजस्तै रहेको कोलोसियममा पुगेपछि मनै हौसियो । त्यसपछि त क्यामेराले फुर्सदै पाएन । क्लिक्क... क्लिक्क... क्लिक्क । रोममा कहाँ जाने के हेर्ने मेसो नपाएका कारण रोम सहरका मुख्यमुख्य ठाउँ घुमाउने ओपन टुर बसमा बसेर रोम घुम्नुको विकल्प रहेन । कोलोसियोमपछि सर्को म्यासिमो हुँदै पियज्जा भेनेनिया, स्पेनिस स्टेप, सान पियाट्रो, ट्रेभी फाउन्टेन सबैतिर घुमेँ । यसमध्ये पियज्जा भेनेजियामा रहेको इटालीका पहिलो राजा भिट्टोरियो इम्मानुयलको दरबारको कौसीमा लिफ्टमार्फत गएँ । कौसीमा पुगी रोमको टाढाटाढासम्मको भूभागमा नजर डुलाउँदा साँढे दुई वर्षअगाडि पेरिसको इफेल टावरबाट चारैतिरको दृश्य हेरेको सम्झना आयो ।
७ अक्टोबर आइतबारका दिनदेखि फिगोको सम्मेलन सुरु हुने थियो । सम्मेलनपूर्वको तालिममा भाग लिन टोर भर्गाटा युनिभर्सिटी हस्पिटल पुग्नु थियो । यसका लागि प्रस्टसँग ठेगाना दिइएको थिएन तैपनि म बसेको होस्टेलबाट दुईतीनवटा मेट्रो चढी टर्मिनी हँुदै अन्तिम गन्तव्य एनान्गिनामा ओर्लिएपछि उक्त अस्पतालमा पुग्न १०६ नम्बरको सिटी बस लिनुपर्ने थाहा भयो । एकजना बंगलादेशीको सहयोगमा बस चढेर कार्यक्रमस्थल पुग्दा साढे १० भइसकेको थियो । कार्यक्रमचाहिँ ८ बजे नै सुरु हुने थाहा थियो । त्यहाँ मेरा अमेरिकी सहकर्मीहरू डा. मार्क र न्यान्सीसँग भेट भयो । विगत एक वर्षदेखि प्रसवोत्तर हुने अधिक रक्तस्रावसम्बन्धी विषयमा हामीले सँगै काम गरेका थियौं । र त्यही कामको नतिजा अनि अनुभव प्रस्तुत गर्न रोम आएका थियौं ।
कार्यक्रम सकी करिब ४ बजेतिर त्यहाँबाट मुख्य कार्यक्रमस्थल फ्लुमिचिनो एअरपोर्ट नजिकैको फिएरा डी रोमा पुग्दा सम्मेलनका लागि नामांकन गर्ने र झोलालगायतका सामान लिने क्रम चलिसकेको रहेछ । मलाई उक्त नामांकन थलो हेर्दा ओलम्पिक खेलस्थलको याद आयो । विश्वभरिका स्त्रीरोग विशेषज्ञ आआफ्ना देशको पहिरनसहित आएका कारण बेग्लै अनुभूति भयो । उद्घाटन कार्यक्रम साढे ६ बजेमात्र सुरु हुने कारण बस्ने नबस्ने दोमन भयो । मार्क र न्यान्सीसँगै म पनि उद्घाटनस्थल छाडी होस्टलमा आएँ ।
८ अक्टोबरका दिन मेरो कार्यपत्र प्रस्तुत गर्ने पालो थियो । नेपालबाट आउनुभएकी मेरी गुरुआमा डा. आश्मा रानाको प्रस्तुतिमा सहभागी हुन चाहे पनि ढिलो भयो । मैले प्रस्तुति दिने हल खोज्दै जाँदा मेरो प्रस्तुति भएको सेसन सुरु भइसकेको रहेछ र मेरो पालो पनि आउनै लागेको रहेछ । घडी हेरेँ, किन चाँडै सुरु गरेको होला भन्ने लाग्यो । पालो आएपछि कार्यपत्र प्रस्तुत गरेँ । विशेषतः विकासोन्मुख देशका स्त्रीरोग विशेषज्ञहरूले उनीहरूका लागि मेरो कार्य उपयोगी हुने धारणा राखे । कार्यक्रम सकेपछि किन समय मिलाउन सकिनँ भनी सोधखोज गर्दा मेरो घडी एक घन्टा ढिलो भएको चाल पाएँ । अनि पो झन्डै मेरो प्रस्तुति छुटेको भन्ने चाल पाएँ ।
सम्मेलनस्थलबाहिर आउँदा मणिपाल युनिभर्सिटीकी मेरी प्रोफेसर म्याडम डा. लावण्य राईसँग वर्षौंपछि भेट भयो । उहाँसँग फोटो खिचेँ । कतिपय नेपाली स्त्रीरोग विशेषज्ञसँग पनि भेट भयो । मार्क र न्यान्सीसँगै उहाँहरू बस्नुभएको होटल एबरडिनमा आयौं । र, टार्गेट नामको होटलमा गई पिजालगायत ठेट इटालियन खाना खायौं । रिपब्लिकाबाट टर्मिनी आई त्यहाँबाट गार्बाटेल्लातिरको मेट्रो चढी मेरो बासस्थाननजिकैको ब्यासिलिका सान पाउलोमा आएँ ।
९ अक्टोबर, मार्क र न्यान्सीसँग गरिएको हिजोको योजनामुताबिक म फेरि होटल एबरडिनमा आएँ । बिल मेलिन्डा गेट्स फाउन्डेसनमा प्रसवोत्तर हुने अधिक रक्तस्राव सम्बन्धमा राख्ने आगामी प्रस्तावको अन्तिम चरणका कामहरू गर्न थाल्यौं । रोमजस्तो सहरमा दिनभरि कम्प्युटर अनि कागजमा घोत्लिन पर्दा नरमाइलो लाग्यो ।
१० अक्टोबर, आज ढिलो उठियो । फ्लोरेन्स जाने योजना थियो तर भोलिमात्र जाने भएँ । यसै कारण एक्कासि फुर्सदिलो भएँ । फिगोको सम्मेलनस्थलमा गएँ । आज हामीले गरेको काम अर्थात् प्रसवोत्तर हुने अधिक रक्तस्रावसम्बन्धी पोस्टर प्रस्तुत गर्ने कार्यक्रम थियो । हिजो न्यान्सीहरूलाई म आज फ्लोरेन्स जाँदैछु भनेको थिएँ । मेरो यो परिवर्तित निर्णय न्यान्सीहरूलाई थाहा थिएन । म कार्यक्रमस्थल पुग्दा उहाँहरू पोस्टर टाँसेर गइसक्नुभएको रहेछ । पोस्टरको चारपाँचवटा फोटो खिचेँ । एकाध प्रस्तुति सुनेँ । मेडिकल प्रदर्शनी हेरेँ । उपहारस्वरूप थुप्रै डटपेन, पेन ड्राइभहरू पाएँ । सम्मेलनस्थलबाहिर निस्कँदा डा. चन्दा कार्कीसँग भेट भयो र रोम सहर घुम्न जाने निर्णय भयो ।
इटाली आउनु केही दिनअगाडि एक नेपाली राष्ट्रिय दैनिकमा ट्रेभी फाउन्टेनको फोटो छापिएको थियो र त्यो फोटो हेर्दै मेरो छोरा वसन्तले त्यहाँ जान नछुटाउनु भनेका थिए । ट्रेभी फाउन्टेनमा उल्टो फर्की सिक्का चढाए रोम सहरमा फेरि आउन पाउने सुनेका कारण त्यतै जाने निधो भयो । साथै पाप र धर्म छुट्याउने मूर्ति भएको ठाउँमा पनि । सर्को म्यासिमोका सडक नाप्दै ती ठाउँतिर लाग्यौं । ती ठाउँ घुमी एक्लै होस्टलमा फर्किएँ । बेल्जियममा रहेका चिनियाँ लाल दुवालको सहयोगमा १४ अक्टोबरमा इटालीबाट बेल्जियम जान रायन एअरको टिकट कन्फर्म गरियो ।
११ अक्टोबरमा पिसा टावर, फ्लोरेन्स अनि १२ तारिखमा भेनिस यात्रालगायत इटालीका अलावा बेल्जियम, नेदरल्यान्ड, जर्मनी, लक्जम्बर्ग अनि बेलायतको यात्रा गरी नेपाल फर्किएँ ।