‘हिग्वेन घाइते भए एक डलरमा पिजा'
रोमः इटालियन सिरिए क्लब नापोलीले आफ्नो चिरप्रतिद्वन्द्वी युभेन्टसका अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्वेन चोटग्रस्त भएमा आफूले सञ्चालन गरेको रेस्टुरेन्टबाट एक युरोमै पिजा बेच्ने विवादास्पद निर्णय गरेको छ ।
नापोलीको उक्त निर्णयले युभेन्टससँगको द्वन्द्व अझ चर्किने संकेत गरेको छ । हिग्वेन अघिल्लो सातामात्रै नापोली छाडेर युभेन्टसमा आबद्ध भएका थिए । हिग्वेन सात करोड ५० लाख पाउण्ड मा युभेन्टससँग अनुबन्ध भएका हुन् ।
गत वर्ष युभेन्टसले इटालियन सिरिएको उपाधि जित्दा हिग्वेन नापोलीबाट सर्वाधिक गोलकर्ता बनेका थिए । कुल ३६ गोल गरेका हिग्वेनले सिरिएमा एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडीको ६६ वर्ष पुरानो कीर्तिमानसमेत आफ्नो नाममा लेखाएका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा नापोलीले पनि गत वर्ष सिरिएको शीर्ष पाँचभित्र आफूलाई उभ्याउन सफल भएको थियो ।
तर नयाँ सिजनको पूर्वसन्ध्यामा हिग्वेन प्रतिद्वन्द्वी क्लब युभेन्टसमा अनुबन्धित भएपछि नापोली र उसका समर्थक उनीप्रति निकै आक्रोशित बनेका छन् । त्यसैले नापोलीले हिग्वेन घाइते भएमा आफ्नो रेस्टुरेन्टले एक डलरमै पिजा बेच्ने निर्णय सार्वजनिक गरेको हो । नापोलीको उक्त विवादास्पद निर्णय आफ्ना क्षमतावान् खेलाडी अन्य क्लबमा जाँदा पूर्वक्लबहरू कति रुष्ट हुन्छन् भन्ने उदाहरण पनि हो ।
नापोलीले हिग्वेन घाइते भएको खुसीयालीमा पार्टी स्वरूप आफ्ना समर्थक र ग्राहकलाई एक डलरमै पिज्जा खुवाउने निर्णय गरेको हो । सामान्य रुपमा पिज्जाको मूल्य १० पाउण्ड पर्छ ।
नापोलीको पछिल्लो निर्णयमा २८ वर्षीय हिग्वेन र उनको नयाँ क्लब युभेन्टसले भने हालसम्म कुनै प्रतिक्रिया जनाएको गरेको छैन । हिग्वेनले नापोलीका लागि एक सय चार खेल खेल्दै ७१ गोल गरेका छन् ।