नयाँ धरहरा लिफ्टबाटै चढ्न सकिन्छ

 नयाँ धरहरा लिफ्टबाटै चढ्न सकिन्छ

काठमाडौँ: टिकट काटेपछि धरहराको टुप्पोमा पुग्न अब तपार्इं स्कालेटरबाट दुई तलामुनि जानुपर्नेछ । धरहराको फेदमा देखिने सिसाको चुच्चो आकारको डिजाइनबाट प्राकृतिक प्रकाश दुई तलामुनि पुग्नेछ । दुई तलामुनिको अन्डरग्राउन्ड मेट्रो टे«न चढ्ने ठाउँझैं भव्य हुनेछ ।

हेर्दा नौतले देखिने धरहरा प्राविधिक हिसाबमा २१ तलाको हुनेछ । अन्डरग्राउन्डबाट धरहराको टुप्पोसम्म पुग्न लिफ्टमा चढ्नुपर्नेछ भने ओर्लन अर्को लिफ्ट हुनेछ । सरकारले पुरानै शैलीमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको ‘मेरो धरहरा म आफैं बनाउँछु’ लाई सार्थक रूप दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुरातत्व विभागमार्फत अघि बढाएको काम ‘ड्रइङ र डिजाइन’ तयार पारेसँगै अघि बढेको छ ।

अब बन्ने धरहराको क्षेत्रफल ६ रोपनीबाट २९ रोपनीको हुनेछ । मन्त्रिपरिषद्को गत असार ३१ गतेको निर्णयबाट सोही क्षेत्रमा रहेको हुलाक विभागको साढे ११ रोपनी र टक्सार विभाग रहेको साढे ११ रोपनी जग्गा धरहरालाई उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

हुलाक विभागका लागि चारखालस्थित पहिले मालपोत कार्यालय बसेको क्षेत्र दिने र टक्सारका लागि नेपाल राष्ट्रबैंकले व्यवस्था गर्ने निर्णय भएको थियो।

सञ्चारकर्मीमाझ धरहराको डिजाइन सार्वजनिक गर्दै संस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेलले तीन अर्ब रुपैयाँ लगानीमा तीन वर्षभित्र अत्याधुनिक संरचनासहित २९ रोपनी क्षेत्रफलमा पुरातात्विक महत्वमा असर नपारी धरहरा निर्माण गर्न लागिएको जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री ओलीले घोषणा गरेको मेरो धरहरा म आफैं बनाउँछु बाट दुई करोड रुपैयाँ संकलन भएको छ, यो क्रम जारी छ । यसले नपुग्ने बजेट नेपाल टेलिकमले व्यहोर्ने भएको छ ।’

उनले धरहराको बृहत् अवधारणाअनुरूप काम गर्न बाधक बनिरहेका हुलाक र टक्सारलाई अन्यत्र व्यवस्थापन गर्न ठूलै समस्या भोग्नुपरेको बताए । पशुपतिनाथ मन्दिरपछि दोस्रो बढी पर्यटक आवागमन हुने स्थान धरहरा हुने उनको दाबी छ । नयाँ धरहरा बनेपछि दैनिक हजारौं आउने र दिनभर समय व्यतीत गर्नसक्ने वातावरण हुने मन्त्रालयको भनाइ छ ।

प्राविधिक प्रस्ताव माग गरेपछि आएका सातमध्ये सरकारले केज कन्सल्ट प्रालिलाई धरहराको पुनर्निर्माणका लागि ड्रइङ डिजाइन तयार पार्ने जिम्मेवारी दिएको थियो । अवधारणात्मक डिजाइन प्रस्तुत गर्दै परामर्शदाता केजका आर्किटेक्ट विष्णु पन्थीले आठ रेक्टर स्केलसम्मको भूकम्प धान्ने र कुनै पनि दैवी प्रकोप आइपरेमा तीनतिर ठुल्ठुला क्रेनसमेतले उद्धार गर्न सक्ने गरी काम गरेको बताए ।

विगतजस्तै धरहरा दुई सय ४५ फिट अग्लो हुने जानकारी दिँदै उनले भने, ‘समग्र धरहरा क्षेत्र अत्याधुनिक ढंगको हुने भए पनि धरहराका सबै भाग पुरातात्विक शैलीमै निर्माण हुनेछ जसको टुप्पोको भाग यसअघिझैं मुगल आर्किटेक्टबाटै बन्नेछ ।’ धरहराको एकापट्टिको बीचभागमा सिसा हुनेछ जसबाट भित्र प्राकृतिक प्रकाश छिर्नेछ । १८ औं तलामा धरहरासम्बन्धी वृत्तचित्र देखाउन १७ जना अट्ने मिनिथिएटर हुनेछ भने २० औं तलामा पुगेर बाहिरी दृश्य हेर्ने ठाउँमा वरिपरि पातलो सिसाले घेरिनेछ जुन वेदर प्रुफ हुनेछ ।

केजको डिजाइनले हालको हुलाक विभाग रहेको स्थानमा तीनतले अत्याधुनिक पार्किङ भवन हुनेछ । भुइँतलामा एक सय ३४ वडा चारपांग्रे र पहिलो तलामा सात सय ५० दुईपांग्रे सवारीसाधन र तेस्रो तलामा पुनः चारपांग्रे पार्किङ गर्न मिल्नेछ । हालको टक्सार रहेको ठाउँमा दुईतले संग्रहालय हुनेछ ।

१०–१० जना अट्ने दुईवटा लिफ्ट र आपत्कालीन अवस्थामा सिँढी प्रयोग गर्न सकिनेछ भने तलको तलामा आपत्कालीन अवस्थामा मात्र ढोका खोलिनेछ। धरहरा परिसरमा आकर्षक बगैंचा हुनेछ भने धरहराको सामुन्नेमा ५० फिट अग्लो फाउन्टेन हुनेछ । अबको धरहरा परिसर अपांगमैत्री हुनेछ । आर्किटेक्ट पन्थीले भने, ‘यो अवधारणाअनुसार निर्माण हुँदा धरहरा राष्ट्रकै ल्यान्डमार्क बन्नेछ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.