निर्णय लिन नसक्नु पनि उच्च राजनीतिक संस्कार !
समाचार टिप्पणी /विष्णु सुवेदी
काठमाडौं: सोमबार बेलुकासम्म प्रधानमन्त्री पदका लागि पूर्वसभामुखसमेत रहेका सुवास नेम्वाङको चर्चा थियो । तर बिहानै बालुवाटारबाट अचम्मको निर्णय आयो, एमालेले प्रधानमन्त्री पदमा कसैलाई उम्मेदवार नबनाउने।
संभवतः यो निर्णय सुनेर एमालेका कार्यकर्ता मात्रै होइन, आमसुभेच्छुक पनि अचम्मित भए होलान् । हुन त एमालेले यसअघि पनि यस्ता अनौठा र अर्थहीन निर्णय पटकपटक गरिसकेको छ।
एमाले स्थायी समितिको मंगलबार बिहान बालुवाटार बसेको बैठकमा हार्ने उम्मेदवार तोक्न पनि निकै सकस भयो । त्यही सकसको समाधानको रुपमा निर्णय आयो, कसैलाई पनि उम्मेदवार नबनाउने ।
उम्मेदवार कसैलाई नबनाउने तर मतदानमा भाग लिएर प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) को विपक्षमा मतदान गर्ने एमालेको निर्णय राजनीतिक हिसाबले अर्थहीन देखिन्छ।
पार्टीभित्रको आन्तरिक झगडा र गुटबन्दीका कारण एमालेले उम्मेदवार तोक्नसक्ने अवस्था भएन तर बाहिर त्यसलाई ढाकछोप गरेर उच्च राजनीतिक संस्कार प्रदर्शन गरेको भन्दै प्रचार पनि गरियो ।पार्टी प्रचार प्रमुख योगेश भट्टराईले यो निर्णयलाई उच्च राजनीतिक संस्कार भन्दै ट्वीट पनि गरेका छन्।
एमालेको यो निर्णय राजनीतिक सहमति तथा सहयात्राको पक्षमा उसले देखाएको कुनै सदासयता वा संस्कार होइन, आन्तरिक गुटबन्दीले निर्णय क्षमता गुमाउँदै गएको प्रमाण हो यो । प्रधानमन्त्रीबाट राजीनामा दिएपछि आन्तरिक शक्ति अभ्यासमा केपी ओली कमजोर हुँदै गएको संकेत पनि यसले दिएको छ ।
सुरुमा बामदेव गौतमको चर्चा भए पनि उनले संसदीय दलको नेता बनाउने निश्चित भए मात्र उम्मेदवार बन्ने अडान लिएका थिए। तर ओली संसदीय दलको नेता आफूले छोडेर बामदेव वा अरु कसैलाई उम्मेदवार बनाउन तयार देखिएनन्। त्यसो गर्दा संसदीय राजनीतिमा आफ्नो भूमिका कमजोर हुने र भोलि फेरि नेतृत्वको मौका आएमा सकस पर्ने विश्लेषण ओली पक्षको थियो।
त्यसपछि ओलीले सुवास नेम्वाङलाई आफ्नो उत्तराधिकारी बनाउने कोसिस गरे। पछिल्ला दिनमा आफ्नो पक्षमा चर्को वकालत गर्दै आएका पूर्वसभामुख नेम्वाङलाई उम्मेदवारका रुपमा अघि सारियो र ओली वृत्तबाट त्यसलाई प्रचारमा पनि ल्याइयो । संसदीय दलको नेता आफू नै रहेर उपनेता रहेका नेम्वाङलाई मैदानमा पराजय भोग्न पठाउने ओलीको रणनीतिलाई माधव नेपाल र झलनाथ समूहले सफल हुन दिएन ।यसमा बामदेवको पनि साथ देखिएपछि सुवासको नाम स्थायी समितिबाट अनुमोदन गर्न ओलीलाई कठिन भयो ।
सुवासको विकल्पको रुपमा माधव, झलनाथ र बामदेव समूहले भीम आचार्यको नाम प्रस्ताव गरेका थिए।सुवासको विकल्पमा भीमको नाम आएपछि ओलीले त्यसो भए कसैलाई पनि नबनाऔं भनेर प्रस्ताव राखेका थिए । यसमा सहमत हुन माधव नेपाल, झलनाथ र वामदेवलाई पनि समस्या भएन ।
हार्ने मैदानमा पनि अरुलाई कमान्डर बनाएर पठाउँदा आफू कमजोर भइन्छ कि भन्ने एमाले नेतृत्वको कमजोर मनोविज्ञान पनि यसले उजागार गरेको छ। बालुवाटार छोड्न लागेका ओलीको मनोवैज्ञानिक त्रासका कारण पार्टीले उम्मेदवार तोक्न समेत नसकेको अवस्थाको पार्टीभित्रैबाट आलोचना सुरु भएको छ।
समर्थन गर्न पनि नसकेको र प्रतिस्पर्धाका लागि उम्मेदवार पनि तोक्न नसकेको यो विषयलाई कांग्रेस र माओवादीले पनि राजनीतिक रुपमा 'क्यास' गरेर एमालेको भूमिकालाई कमजोर पार्न खेल्नसक्ने चिन्ता पार्टी वृत्तबाट व्यक्त हुन थालेको छ । यस्तो कमशल निर्णय क्षमता प्रदर्शन गर्नुभन्दा बरु एमालेले प्रचण्डको सरकारलाई आलोचनात्मक खबरदारीसहित सघाउने निर्णय लिने हिम्मत गरेको भए एमाले र ओली दुवैको साख र सम्मान आममानसमा पनि अरु थपिने थियो।