पाइलटको गल्तीका कारण तारा एयर दुर्घटना

पाइलटको गल्तीका कारण तारा एयर दुर्घटना

काठमाडौं: गत फागुन १२ गते पोखराबाट जोमसोम जाँदै गर्दा म्याग्दीको सोलिखोप्टेभीरमा तारा एयरको जहाज दुर्घटना हुनुको कारण पाइलटको गल्ती औंल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा बनेको तारा एयर दुर्घटना जाँच आयोगले आइतबार पर्यटनमन्त्रीलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटिका कारण दुर्घटना भएको ठहर गरिएको छ ।

पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेललाई दलीको अध्यक्षतामा बनेको पाँच सदस्यीय टोलीले यो प्रतिवदेन बुझाएको हो । यो प्रतिवेदन तयार पार्न तीन महिनाको समय सीमा दिइएको भए पनि आयोगले पाँच महिना खर्चिएर तयार पारेको हो । प्रतिदेनले चालकदलले बादलभित्र उडान गराएको र आफ्नो हवाई रुट भुलेका कारण दुर्घटना हुन पुगेको तथ्य औंल्याएको अध्यक्ष दलीले जानकारी दिए ।

चालक दलले बादलभित्र पसिसकेको जहाज जमिन नजिक पुग्दा चेतावनी दिने प्रविधि ग्राउन्ड पोक्र्सिमिटी वार्निङ सिस्टम (जीपीडब्ल्यूएस) को चेतावनीलाई बेवास्ता गरेका कारण जहाजको तल्लो भाग पहाडमा धसिएर दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ । 'चालक दलले जमिन नजिक पुग्दा पुलअप पुलअपको वार्निङलाई पूर्ण रूपले बेवास्ता गरको फेला परेको छ', दलीले भने ।

उनका अनुसार यही गल्तीका कारण एकपछि अर्को गल्ती दोहोरिँदै गएर जहाज दुर्घटनामा परेको तथ्य ककपिट भ्वाइस रेकर्डले देखाएको छ । पहाडअगाडि आउँदा अपनाउनुपर्ने सावधानीलाई पनि बेवास्ता गरेको दाबी प्रतिवेदनले देखाएको छ ।

 

तारा एयरको अत्याधुनिक प्रविधिको ९ एन एएचएच कलसाइनको भाइकिङ नामक ट्विनअटर जहाज दुर्घटनाको प्रमुख कारण बादलभित्र प्रवेश गरेको हुन पुगेको आयोगका सदस्यसचिव तथा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । यो जहाजले घोडेपानी पार गरेपछि आफ्नो रुट छोडिसकेको थियो ।

बाटो बिराएको यो जहाज कालीगण्डकीलाई दाहिने पारेर जानुपर्नेमा बायाँ पारेर जानु नै गलत भएको थियो । जहाज उडाउने क्याप्टेन तथा कोपाइलटले नर्मल ट्र्याक छोडिसकेको जहाजमा आएको जीपीआरएस वार्निङलाई गरेको बेवास्ता नै दुःखद दुर्घटनाको कारणमा परिणत भएको आचार्यको बुझाइ छ ।

'यो जहाज दुर्घटना हुनुभन्दा एक मिनेट १५ सेकेन्डअगाडि मात्रै क्याप्टेनको कमान्डमा आएको देखिएको छ ', आचार्यले भने । कोपाइलटले जहाज कमान्ड गर्नु नै नहुने भन्ने त होइन तर 'क्रिटिकल वेदर' भएकाले जहाज पाइलटले नै कमान्ड गरेर जानुपर्ने बुझाइ आचार्यको छ ।

जहाज दुर्घटना पर्नुको कारण खराब मौसम हुनु, चालक दलले बाटो बिराउनु र पहिरोको भ्रम देख्नु, प्राविधिक स्रोतको भरपूर उपयोग हुन नसक्नु हो भनेर उल्लेख गरिएको छ । चालकदल सचेत भएर उडान नगर्नु, घोडेपानीबाटै फर्कनुपर्ने जहाज तातोपानी भन्ने ठाउँमा जान खोज्नु तथा आँखाले हेरेर गर्नुपर्ने उडान प्रविधि मेन्टेन नगर्नुले जहाज बादलभित्र छिरेर पहाडमा धसिएको उल्लेख छ ।

दुर्घटना जाँच आयोगका सदस्य तथा सिम्रिक एयरलाइन्सका इन्जिनियर रामप्रसाद कोइरालाका अनुसार जहाजमा आधुनिक प्रविधि भएरमात्रै हुँदैन त्यसको भरपूर उपयोग पनि हुनुपर्छ । जहाजमा भएको आधुनिक प्रविधिले मात्रै जहाजलाई बचाउन नसक्ने उनको बुझाइ छ । जहाज नयाँ–पुरानो भएर फरक पर्ने होइन प्रविधिलाई भरपूर उपयोग गर्न नसक्दा पनि जहाज दुर्घटना भएको पाइएको कोइरालाले जानकारी दिए ।

जाँच आयोगका अर्का सदस्य तथा नेपाल वायुसेवा निगमका क्याप्टेन श्रवण रिजालका अनुसार गल्ती सुधार नहुँदा जहाज दुर्घटनामा परेको देखिएको छ । रिजालका अनुसार यो जहाज घोडेपानी पुगेपछि एक मिनेट पाँच सेकेन्ड अगाडि जीपीडब्लूएसले देखिएको चेतावनी नमान्दा भएको गल्ती र त्यसपछि दोहोरिएको गल्तीले जहाज दुर्घटना भएको पाइएको छ । दुर्घटना जाँच आयोगकै अर्का सदस्य दीपक बास्तोलका अनुसार ८० प्रतिशत जहाज दुर्घटना मानवीय त्रुटिले नै हुने गरेको प्रतिवेदनले देखाएका छन् ।

यो जहाज ताराले २०७० साउन २९ मा नेपाल भित्र्याउनुभन्दा ३ महिना अगाडि मात्रै निर्माण भएको हो । आधुनिक प्रविधिको नयाँ जहाज भित्र्याएर ताराले चार सय ८२ वटा मात्रै उडान गरेको थियो । पाइलट रोशन मानन्धर र कोपाइलट डिकेश नम्कुनले उडाएको यो जहाज दुर्घटनामा सवार सबैको निधन भएको थियो । जहाजमा दुईजना विदेशी र दुईबालकसहित २३ जना सवार थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.