ओलीको प्रस्तावमा सहमति भएन

ओलीको प्रस्तावमा सहमति भएन

काठमाडौंः एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका तर्फबाट प्रधानमन्त्रीमा उम्मेदवारी दिनुपर्ने प्रस्तावमा स्थायी समिति सहमत नहुँदा एमालेले उम्मेदवार दिन सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको स्थायी समितिको बैठकको सुरुमा ओलीले प्रधानमन्त्रीमा उम्मेदवार उठाउने आशयका साथ छलफल गर्न प्रस्ताव गरेका थिए । तर ओली निकट स्थायी समिति सदस्य मुकुन्द न्यौपानेले त्यसको औचित्य नभएको भन्दै उम्मेदवार नउठाउने पक्षमा धारणा राखेका थिए ।

यस विषयमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपमहासचिव घनश्याम भुसाललगायतले समर्थन जनाएका थिए । उनीहरूले एउटा निर्वाचनलाई मात्र ख्याल गरेर निर्णय गर्न नहुने र संविधान कार्यान्वयनमा कतै न कतै सहमति खोज्न आवश्यक भएको भन्दै सदासयता अपनाउन आग्रह गरेका थिए । बैठकमा अधिकांश स्थायी समिति सदस्यले उम्मेदवार नउठाउन सुझाव दिएका थिए ।

महसचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य शंकर पोखरेलले भने उम्मेदवार उठाउनुपर्नेमा जोड दिएका थिए । स्रोतका अनुसार महासचिव पोखरेलले त एउटा च्याप्टर सकिएर अर्को सुरु भएको भन्दै उम्मेदवार उठाउन जोड दिएका थिए ।

स्थायी समिति बैठकले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री पदको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी नदिने, माओवादी केन्द्र र कांगे्रस गठबन्धनद्वारा प्रस्तुत हुने उम्मेदवारका विपक्षमा मतदान गर्ने र जिम्मेवार प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।

सोमबार अबेरसम्म एमाले शीर्ष नेता संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङलाई उम्मेदवार बनाउने तयारीमा थिए । उपाध्यक्ष वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी गरिएको भए पनि गौतमले उम्मेदवार बन्न अस्वीकार गरेको स्रोतको दाबी छ । गौतमले अध्यक्ष ओलीसँग संसदीय दलको उपनेता बनाउन आफूसँग भएको सहमति कार्यान्वयन गर्न माग गरेको थिए ।

 

ओलीले पार्टीको नवौं महाधिवेशनमा अध्यक्षमा सहयोग गरे गौतमलाई दलको उपनेता बनाउने सहमति गरेका थिए । सहमति कार्यान्वयन नगरेको भन्दै गौतम ओलीसँग असन्तुष्ट थिए । गौतमले प्रधानमन्त्रीमा उम्मेदवार बन्न अस्वीकार गरेपछि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माले महासचिव सीपी मैनालीलाई समेत प्रधानमन्त्रीको उम्मेदवार बनाउने कसरत भएको थियो ।

स्थायी समिति बैठकले नेपालको राजनीतिमा देखिएका पछिल्ला घटनाक्रम तथा प्रकट÷अप्रकट षड्यन्त्रले संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गरी मुलुकमा राजनीतिक रिक्तता सिर्जना गर्ने षड्यन्त्रप्रति सजग रहन सबै राजनीतिक दल तथा समुदायमा आह्वान गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बालुवाटारमा मंगलबार बसेको स्थायी समितिको बैठकको सुरुमा ओलीले प्रधानमन्त्रीमा उम्मेदवार उठाउने आशयका साथ छलफल गर्न प्रस्ताव गरेका थिए । 

बैठकले आगामी मंसिरमा स्थानीय तह, २०७४ वैशाखमा प्रदेश र कात्तिक-मंसिरमा संघीय संसद्को निर्वाचन गर्न वर्तमान सरकारद्वारा सार्वजनिक गरिएको कार्यसूचीलाई कार्यान्वयन नगर्ने र मुलुकलाई अनिश्चयमा धकेल्ने षड्यन्त्रप्रति सजग रहँदै निर्धारित मितिमा तहगत निर्वाचन सम्पन्न गर्न ध्यानाकर्षण गराएको छ ।
नेपालको राष्ट्रिय एकता, सामाजिक सद्भाव, मुलुकको स्वतन्त्रता र सार्वभौमसत्तामाथि खतरा उत्पन्न हुने गरी आउने कुनै पनि राजनीतिक प्रस्तावलाई अस्वीकार गर्ने निर्णय गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ गर्न पार्टीका तर्फबाट प्रभावकारी कदम चाल्ने निर्णय बैठकले गरेको छ ।

बैठकले ओलीलाई प्रधानमन्त्री पदमा निर्वाचित गर्न मतदान गर्ने तथा हालसम्म सरकारलाई साथ, सहयोग र समर्थन दिने राजनीतिक दल, सांसदलगायतलाई धन्यवाद दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.