एक बिहानी बानिकासँग
संगीत
‘मिर्मिरेमा, मिर्मिरेमा, चरी चिर्बिरायो
खिड्की खोली हेर्दाहेर्दै भुइँमा बिहान खस्यो'
मनसुनको शीतल बिहान । सातदोबाटोस्थित बानिका प्रधानको डेरा पुग्दा जितकर्ण राईको शब्द र दिनेश सुब्बाको संगीत रहेको गीत निकैपटक गुन्गुनाइसकेछु । त्यसो त बानिकाले गाएका धेरै गीत मनमा ‘फेड इन'-‘फेड आउट' भइरहेको थियो ।
उनी तान्पुराको सुरमा रियाजमग्न थिइन् । डेढ वर्षदेखि त्यस डेरामा हरेकजसो बिहानबेलुका बानिकाको आलाप त्यसरी नै गुञ्जिरहेको छ । तान्पुराको आवाज ‘फेड आउट' भएपछि दार्जिलिङ ‘फ्लेबर्ड' चियासँगै बानिकाको संगीतयात्राबारे कुराकानी चल्यो ।
हार्मोनियम आनन्दले सुतिरहेको थियो बानिकाको बेडमा । सायद बिहान-बेलुका बानिकालाई साथ दिएपछि दिनभरजसो छुट्टी पाउँदो हो । गितार भने बेडको सिराननजिकै पहिलोपटक आएको पाहुनाझैं अप्ठेरो मानेर उभिइरहेको थियो । ‘रियाजका लागि तान्पुराको रेकर्डेड सुर र हार्मोनियम प्रयोग गर्छु । गितार भने भर्खरै आइपुगेको, सिक्न खोज्दैछु', उनले तिनीहरूसँग परिचय गराइन् ।
हार्मोनियमचाहिँ उनको बालापनदेखिकै साथी । ९ कक्षामा पढ्दादेखि संगीत-शिक्षा पनि लिन थालेकी उनले केही वर्ष त आफूसँग हार्मोनियम भएको कल्पनामात्रै गरिन् । चिया बगानमा काम गर्ने पृष्ठभूमिको परिवारलाई हार्मोनियमको मोल पनि ठूलै थियो । त्यसैले हार्मोनियम छुन पाइन्छ भनेर स्कुल क्याप्टेनको जिम्मेवारी हतारहतार सकेर टोलमा भजनमण्डली भेट्न पुगेको उनलाई सम्झना छ । ‘तर हार्मोनियम छुन पाएको छैन, कार्यक्रम सुरु भइहाल्थ्यो ।
मनलाग्दी हार्मोनियम बजाउनै पाइँदैनथ्यो', उनले सम्झिन् । कलेज जीवन सुरु भएपछि चाहिँ दुःखम्सुखम् उनको हातमा हार्मोनियम पर्यो । त्यस बेलादेखि न उनले हार्मोनियम छोडेकी छिन् न त हार्मोनियमले उनलाई साथ दिन नै ।
संगीत प्रकृतिमै थियो । श्रमप्रक्रियासँगै मानिसले त्यसलाई टिपेर नियमबद्ध गर्यो, सुर बनायो । बानिकाको जीवनमा गायन पनि त्यस्तै हो । उनीभित्र गायकी कहिले जन्मियो, हुर्कियो र अस्तित्व देखाउन थाल्यो उनलाई पत्तो छैन । तर, बाल विकास समूहमा आबद्ध भएर भजन गाउँदादेखि उनले आफूभित्रको गायकीलाई सम्हाल्न थालेकी हुन् । लजालु स्वभावले उनलाई सार्वजनिक कार्यक्रममा खुलेर गाउन रोक्थ्यो । एकपटक बाल विकास समूहबाट भजन गाउने पालो पर्दा उनले घोप्टो परेर गाएकी थिइन् । त्यति बेला उनी त्यस्तै सात वर्षकी हुँदी हुन् । तर, घाँघर लगाएर गट्टा खोज्दै हिँड्ने बेलादेखि नै गीत कण्ठस्थ भएको, गाइरहेको सम्झना भने उनलाई छ ।
उनलाई धुर्मैलो सम्झना छ, उनको घरमुन्तिर काकाको घर बनाउन जग खनिएको थियो । गर्मी महिनाको चर्को घाममा उनी खेल्दै त्यहाँ पुगेकी थिइन् । उनको सुरिलो आवाज फैलिरहेको थियो, ‘तु प्यार है, किसी औरका...।' खेल्दाखेल्दै झट्ट पछाडि फर्किंदा काका उनको गीत निमग्न भएर सुनिरहेका थिए । उनी झस्केर लाज मान्दै भागेकी थिइन् ।
पछिसम्म पनि काकाले त्यस बेला गीतको भावमा डुबेर गाइरहेकी उनको हाउभाउ उतारेर जिस्क्याउँथे ।दार्जिलिङ भनिए पनि उनको गाउँ पंखाबारी अलिक कुनामै पर्छ । त्यहाँको माहोलचाहिँ संगीतमय थियो । हरेक ५ बजेपछि भजनको कार्यक्रम हुन्थ्यो, कुन घरमा गाउने भन्ने पालो लगाइएको हुन्थ्यो । बाल विकास समूहमा भएका विद्यार्थी भजन गाउन अनिवार्य रूपमा जान्थे ।
हिरोज नामका काका र बानिकाको जेठो दाइको हिमचिम निकै राम्रो थियो । दुवै संगीतसाधक, ब्यान्ड पनि खोलेका थिए । काकाले एक दिन भजन कार्यक्रममा बानिकाको स्वरमा ध्यान दिएछन् । उनले हत्त न पत्त घर गएर दाइलाई भनेछन्, ‘बानिका त राम्रो गाउँदी रहिछन् त !'
भजन सकेर उनी घर आउनेबित्तिकै दाइले बोलाएर गीत गाउन लगाए । गितारमा सुर मिलाएर गाउन पनि उनलाई असहज लागेन । त्यो देखेर दाइ पनि छक्कै परे । उनीहरू ब्यान्डको कार्यक्रम हुँदा महिला स्वरका लागि अन्यत्रबाट गायिका बोलाउँथे । उनीहरूले भने, ‘घरमै गायिका रै’छ । हामीचाहिँ बाहिरबाहिर खोजी हिँडेको ।'
त्यसपछि उनको गायनको औपचारिक यात्रा सुरु भयो । दाइ-काका संलग्न बयान्डले गर्ने कार्यक्रममा उनले पहिलोपटक खुलेर सार्वजनिक रूपमा गाइन् । त्यहाँ उनको स्वर मन पराउने धेरै भए, विभिन्न कार्यक्रममा बोलाउन थालियो ।
उनको प्रतिभा देखेर परिवारले नौ कक्षा पढ्दापढ्दै संगीत कक्षा भर्ना गरिदिए । हरेक आइतबार हुने संगीत कक्षामा उनले आफ्नो गायन क्षमताको सुरताल मिलाइन् ।
बानिकाले गायनबाट धेरै पुरस्कार जितिसकेकी छन् दार्जिलिङमा । सन् २००५ मा सिक्किम र उत्तरी बंगालका प्रतिस्पर्धी सहभागी भएको गायन स्पर्धा ‘हिमालयन आइडल’को टाइटल अवार्ड पनि उनैले हात पारेकी हुन् । तर, संगीतलाई पूर्ण समय दिन थालेकोचाहिँ पाँच वर्षमात्रै भएको छ । त्यसअघि उनले पढाइ र संगीतलाई सँगै अघि बढाइन् । इतिहासमा स्नातकोत्तर र इन्डियन क्लासिकल संगीतमा विशारद् गरेकी उनी सोच्थिन्— पढाइ सकेर सरकारी जागिर खान्छु र संगीतलाई पनि निरन्तरता दिन्छु ।
भन्छिन्, ‘दार्जिलिङमा धेरैधेरै प्रतिभा छन् तर उनीहरूले संगीतलाई नै व्यवसाय बनाउन भने सकेका छैनन् । मेरो दाइ नै एउटा उदाहरण हो । मेरो पनि बाटो त्यही होला भन्ने सोचेकी थिएँ । तर जागिर गरेपछि संगीतलाई सोचेजति समय दिन सक्छु कि सक्दिनँ होला भन्ने दुविधाले सताइरहेको थियो ।'
स्नातकोत्तर सक्नेबित्तिकै उनले सरकारी सेवा प्रयासका लागि तयारी कक्षा भर्ना गरिन् । औपचारिक अध्ययनको बेलाभन्दा समय उब्रने भएकाले सांगीतिक कार्यक्रममा पनि सहभागी भई नै रहिन् । त्यसै बेला उनले संगीतगुरु सौरोज्योति घोष भेटिन् । घोषले बानिकाको गायकी निकै मन पराए, मार्गनिर्देशन गरे । त्यसैले उनले आफ्नो दुविधा गुरुलाई सुनाइन् ।
गुरुले उनलाई सम्झाए, ‘यहीँनेर हो प्रतिभा भएको मानिस चिप्लने । तिम्रो यति राम्रो प्रतिभा छ, आत्मविश्वासचाहिँ किन छैन ? हो, दुःख त हुन्छ कला क्षेत्रमा । कलाकार भएर बाँच्न दुःख पचाउन सक्नुपर्छ । एउटा रोटी खाएर पनि साधना गर्छु भन्ने आत्मविश्वास हुनुपर्छ ।’ घोषको कुरालाई उनले गम्भीरतापूर्वक लिइन् र निर्णय गरिन्, ‘अब म पूर्ण रूपमा संगीतमै लाग्छु ।' त्यसपछि उनले तयारी कक्षा छोडिदिइन्, कति शुभचिन्तकले काखमै ल्याइदिएको जागिरलाई पनि बेवास्ता गरिन् । सन् २०१० को अन्तिमतिर गरेको यो निर्णयकै बाटो अहिले बानिका हिँडिरहेकी छन् ।
संगीतयात्रामा बानिकालाई परिवारको साथ छ । दाजुले संगीत बुझेका थिए, आमाबुवाले पनि उनलाई पंख लागेको पक्षीझैं मानेर स्वतन्त्र छोडिदिए । उनले पनि परिवारलाई तनाव दिइनन् । उनीबारे नकारात्मक कुरा परिवारले सुन्नु परेन । आर्थिक रूपमा पनि संगीतकै माध्यमबाट आत्मनिर्भर हुँदै गइन् ।
दार्जिलिङका कार्यक्रममा उनी अनिवार्यजस्तै बन्दै गएकै थिइन् । दुई सय हाराहारी गीत त रेकर्ड भएका छन् त्यतामात्रै । तथापि संगीतमै लाग्ने भएपछि दार्जिलिङ उनको लागि सानो भयो । उनीसँग दुइटा बाटा थिए— एक, काठमाडौं आउने, अर्को मुम्बई जाने । हिन्दी गीत पनि राम्रो गाउने कारण कतिले उनलाई मुम्बई जान सुझाए । तर, नेपाली भाषालाई हेर्ने मुम्बईको दृष्टिकोण उत्साहजनक थिएन । त्यसैले उनको मनमा काठमाडौं सपना पन्पिरहेको थियो । संयोगवश त्यति नै बेला गोपाल योञ्जनकी जीवनसंगी रिन्छेन योञ्जन ‘मेघा’ सिनेमाका लागि गीत ‘रिमेक' गर्न दार्जिलिङ पुगिन् । उनी त्यहाँ राम्रो गायकी भएकी गायिकाको खोजीमा पनि थिइन् ।
एउटा स्टुडियोमा भायोलिन रेकर्ड गराउने क्रममा रिन्छेनले त्यहाँका विक्रम सुब्बालाई सोधिन्, ‘यहाँ राम्रो गाउने गायिका को छ ? ’ विक्रमले दार्जिलिङमा लोकप्रिय भइसकेकी बानिकाको नाम सिफारिसमात्रै गरिदिएनन्, केही गीत पनि सुनाइदिए । गीत सुनेपछि रिन्छेनले बानिकालाई फोन गरिन् । बानिका भने केही दिनका लागि कार्यक्रममा व्यस्त थिइन् ।
उनलाई गोपाल योञ्जनजस्ता ‘लिजेन्ड'को गीत गाउने अवसर ढोकैबाट फर्किने हो कि भन्ने चिन्ता भयो । तर, रिन्छेनको दार्जिलिङ बस्ने कार्यक्रम लम्बिएपछि उनको भेट सम्भव भयो । रिन्छेनले बानिकालाई भोलिपल्टै एउटा गीत गाउनका लागि तयारी गर्न भनिन् । भोलिपल्ट उनले गाइन्, रिन्छेनले मन पराइन् र रेकर्ड पनि भयो । त्यसपछि रिन्छेनले भनिन्, ‘मेघा सिनेमाको संलग्न हुने गोपालका गीतको महिला स्वरमा तिमीले गाउनुपर्छ ।'
त्यही प्रस्तावमा उनी सन् २०१२ को सुरुआतमा काठमाडौं आइन् । त्यसअघि उनी एकपटकमात्रै काठमाडौं आएकी थिइन्— सन् २००२ मा भजन रेकर्ड गर्न ।
‘मेघा'को तीनवटा युगल गीतमा उनले स्वर दिइन् । गीत रेकर्ड हुँदाहुँदै उनको गायकीबारे चर्चा हुन थाल्यो । गीत सार्वजनिक भएपछि त्यो क्रम झनै बढ्यो । त्यसले संगीत क्षेत्रका केही व्यक्तिसँग चिनजान गर्न सघायो । अर्को चरण नेपाल आउँदा त उनले यहाँकै गीतकार र संगीतकारका आधा दर्जन गीत र राजेश घतानीको सिनेमा ‘बितेका पल'को ‘थिम सङ' गाइन् । त्यससँगै उनको मावलीका पुर्खाको देश नेपालसँग नाता बलियो बन्दै गयो । र, केही समयपछि उनले गुन्टा कसेर काठमाडौं आउने साहस जुटाइन् । उनी निरन्तर नेपाल बसेको पनि तीन वर्ष हुन लाग्यो ।
हिरोज नामका काका र बानिकाको जेठो दाइबीच निकै राम्रो हिमचिम थियो । दुवै संगीतसाधक, ब्यान्ड पनि खोलेका थिए । काकाले एक दिन भजन कार्यक्रममा बानिकाको स्वरमा ध्यान दिएछन् । उनले हत्त न पत्त घर गएर दाइलाई भनेछन्, ‘बानिका त राम्रो गाउँदी रहिछन् त !’
दार्जिलिङमै जन्मेहुर्केका गायक तथा संगीतकार गोपाल योञ्जनलाई बानिकाले भेट्न पाइनन् । तर उनीबारे प्रशस्तै सुनेकी थिइन् । उनको गीत र संगीतको घनत्वबारे दार्जिलिङका साहित्यिक र सांगीतिक व्यक्तित्वबाट उनले प्रशस्तै सुनेकी थिइन् । उनी तिनै ‘लिजेन्ड'को गीत गाएर नेपाल आइन् र उनको सांगीतिक-जीवनमा त्यो महत्त्वपूर्ण मोड बन्यो । अहिलेसम्म उनको तीन सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।
उनको गायकीको आधार ‘जानरा' ‘सफ्ट मेलोडी' हो । तर, नेपाल आइसकेपछि उनले आफूलाई विभिन्न ‘जानरा'मा ‘एक्सप्लोर' गरिरहेकी छन् । कृतिगत रूपमा भने उनले ‘मिर्मिरेमा' नामको संकलन सार्वजनिक गरिन् पहिलोपटक । केही महिनाअघि पुष्कर पराजुलीको शब्द र संगीतमा रविन शर्मासँगको युगल गायन रहेको एल्बम ‘मायालु आभास' सार्वजनिक भएको छ । गत महिना उनको दार्जिलिङका स्थापित तबलावादक दिव्यरत्न तुलाधरको संगीतमा ‘रिबर्थ' एल्बम सार्वजनिक भएको छ ।
पछिल्लो समय प्यारालाइसिसका कारण तबला बजाउन नसक्ने भए पनि तुलाधर अब्बल संगीत सिर्जना गर्न सक्छन् । तबलावादकबाट संगीतकारका रूपमा उनको पुनर्जन्मलाई विम्ब बनाएर एल्बमको नाम ‘रिबर्थ’ राखिएको बानिका बताउँछिन् । त्यसो त एल्बममा बानिकाको गायकी पनि मजाले ‘एक्सप्लोर’ भएको छ ।
नेपाली संगीतमा आफ्नो जीवन समर्पण गर्ने निर्णयसँगै उनीसँग केही सपना पनि हुर्किरहेका छन् । नेपाली लोकसंगीतको अध्ययन गरेर त्यसको मौलिक स्वरूपलाई उजागर गर्ने सपना छ उनको । त्यस्तै नेपालभित्र बोलिने अन्य भाषाका गीत पनि गाएर नेपाली संगीतको दायरा फराकिलो पार्न चाहन्छिन् । उनी आफैं पनि नेवार भएका कारण त्यसको सुरुआत नेवारी भाषाबाट गर्ने ध्याउन्नमा छिन् । यसअघि नै भोजपुरी, मारवाडी, सादृ, राजवंशी, भाटिया, बंगला, आसामिज, सुर्जापुरीलगायतका भाषामा गाइसकेकी उनलाई कुनै पनि भाषामा गाउन असहज लाग्दैन । त्यसैले पनि आफ्नो त्यो सपना पूरा गर्न सक्छु भन्ने आत्मविश्वास उनीमा छ ।
बानिकाको सपना, सोच र साधनाले उनलाई नेपाली संगीतको मिर्मिरेबाट बिहानमा पुर्याइसकेको छ । सुन्दर बिहान सुनौलो दिनको संकेत त गर्छ नै ।