मेसीलाई पछ्याउँदै अर्जेन्टिनी फुटबल प्रमुख
एजेन्सीः राष्ट्रिय टोलीबाट नखेल्ने निर्णय सार्वजनिक गरेका स्ट्राइकर लियोनल मेसीलाई फकाउन अर्जेन्टिनी फुटबल संघका कार्यवाहक प्रमुख अर्मान्डो पेरेज स्पेन जाने भएका छन् ।
अर्जेन्टिनी सञ्चारमाध्यमहरूले जनाएअनुसार कार्यकारी प्रमुख पेरेजसहितको टोलीले स्पेनमा मेसीलाई भेटी निर्णय फिर्ता लिन दबाब दिनेछन् । मेसी स्पेनिस क्लब बार्सिलोनाबाट क्लब फुटबल खेल्ने गर्छन् ।
गत महिना अमेरिकामा भएको कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा आफ्नो देश अर्जेन्टिना चिलीसँग टाइब्रेकरमा पराजित भए लगत्तै मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका थिए ।
पछिल्लो तीन वर्षमा अर्जेन्टिनालाई आफ्नो कप्तानीमा विश्वकपसहित तीन ठूला प्रतियोगिताको फाइनलमा पु¥याए पनि उपाधि दिलाउन नसकेपछि मेसीले राष्ट्रिय टोली त्यागेको घोषणा गरेका थिए ।
कार्यबहाक प्रमुख पेरेजले स्पेनमा मेसीसँग भेट गर्ने तय भइसकेको बताएका छन् । ‘मैले लियोका पितास“ग कुरा गरिसकेको छु र अर्काे साता मेसीलाई स्पेनमा भेट्ने सहमति भएको छ’, पेरेजले भनेका छन् ।
पेरेजले आफूले मेसीलाई सन् २०१८ को विश्वकप छनोट प्रतियोगितामै अर्जेन्टिनाका लागि खेल्नका लागि मनाउने कोसिस गर्ने बताएका छन् । पेरेज अर्जेन्टिनी फुटबल संघको नर्मलाइज्ड कमिटीका कार्यवाहक प्रमुख हुन् ।
पाँचपटकका फिफा विश्व वर्ष खेलाडी घोषित मेसी अहिले आफ्नो क्लब बार्सिलोनाको ‘प्री सिजन’ तयारीका लागि फर्किसकेका छन् । मेसीलाई निर्णय फिर्ता लिन यसअघि अर्जेन्टिनी राष्ट्रपति माउरिसियो माक्री तथा महान् फुटबलर डिएगो म्याराडोनाले समेत अनुरोध गरेका थिए ।
यस्तै मेसीका हजाराँ समर्थकले पनि उनलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरिरहेका छन् । तर मेसीले अहिलेसम्म त्यस सम्बन्धमा आफ्नो कुनै धारणा सार्वजनिक गरेका छैनन् । मेसीले अन्तर्राष्ट्रिय फुटबलमा फर्कने सम्भावना सकिएको बताउँदै आएका छन् । उनी अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।