११ न्यायाधीशले सपथ लिएर आजैदेखि कार्यभार सम्हाल्ने

११ न्यायाधीशले सपथ लिएर आजैदेखि कार्यभार सम्हाल्ने

काठमाडौं: सर्वोच्च अदालतका लागि अनुमोदित ११ न्यायाधीशको सोमबार सपथ ग्रहण हुँदैछ ।

संसदीय सुनुवाइ विशेष समितिले नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरेको सिफारिस गरेका न्यायाधीशलाई राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीश सुशीला कार्कीले सपथ गराउने कार्यक्रम रहेको छ । सपथग्रहणपछि न्यायाधीशहरुले सोमबारबाटै आफ्नो कार्यभार सम्हाल्नेछन् ।

सिफारिस न्यायाधीशको मर्यादाक्रममा प्रश्न

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस न्यायाधीशको मर्यादाक्रममा प्रश्न उठाउँदै नियुक्तिका लागि अनुमोदन गरेको छ । समितिले न्यायाधीशको सिफारिस मर्यादाक्रमअनुसार नभएको भन्दै न्याय परिषद्को गम्भीर ध्यानाकर्षण गरेको हो ।

समितिले परिषद्को ध्यानाकर्षणसहित सबैको नाम सर्वसम्मतिले नियुक्तिका लागि अनुमोदन गरेको छ । उक्त निर्णयअनुरूप न्यायाधीशमा सिफारिस गरिएका दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ललाई न्यायाधीशमा अनुमोदन गरिएको छ । उनीहरू सबैको सोमबार नियुक्ति र राष्ट्रपति कार्यालयमा शपथको तयारी गरिएको छ ।

न्याय परिषद्ले गत वर्षको फागुन १८ मा पुनरावेदन अदालतबाट सात मुख्य न्यायाधीश र कानुन व्यवसायीबाट चारजना वरिष्ठ अधिवक्ताको नाम सुनुवाइका लागि सिफारिस गरेको थियो ।

कार्की, सिन्हा, राउत र मल्ल वरिष्ठ अधिवक्ताबाट न्यायाधीश बनेका हुन् । समितिले सुनुवाइबाट प्रस्तावित व्यक्तिको योग्यता, क्षमता र अनुभवका आधारमा सर्वोच्चको न्यायाधीशमा योग्य देखिएकाले परिषद्को सिफारिस गर्ने निर्णयलाई व्यवस्थापिका संसद् नियमावली, २०७३ को नियम १८५ को उपनियम ५ अनुसार अनुमोदन गरिएको जानकारी सुनुवाइ समितिका सभापति कुलबहादुर गुरुङले दिए ।

यता प्रस्तावित व्यक्तिको मर्यादाक्रममा प्रश्न उठाउँदै समिति निर्णयको २ नम्बर बुँदामा लेखिएको छ, 'न्याय परिषद्ले एघारजना न्यायाधीशको संसदीय सुनुवाइ विशेष समितिमा प्रस्ताव गरी पठाएकोमा मर्यादाक्रमअनुसार नभएको देखिएकाले संसदीय सुनुवाइ विशेष समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।'

उक्त सम्बन्धमा मर्यादाक्रमअनुसार नाम प्रस्तावित गर्नुपर्ने मतसमेत समितिको रहेको जनाउ परिषद्लाई दिइएको छ । न्यायाधीश सिफारिस गर्दा समावेशी प्रतिनिधित्वलाई समेत ध्यान दिई सिफारिस गर्न पनि ध्यानाकर्षण गरिएको छ । न्याय परिषद्का सचिव कृष्ण गिरीले समितिको ध्यानाकर्षणले नियुक्ति र शपथमा कुनै फरक नपर्ने बताए ।

'ध्यानाकर्षणसम्मको कुरो हो, यसले फरक पार्र्दैन । न्यायाधीशमा सिफारिस गर्न परिषद् स्वतन्त्र छ', सचिव गिरीले अन्नपूर्णसँग भने, 'सुनुवाइ समितिले पनि जानकारी गराएको मात्र हो । सिफारिसलाई अन्यथा भनेको छैन ।' सुनुवाइ समितिका एक सदस्यले विशेष गरी कानुन व्यवसायीबाट न्यायाधीशमा सिफारिस गरिएका वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्कीको मर्यादाक्रमका विषयमा समिति सदस्यबीच लामो छलफल भएको बताए ।

'उहाँ (कार्की) सर्वोच्चको न्यायाधीशसरह मानिने महान्यायाधिवक्ता भइसकेको व्यक्ति हुँदा कि त क्याडरबाट आउने भन्दा अघि पहिलो नम्बरमै हुनुपथ्र्यो । कि उहाँलाई बीचमा राख्ने हो भने कानुन व्यवसायी लाइसेन्स नम्बरका आधारमा वरिष्ठताक्रमअनुसार सिन्हा र राउतमुनि राखिनुपथ्र्यो भन्ने कुरा उठ्यो', समितिका ती सदस्यले भने, 'सिफारिस निर्णयमा वरिष्ठता र मर्यादाको ख्याल राखेको पाइएन । आगामी दिनमा त्यत्रो उच्च निकायबाट यस्ता विषयमा प्रश्न उठ्ने ठाउँ नहोस् भन्ने अभिप्राय हो ।'

कानुन व्यवसायी प्रमाणपत्रलाई आधारमा मान्दा कार्कीभन्दा सिन्हा र राउत वरिष्ठतामा अघि छन् । बार काउन्सिलको अभिलेखमा सिन्हाको लाइसेन्स नम्बर १४०, राउतको १४६ र कार्कीको १४८ छ । परिषद्को सिफारिसमा वरिष्ठताक्रममा कार्कीलाई चारजनाभन्दा मुनि राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.