प्रकृतिका मामुली कुरा (फोटोफिचर)
फोटोजर्नी
प्रकृतिको अद्भुत रहस्य खोतल्न वा यसको परख गर्न हिमालै चढ्नु पर्दैन, समुद्रमा गोता लाउनु पर्दैन, अन्तरिक्षको सयर गरिरहनु पनि पर्दैन । शीतले लपक्कै भिजेर कठ्यांग्रिएको लेडी बग, पराग खोज्न हानिएको माहुरी, वर्षाको बुँदमा टल्किएको संसार, माकुरी जालमा शीतले बुनेको मोतीमालाजस्ता झिनामसिना कुरा नियालौं ।
यिनैमा अद्भुत सुन्दरता उद्घाटित भएका हुन्छन् । जीवनको रफ्तारमा सधैं ठूलाको खोजीमा भौंतारिँदा यी मामुली कुरा आँखाबाट ओझेल पर्छन् । तर, दुनियाँमा मामुली त्यस्तो कुनै चीजै छैन । नपत्याए क्यामेरामा कैद यी तस्बिर हेर्नुस् !
फोटोग्राफी प्रविधि र कलाको त्यो फ्युजन हो जसमार्फत प्रकृतिका मामुली कुराका सुन्दरता उजागर हुन्छन् । निमेषभरका लागि घटित कुनै दृश्य अनन्तकालका लागि कैद हुन्छन् । आँखाको पलक झप्कँदा मिलिक्कै गायब दृश्य फुर्सदले परख गरे हुन्छ ।
मान्छेले यो ब्रह्माण्डको न विशालताको बोध गर्न सक्छ, न यसको सूक्ष्मताको अनुमान लाउन सक्छ । उसले आफ्नो इन्द्रिय सामथ्र्यको सापेक्षमा संसार बुझ्छ, यसको सुन्दरताको परख गर्छ ।
यो सामथ्र्यको सीमा छ । फोटोग्राफीले यो सीमा केही हदसम्म भए पनि फराकिलो पार्छ । आमजिन्दगी र दिनचर्यामा ओझेल यस्ता दृश्यले दुनियाँको बुझाइको दायरा फराकिलो पार्छ, दृष्टिकोण नवीन बनाउँछ र सौन्दर्यचेत तिखार्छ ।