अश्लील गाली गर्ने पर्व गथामुग (फोटोफिचर)
तस्बिरः दिनेशविक्रम शाह
शब्दः ईश्वरकाजी खाइजू
भक्तपुरः प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन काठमाडौं उपत्यकाको सहरका टोलटोल तथा गाउँका चौबाटो, तीनदोबाटो तथा दोबाटोमा जलाइने गथामुग (घण्टाकर्ण) लाई सर्वसाधारणहरू पिचासको संज्ञा दिन्छन् ।
गथामुगलाई बालबालिका मारेर खाने राक्षसको रूपमा चित्रण गरिएको पाइन्छ । समाजलाई दुःख दिने पात्रको रूपमा रहेको गथामुगलाई सोहीअनुसार दोबाटो र चौबाटोमा लगेर जलाउने गरिन्छ । जलाइसकेपछिको खरानीको टीका बालबालिकालाई लगाइदिने गरिन्छ । त्यसलाई नाघ्न लगाइन्छ । यसो गर्दा बालबालिकामा रहेको डर भाग्ने तथा रुन्चे लागेको हट्ने जनविश्वास छ।
तर संस्कृतिविद्हरू गथामुग कुनै पिचास वा राक्षस नभई स्थानीय क्षेत्रमा रहेका भैरव तथा अन्य देवताको प्रतिक भएको बताउँछन्। उनीहरूका अनुसार गथामुग भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने पात्र हुन् । ‘विशेषगरी देवदेवीको नाम सुन्नुपर्ला भनी सधैं आफ्ना कानमा ठूलाठूला घण्टा झुन्ड्याइराख्ने भएर उनको नाम घण्टाकर्ण भएको हो’, संस्कृतिकर्मी ओमप्रसाद धौभडेल भन्छन् ।
संस्कृतिकर्मी धौभडेलका अनुसार अहिलेसम्म भेटिएको प्रमाणमध्ये पुरानो गोपाल राजवंशावलीमा उल्लेख भएको गण्ठकर्ण चवदशबाट घण्टाकर्ण हो । नेपाल सम्बत् ६९१ मा लेखिएको हितोपदेश ग्रन्थमा पनि गण्ठकर्ण चवदश र नेपाल सम्बत् ७९२ को नेपालभाषाको गीतमा पनि छ्वालीको घण्टासुर बनाई सेलाउने उल्लेख रहेको उनी बताउँछन् ।
गथामुग चर्हे भक्तपुरको नवदुर्गा गणभित्र महादेवको उत्पत्ति हुने जनविश्वाससमेत छ । यसैलाई आधार मानी गाथा (नवदुर्गा गण बन्ने जाति) बाट शिवलिंग स्थापना हुने भएकोले यस दिनलाई गाथामुग चर्हे भनिएको संस्कृतिकर्मीको मत छ ।
‘वनमालाहरू कलाकार होइनन्, उनीहरूले यस दिन बनाउने शिवलिंग शिवलिंग जस्तो नभई मुगजस्तो बन्न गएकोले यस दिनलाई गथामुग भनिएको हो’, संस्कृतिकर्मी धौभडेलले भने ।
यस हिसाबले पनि गथामुग कुनै राक्षस वा पिचास नभई महादेव भएको अर्का संस्कृतिविद् एवं इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठको तर्क छ । ‘हाम्रो संस्कृतिमा मार्ग कृष्ण चतुर्दशीलाई बाला चतुदर्शीले चिनिन्छ । जसका प्रमुख नायक बालासुर जो शिवकै एक रूप हो’, प्राडा श्रेष्ठ भन्छन् । उनका अनुसार गथामुगको आकृति हेर्दा उन्मक्त भैरवसँग मिल्दोजुल्दो छ । ‘उन्मक्त भैरव पनि महादेव नै हुन्’, उनी थप्छन् ।
यस दिन स्थानीय बासिन्दासँग मागेर ल्याइएको छ्वाली र नर्कटको सहायताले बनाइएको गथामुगलाई नाङ्लोमा लेखिएको विशाल डरलाग्दो मुखाकृति, कपडाबाट बनाइएका पुतलीको माला, भोगटेलगायतले सिंगारिएर साँझको बेला स्थानीय दोबाटो र चौबाटोमा दहन गरेर गथामुग पर्व मनाइन्छ । यस दिन नेवार बस्ती भएका भक्तपुरसँगै ललितपुर, काठमाडौं, काभ्रे, मकवानपुर, धनकुटालगायतका गाउँठाउँका एउटै दोबाटोमा दर्जनौं गथामुग दहन गरिन्छ ।
भक्तपुर नगरभित्र विशेष आकर्षणको रूपमा रहेको दत्तात्रय क्षेत्रमा मात्रै यस दिन पाँचवटा गथामुग दहन गरिन्छ ।
भीमकाय परालबाट बनेको गथामुग सेलाउन जाँदा गुठी तथा दाफाभजनका सदस्यले बाजागाजा बजाउने तथा अन्यले छ्याली बालेर सँगसँगै गई विभिन्न अश्लील गालीहरू गर्ने गरिन्छ ।
गथामुगको वातावरणीय महत्वसमेत रहेको छ । असारपछि साउन महिनामा दिनहुँजसो झरी भइरहन्छ । यसले भुसुना, लामखुट्टेजस्ता हानिकारक कीराहरूले सर्वसाधारणलाई दुःख दिन्छन् । हानिकारक कीराहरूलाई टोलबस्तीबाट भगाउन छ्वालीलगायत बालेर धुवाँ आगो बनाएर बस्तीभन्दा टाढासम्म भगाउन घण्टाकर्णको दहन गरिनु वैज्ञानिक भएको वातावरणविद्हरू बताउँछन् ।