गथामुग पर्वयसको वातावरणीय र धार्मिक महत्व
भक्तपुरः प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन काठमाडौं उपत्यकाको सहरका टोलटोल तथा गाउँका चौबाटो, तीनदोबाटो तथा दोबाटोमा जलाइने गथामुग (घण्टाकर्ण) लाई सर्वसाधारणहरु पिचासको संज्ञा दिन्छन् ।
त्यस्तै गथामुगलाई बालबालिका मारेर खाने राक्षसकोे रुपमा बढी चित्रण गरिएको पाइन्छ । समाजलाई दुःख दिने पात्रको रुपमा रहेको गथामुगलाई सोहीअनुसार दोबाटो र चौबाटोमा लगी जलाउने गरिन्छ । यसलाई जलाइसकेपछि बालबालिकालाई उसको खरानीको टीका लगाइदिने तथा त्यसलाई नाघ्न लगाइन्छ । यसो गर्दा बालबालिकामा रहेको डर भाग्ने तथा रुन्चे लागेको हट्ने जनविश्वास रहेको छ ।
तर संस्कृतिविद्हरु गथामुग कुनै पिचास वा राक्षस नभई स्थानीय क्षेत्रमा रहेका भैरव तथा अन्य देवताको प्रतीक भएको बताउँछन् । उनीहरुका अनुसार गथामुग अन्य देवीदेवताको नाम सुन्न नचाहने नास्तिक, सुनलाई भन्दा फलामलाई महत्व दिने व्यक्ति र भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने पात्र हुन् ।
‘विशेष गरी देवदेवीको नाम सुन्नुपर्ला भनी हरहमेशा आफ्ना कानमा ठूलाठूला घण्टा झुण्डाइराख्ने भएर उनको नाम घण्टाकर्ण भएको हो’, संस्कृतिकर्मी ओमप्रसाद धौभडेल भन्छन् ।
संस्कृतिकर्मी धौभडेलका अनुसार अहिलेसम्म भेटिएको प्रमाणमध्ये सबैभन्दा पुरानो गोपाल राजवंशावलीमा उल्लेख भएको गण्ठकर्ण चवदशबाट घण्टाकर्ण भएको हो । त्यस्तै ने.स. ६९१ मा लेखिएको हितोपदेश ग्रन्थमा पनि गण्ठकर्ण चवदश र ने.स. ७९२ को एउटा नेपालभाषाको गीतमा पनि स्पष्टसँग छ्वालीको घण्टासुर बनाई सेलाउने उल्लेख रहेको उनी बताउँछन् ।
ने.स. ८१८ मा भक्तपुर तलेजुस्थित मालती चोकमा भेटिएको एउटा शिलापत्रमा साउन शुक्ल चतुर्दशीलाई स्पष्टसँग गाथामोगल चवदश भनिएको उनले बताए । गथामुग च¥हेको दिन भक्तपुरको नवदुर्गा गणभित्र महादेवको उत्पत्ति हुने जनविश्वाससमेत रहेको छ । यसैलाई आधार मानी गाथा (नवदुर्गा गण बन्ने जाति) बाट शिवलिङ्ग स्थापना हुने भएकोले यस दिनलाई गाथामुग च¥हे भनिएको संस्कृतिकर्मीहरुको मत रहेको छ ।
‘बनमालाहरु कुनै कलाकार होइनन्, त्यसैले उनीहरुले यस दिन बनाउने शिवलिंग साँच्चिकै शिवलिंग जस्तो नभई मुग (माटाको डल्ला फुटाउने डलेढो) जस्तो बन्न गएकोले यस दिनलाई गथामुग भनिएको हो’, संस्कृतिकर्मी धौभडेलले भने ।
यस हिसाबले पनि गथामुग कुनै राक्षस वा पिचास नभई महादेव भएको अर्का संस्कृतिविद् एवं इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठको तर्क रहेको छ ।
‘हाम्रो संस्कृतिमा मार्ग कृष्ण चतुर्दशीलाई बाला चतुदर्शीले चिनिन्छ । जसका प्रमुख नायक बालासुर जो शिवकै एक रुप हो’, प्रा. डा. श्रेष्ठ भन्छन्, ‘चैत कृष्ण चतुदर्शी पिशाच चतुर्दशी हो, जसका अधिपति भूतप्रेत पिचास शिवकै गण हो । यता फागुन कृष्ण चतुर्दशी शिवरात्री त भगवान शिवकै पूजा आराधना गर्ने दिन हो । त्यसैले श्रावण कृष्ण चतुर्दशीको दिनका नायक गथामुग पनि शिवकै रुप भएकोमा दुईमत हुन सक्दैन ।’
उनका अनुसार गथामुगको आकृति हेर्दा उन्मक्त भैरवसँग मिल्दोजुल्दो छ । ‘उन्मक्त भैरव पनि महादेव नै हुन्’, उनी थप्छन् ।
यस दिन स्थानीय वासिन्दासँग मागेर ल्याइएको छ्वाली र नर्कटको सहायताले बनाइएको गथामुगलाई नाङ्लोमा लेखिएको विशाल डरलाग्दो मुखाकृति, कपडाबाट बनाइएका पुतलीहरुको माला, भोगटेलगायतले सिंगारिएर साँझको बेला स्थानीय दोबाटो र चौबाटोमा दहन गरेर गथामुग पर्व मनाइन्छ ।
यस दिन नेवार बस्ती भएका भक्तपुरसँगै ललितपुर, काठमाडौं, काभ्रे, मकवानपुर, धनकुटालगायतका गाउँठाउँका एउटै दोबाटोमा दर्जनौं गथामुग दहन गरिन्छ । भक्तपुर नगरभित्र विशेष आकर्षणको रुपमा रहेको दत्तात्रय क्षेत्रमा मात्रै यस दिन पाँचवटा गथामुग दहन गरिन्छ ।
यसरी भीमकाय परालबाट बनेको गथामुग सेलाउन जाँदा गुठी तथा दाफाभजनका सदस्यहरुले बाजागाजा बजाउने तथा अन्यले छ्याली बालेर सँगसँगै गई विभिन्न अश्लील गालीहरु गर्ने गरिन्छ ।
पराल र नर्कटबाट बनेको गथामुगलाई अश्लील र भद्दा देखाउन दुइटा ठूल्ठूला हरिया भोगटे र परालको डोरी बेरेर बनाएको डल्लो झुन्ड्याइन्छ । त्यसलाई पुरुषको जनेन्द्रिय अंगको प्रतीक मानिन्छ ।
गथामुगको वातावरणीय महत्वसमेत रहेको छ । असारपछि साउन महिनामा दिनहुँजसो झरी भइरहन्छ । यसले भुसुना, लामखुट्टे जस्ता हानिकारक कीराहरुले सर्वसाधारणलाई दुःख दिन्छन् । यसले मानिसहरु मौसमी बिरामी पनि हुन्छन् ।
यस्ता हानीकारक कीराहरुलाई टोलबस्तीबाट भगाउन छ्वालीलगायत बालेर धुँवा आगो बनाएर बस्तीभन्दा टाढासम्म भगाउन घन्टाकर्णको दहन गरिनु वैज्ञानिक भएको वातावरणविद्हरु बताउँछन् ।
उनीहरुका अनुसार यसै दिन किसानहरुले आआफ्नो भण्डार तथा पराल र छ्वाली राख्ने ठाउँ सफा गर्छन् । यस दिन गथामुग बनाउन सर्वसाधारणहरु बाजागाजासहित घरघरमा गएर छ्वाली र पराल माग्न जाने गर्छन् । यसरी माग्न आउनेलाई किसानहरुले आफूले सफा गरेको ठाउँबाट उब्रेको छ्वाली तथा पराल दिएर पठाउँछन् ।