इलाममा बास्केटबलको एकमहिने प्रशिक्षण
इलामः फुटबल र क्रिकेटजस्ता खेलका पारखी बढिरहेको बेलामा इलाममा भने बास्केटबलको एकमहिने प्रशिक्षण भइरहेको छ । बास्केटबलको विकास गर्न र जिल्लामा बास्केटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले साउन १० गतेवाट सुरु प्रशिक्षणमा ८० जनाभन्दा बढी इलामे युवा र बालबालिका सहभागी गराउने आयोजकले जनाएका छन् ।
महेन्द्र रत्न क्याम्पस इलामको बास्केटबल कोर्टमा एकाबिहानै र साँझपख झुम्मिने गरेका छन् । प्रशिक्षणको संयोजन गरिरहेका बास्केटबल खेलाडी संयोजक रोहन आचार्यले खेलाडी उत्पादन र स्वास्थ्यका दृष्टले तालिमको आयोजना गरेको बताउँछन् । खेलका जानकारहरू भन्छन्, इलाममा बास्केटबलको सम्भावना निक्कै छ । प्रत्येक विद्यालय, क्लब र युवा संस्थाहरूले यो खेललाई प्रवद्र्धन गर्न सक्ने उनीहरूको भनाइ छ । यही सम्भावनालाई कार्यान्वयन गर्न तालिमको आयोजना गरेको खेलाडी आचार्य बताउँछन् ।
सदरमुकामका विद्यालयहरूसँग बास्केटबलको विकासमा समन्वय गरिरहनु भएका आचार्यले सबै विद्यालयले उत्साह देखाएको बताए । सदरमुकाम केन्द्रित नभई अब प्रत्येक स्कुलस्कुलबाट खेलाडी उत्पादन गर्न स्कुलसँग समन्वय गर्ने आचार्यको योजना छ । सानासाना नानीहरू, तन्देरी र वयस्कहरूलाई प्रशिक्षण दिन पाउँदा विगत १५ वर्षदेखि बास्केटबल प्रशिक्षण गराइरहेका प्रशिक्षक विकास चाम्लिङ उत्साहित छन् । इलाममा स्कुलस्कुलबाट बास्केटबल प्रशिक्षणमा विद्यार्थी सहभागी भएको देखेर मक्ख परेको प्रशिक्षक चाम्लिङ बताउँछन् ।
तर बास्केटबल खेलको संरक्षण तथा प्रशिक्षण केही व्यक्तिले मात्र गरेर नहुने उनको भनाइ छ । यसरी नै सम्बन्धित निकाय र बास्केटबलमा रुचि राख्ने व्यक्तिहरू मिलेर काम गर्ने हो भने इलामबाट राष्ट्रिय स्तरका मात्र नभई व्यावसायिक खेलाडी उत्पादन हुने उनको दाबी छ । फुटबल खेलाडीहरूलाई राज्यले संरक्षण र प्रोत्साहन दिए जसरी बास्केटबललाई ध्यान नदिएको धरानबाट प्रशिक्षणका लागि इलाम आइपुगेका प्रशिक्षक चाम्लिङ बताउँछन् । सरकारले बास्केटबललाई पनि प्राथमिकताको खेलमा राख्नुपर्ने उनको माग छ ।
स्थानीय स्तरमा रहेका केही व्यापारी तथा आफ्नै व्यक्तिगत लगानीबाट कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक आचार्यले बताए । १० वर्षदेखि माथिका प्रशिक्षार्थीहरूले प्रशिक्षण लिइरहेको कार्यक्रममा प्रशिक्षार्थीहरू प्रशिक्षण लिन पाउँदा हर्षित देखिन्छन् । उनीहरूले यसलाई यसअघि महिला राष्ट्रिय टिम साउथ एसियन बास्केटबल खेलमा रजत पदक जित्न उनीहरूले अवसरका रूपमा लिएका छन् ।
भर्खरै नेपाली पुरुष टिम खेलाडी बैंगलोरमा तेस्रो हुन सफल भएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता प्राप्त गर्न र बास्केटबल खेलको विकास गर्न खेलाडी उत्पादनमा सरकार स्थानीय निकायले सहयोग गर्नुपर्ने प्रशिक्षक र खेलाडीहरू बताउँछन् । इलाममा संयोजक आचार्यसहितको टिमको प्रयासमा तालिम आयोजना भएको हो । प्रतिभावान् खेलाडी उत्पादनमा यस्ता प्रयास पनि सहयोगी बन्ने प्रशिक्षक चाम्लिङको भनाइ छ ।