राप्रपा नेपाल पनि प्रचण्ड सरकारमा सहभागी हुने
काठमाडौं : केपी ओली नेतृत्वको सरकारमा महत्वपूर्ण साझेदारका रुपमा अन्तिम क्षणसम्म पनि साथ दिएको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल नयाँ सरकारमा सहभागी हुने भएको छ ।
औपचारिक निर्णय गर्न बाँकी भए पनि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन राप्रपा नेपालको नेतृत्व सकारात्मक रहेको छ । एक नेताले अन्नपूर्ण अनलाइनसँग बताए, संभवतः भोलि बिहान बस्ने बैठकले सरकारमा सहभागी हुने निर्णय गर्नेछ । पार्टी कायसम्पाद समिति र संसदीय दलको मंगलबारको संयुक्त बैठकका बोल्ने धेरै सदस्यहरुले सरकारमा सहभागी हुनुपर्ने पक्षमा धारणा राखेका थिए ।
यसबारेमा औपचारिक निर्णय लिन बुधबार बिहान संयुक्त बैठक बोलाइएको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले अन्नपूर्ण अनलाइनसँग बताए । उनले भने, 'जानुपर्ने नजानुपर्ने दुवै पक्षमा धारणा आएका छन् । बुधबार औपचारिक निर्णय हुन्छ ।'
भावी प्रधानमन्त्रीमा निश्चित भइसकेका प्रचण्डले मंगलबार पनि राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टेलिफोन गरेर सम्मानजनक हैसियतमा सरकारमा सहभागी हुन आग्रह गरेका छन् । प्रचण्डको आग्रहमा थापाले सकारात्मक प्रतिक्रिया दिएका छन् र बुधबार बिहानसम्म निर्णय लिएर जानकारी दिने बताएका छन् । यसअघि पनि सरकार निर्माण र सहभागिताबारे प्रचण्ड र थापाबीच पटकपटक वार्ता भएको छ ।
संसद्मा फरक धारको रुपमा स्थापित राप्रपा नेपाललाई सरकारमा सहभागी गराउँदा सरकार संचालन तथा संविधान कार्यान्वयनमा थप सहजता हुने विश्लेषणअनुसार राप्रपा नेपाललाई सरकारमा सहभागी गराउन पहल गरिएको छ । राप्रपा नेपाल पनि गठबन्धनमा सहभागी भएपछि प्रचण्डको पक्षमा झन्डै दुई तिहाई बहुमत पुग्नेछ ।