कर्मकाण्डी सुनुवाइ

कर्मकाण्डी सुनुवाइ

०६३ को राजनीतिक परिवर्तन व्यवस्थित गर्न निर्वाचित संविधानसभाद्वारा संविधान निर्माण गर्ने घोषणा राजाबाट भए पनि हतार र अपरिपक्व मनस्थिति बोकेका नेताहरूले घोडाअगाडि गाढा तेस्र्याउने प्रपन्च रचे । त्यो कति नियोजित र कति बदनियताका साथ थियो, भन्न सकिन्न ।

तर न्यायपालिकालाई प्रत्यक्ष या घुमाउरो किसिमले व्यवस्थापिका या दलीय नियन्त्रणमा ल्याउने खेल त्यसैबेलादेखि सुरु भयो । सर्वोच्च न्यायालयका वहालवाला न्यायाधीशहरूलाई समेत ताजा शपथ खानुपर्ने व्यवस्थासँगै न्यायाधीश नियुक्तिमा संसदीय सुनवाइको अभ्याससमेत सुरु गरियो ।

न्यायाधीशको पद, चरित्र, योग्यता, पात्रता र निष्पक्षताभन्दा दलीय अनुमोदनबाट प्रमाणित जागिरको हैसियतमा झर्‌यो । त्यसको विरोध गर्ने साहस र चरित्र एकजना न्यायाधीशले पनि देखाएन त्यसबेला । कसैले त्यसलाई चुनौती दिने साहस गरेको भए सायद दलीय भागवन्डामा न्यायाधीश नियुक्त हुने र संसदीय समितिले आफूलाई कर्मकाण्डी सुनवाइमा सीमित राख्नुपर्ने अवस्था आउने थिएन ।

संसदीय समितिले यसपल्ट पनि त्यो कर्मकाण्ड पूरा गरेको छ । प्रस्तावित ११ जना न्यायाधीशको नाम अनुमोदन गरी न्यायपरिषद्लाई पठाएको छ बाँकी औपचारिकता पूरा गर्न । न्यायाधीशमा नियुक्ति हुनेहरूको योग्यता र पात्रतामा प्रश्न गर्नु सम्भवतः सर्वोच्चको मात्र हैन 'सम्मानित' संसदीय समितिको समेत मानहानिका रूपमा लिन सक्लान् कसैले । तर यो कर्मकाण्डी अभ्यास औचित्यहीन सावित भएको छ । सत्ताका दलहरूले न्यायाधीश तोक्ने र तिनै दलका सदस्यहरूको बहुमतको समितिले अनुमोदन गर्ने अभ्यास के औचित्यपूर्ण छ त ?

 

केही 'प्रस्तावित' हरूसँग उनीहरूको दलीय आवद्धताबारे सोधियो । उनीहरूमा तयार उत्तर थियो, न्यायाधीश बनेपछि दलीय आवद्धता बिर्सने छौं । प्रधानन्यायाधीशले भनेजस्तै उनीहरूले अब दलीय जुत्ता सर्वोच्च बाहिरै खोलेर इजलाशमा प्रवेश गर्ने भए ।

दलीय मात्र हैन, दाता र एनजीओहरूसँग बनेको सम्बन्ध र भोलि तिनीहरू मुद्दामा पक्ष विपक्ष बन्दा न्याय दिन सकिन्छ कि सकिन्न त्यो कसैले सोधेन । केहीको सुगारटाइ आयो, दलीय पृष्ठभूमिका न्यायाधीशहरू उत्कृष्ट सावित भएका छन् । प्रतिप्रश्न गरिएन समितिमा । सदस्यहरूमा त्यससम्बन्धी ज्ञान र योग्यता थिएन भन्न मिल्दैन ।

अमेरिकामा दलीय पृष्ठभूमिको व्यक्ति न्यायाधीश नियुक्त हुन सक्छ, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा । तर त्यहाँको संसद्मा समेत दलले ह्वीप जारी गर्दैन सदस्यहरूलाई र आफ्नो मान्यता र विवेकअनुसार दलभन्दा बाहिर गएर मत दिने छुट हुन्छ सदस्यलाई । समिति त दलभन्दा माथि हुन्छ नै ।

भारतमा न्यायाधीश नियुक्तिको प्रक्रिया बेग्लै छ । तर दलीय पृष्ठभूमिका उत्कृष्ट न्यायाधीशका रूपमा एकजना मात्र व्यक्ति चिनिन्छन्, पुजिन्छन् त्यहाँ । ती हुन भी आर कृष्ण अय्यर । केरला ५० को दशकमा वाममोर्चामा मन्त्री रहेका अय्यरले पार्टी त्याग गरी एक दशकसम्म न्यायिक सुधारमा लागे र ६० को दशकको अन्त्यतिर उच्च न्यायालयपछि सर्वोच्चका न्यायाधीश बने ।

उनको उत्कृष्टताको कारण ज्ञान, योग्यता, चरित्र र प्रतिबद्धता थियो, दलसँगको आवद्धता हैन । तर हाम्रो समितिले सोध्ने हिम्मत गरेन शक्ति पृथकीकरणको सिद्धान्तविपरीत खिलराज रेग्मी प्रधानमन्त्री समेत बन्दा तपाइँहरूको मान्यता के थियो ? समितिले आफ्नो दायित्व पूरा गरेको मान्न मिल्ला र ? त्यति महत्त्वपूर्ण प्रश्न समेत नसोधेको समिति र न्यायपालिका र दश राजनीतिक दलहरूको अन्तरविवादमा मौन रहेकाहरू या त्यसलाई स्वीकार गरेकाहरूबाट अब के अपेक्षा गर्ने ?

लाचारीमै प्रतीक्षा गरौं, केही इजलाशबाटै आत्मालोचनासम्म होला कि ? यो नियुक्तिले विवाद र सर्वोच्चमाथि जनताको अविश्वास र निगरानीलाई कम गरेको छैन । संसद् पनि त्यही घेराभित्र छ । भोलि इजलास बस्दा इजलास (नेका) र इजलास (एमाले) ले यो निर्णय देला भनी अनुमान सुरु हुन थाल्नु दुर्भाग्य हुनेछ नेपालको न्यायपालिकाका लागि र कानुनमा आधारित राज्यको अवधारणाका लागि ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.