हिंसासँग इस्लामको सम्बन्ध छैन: पोप फ्रान्सिस
एजेन्सीः क्याथोलिक इसाई धर्मावलम्बीका धर्मगुरु पोप फ्रान्सिसले इस्लाम धर्मावलम्बीलाई आतंकवादसँग जोड्नु गलत भएको बताएका छन् । आइतबार पोल्यान्डबाट फर्कने क्रममा उनले यस्तो बताएका हुन् ।
युरोपले आफ्ना युवाहरूलाई कट्टरपन्थीहरूसमक्ष पठाइरहेको भन्दै पोपले आलोचना गरेका छन् । पोल्यान्ड यात्राबाट भ्याटिकन फर्कने क्रममा आफ्नै निजी विमानमा उनले सञ्चारकर्मीलाई यस्तो बताएका हुन् । पोल्यान्डमा क्याथोलिक युथ फेस्टिभलमा सहभागी भएर फर्कने क्रममा उनको यस्तो धारणा आएको हो । उनले भने, ‘इस्लाम धर्मलाई आतंकवादसँग जोड्नु न त उचित हो न सत्य हो । इस्लाम र हिंसालाई अलग रूपमा हेर्नुपर्छ ।’
फ्रान्समा एक चर्चमा पादरीको घाँटी रेटेर भएको हत्याको बारेमा सोध्दा पोपले इस्लाम धर्मलाई जोड्न नहुने भन्दै जवाफ दिएका थिए । उनले क्रिस्चियन धर्मावलम्बीमा पनि कट्टरपन्थी रहेको उनले स्पष्ट पारेका छन् । उनले भने, ‘प्रायः सबै समूहमा कट्टरपन्थी भेटिन्छन् । हाम्रो धर्ममा पनि यस्ता कट्टरपन्थी छन् ।’
उनले युरोपमा भएका हत्या हिंसाको चर्चा पनि गरे । त्यहाँ क्रिस्चियन समुदायले गरेका हत्या हिंसालाई बिर्सन नहुने भन्दै क्रिस्चियनहरूले गरेका हत्याको पनि छलपल गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘यदि हामीले इस्लामिक हिंसाको कुरा गर्छौं भने क्रिस्चियनबाट हुने गरेका हिंसाका कुरा पनि गर्नैपर्छ । इटालीमा हरेक दिन हिंसा भइरहेका समाचार आउँछन् । कसैले आफ्नी प्रेमिकाको त कसैले सासूको हत्या गरेका खबर आइरहन्छन् ।’
ती विषयलाई युरोपले कुनै पनि धर्मसँग जोडेर आरोप नलगाउने गरेको उनको भनाइ थियो । आइतबार फ्रान्समा अतिवादी संगठन इस्लामिक स्टेट (आइएस) का लडाकुले वृद्ध पादरीको हत्या गरेका थिए । त्यसलगत्तै मुस्लिम धर्मावलम्बीका विभिन्न समूह उपस्थित भएर आतंकवादको विरोध गरेका थिए ।