प्रधानमन्त्री चयनका लागि आज बहुमतीयको आह्वान
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्न सोमबार आह्वान गर्ने भएकी छन् । उनले संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचन गर्न आह्वान गर्न लागेकी हुन् ।
प्रधानमन्त्री केपी ओलीले साउन ९ गते पदबाट राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले गत सोमबार संविधानको धारा २९८ को उपधारा २ अनुसार सात दिनभित्र सहमतीय सरकार गठनका लागि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेकी थिइन् । राष्ट्रपतिले दिएको सात दिनभित्र सहमतीय सरकार गठन हुन नसकेपछि अब संसद्मा प्रधानमन्त्रीको निर्वाचन हुनेछ ।
राष्ट्रपतिले सोमबार सभामुख ओनसरी घर्तीलाई पत्र पठाई बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न आह्वान गर्नेछिन् । संसद्मा राष्ट्रपतिको पत्र आएपछि सोमबार अपराह्न ३ बजे संसद् बैठकमार्फत सभामुखले बहुमतीय आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्न संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा समिति गठन गरेको जानकारी दिनेछिन् ।
संसद् सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री निर्वाचन समितिका संयोजक भट्टराईले आगामी मंगलबार उम्मेदवारी दर्ता र बुधबार प्रधानमन्त्रीको निर्वाचन गर्न कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेका छन् ।
यसैबीच राष्ट्रपति भण्डारीले सहमतीय सरकार गठनका लागि फेरि पनि मौखिक आग्रह गरेकी छन् । सहमतीय सरकार गठनका लागि तोकिएको समयसीमा आइतबार राति ११ बजेबाट सकिन लाग्दा उनले आइतबार दिउँसो प्रमुख दलका नेतालाई शीतल निवासमा बोलाई सहमतीय सरकार गठनका लागि अझै पनि प्रयास गर्न आग्रह गरेकी हुन् ।
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार शीतल निवास पुगेका थिए । भेटमा नेताहरूले सहमतिको सरकार गठनका लागि भइरहेका प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । सहमतीय सरकार गठनका लागि सम्भावना कम हुँदै गएकाले बहुमतीय प्रक्रिया अघि बढाउन नेताहरूले राष्ट्रपतिलाई आग्रह गरेका थिए ।
राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार भेषराज अधिकारीले राष्ट्रपति भण्डारीले सहमतीय सरकारका लागि अझै प्रयास गर्न प्रमुख दलका नेतालाई मौखिक आग्रह गरेको बताए । उनले भने, 'राष्ट्रपतिले सोमबार बिहान १२ बजेसम्ममा बहुमतीय प्रक्रियाका लागि आह्वान गर्नुहुनेछ ।'
भेटमा माओवादी केन्द्रका अध्यक्ष दाहालले आफूले सहमतीय सरकार गठनका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, एमालेका शीर्ष नेता माधव नेपाल, झलनाथ खनाल, राप्रपा नेपालका अध्यक्ष थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलगायतसँग छलफल गरे पनि सहमतीय सरकार बनाउन सफल नभएको बताएका थिए ।
कांग्रेस सभापति देउवाले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्भावना सकिएकाले बहुमतीय प्रक्रियाका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरिएको जानकारी दिए । फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले भेटमा सहमतिको प्रयासका लागि भइरहेको प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराइएको बताए ।
माओवादी अध्यक्ष दाहालका पक्षमा कांग्रेस, मधेसी मोर्चा, फोरम लोकतान्त्रिक, राप्रपा, नेकपा संयुक्त, अखण्ड नेपाल पार्टी, दलित जनजाति पार्टीलगायतका दल छन् । त्यस्तै प्रधानमन्त्री ओलीका पक्षमा राप्रपा नेपाल, माले, राष्ट्रिय जनमोर्चा नेपाल, परिवार दललगायत छन् ।