पाँच प्रस्तावित राजदूतको सुनुवाई सकियो
काठमाडौंःसंसदीय सुनुवाइ विशेष समितिले मंगलबार ५ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न गरेको छ । पाकिस्तानका लागि प्रस्तावित सेवा अधिकारी, ब्राजिलका लागि ताराप्रसाद पोखरेल, अस्ट्रियाका लागि प्रकाशकुमार सुवेदी, बेलायतका लागि दुर्गाबहादुर सुवेदी क्षेत्री र रुसका लागि ऋषिराम घिमिरेको सुनुवाइ प्रक्रिया सकिएको हो ।
प्रस्तावित राजदूत अधिकारीले राजदूत भएर गएपछि आफूले नेपाल र पाकिस्तानबीचको आर्थिक, व्यापारिक र जनस्तरको सम्बन्ध सुधारका लागि प्रयास गर्ने बताइन् । उनले भारत र पाकिस्तानबीचको सम्बन्धमा असहजता रहेको भए पनि नेपालका तर्फबाट पर्यटन क्षेत्रमा सहकार्य हुनसक्ने बताइन् ।
‘पाकिस्तानमा आर्थिक र सामाजिक क्षेत्रमा भएका राम्रा पक्षलाई देशमा भित्र्याउन तथा यहाँ भएका राम्रा पक्षको पाकिस्तानमा प्रवद्र्धन गर्न मैले समन्वयकारी भूमिका निर्वाह गर्नेछु’, उनले भनिन् ।
चीन र पाकिस्तानबीचको आर्थिक कोरिडोर निर्माण भइरहेकाले नेपालले चीन हुँदै पाकिस्तानसँग भविष्यमा व्यापार गर्नसक्ने सम्भावना रहेको समेत उनले बताइन् ।
बैठकमा कांग्रेस सांसद डा. प्रकाशशरण महतले नेपालले पाकिस्तानमा निर्यात गर्नसक्ने वस्तुबारे जानकारी माग्दा प्रस्तावित राजदूत अधिकारीले चिया तथा कफी प्रशस्त निर्यात गर्न सकिने बताइन् ।
उनले नेपाली हस्तकला पाकिस्तानमा प्रवद्र्धन गर्न सकिने बताइन् । माओवादी केन्द्रका सांसद हितराज पाण्डेले अफगानिस्तान, टर्की, इरानलगायत मुलुकमा नेपाली कामदारले भोगेका समस्या समाधानबारे जिज्ञासा राखेका थिए ।
ब्राजिलका लागि नेपाली प्रस्तावित राजदूत ताराप्रसाद पोखरेलेको सुनुवाइका क्रममा सांसदले ब्राजिल फुटबलमा प्रसिद्ध रहेको उल्लेख गर्दै खेल कूटनीतिमार्फत लाभ लिन प्रयास गर्न पोखरेललाई सुझाव दिएका थिए ।
एमाले सांसद भानुभक्त ढकालले ब्राजिलस्थित राजदूतको कार्यक्षेत्राधिकारभित्र पर्ने अर्जेन्टिना, पाराग्वे र चिलीले फुटबल खेलमा पहिचान बनाएकाले त्यस क्षेत्रमा ध्यान केन्द्रित गर्न सुझाए ।
पोखरेलले आफूले कृषि, जलविद्युत् र खेलकुदका क्षेत्रमा ब्राजिलसँग सम्बन्ध विस्तार गर्न पहल गर्ने बताए । भारत र चीनमा आउने ब्राजिलका लगानीकर्तालाई नेपाल भित्र्याउन आफूले पहल गर्ने उनले बताए ।
‘ब्रिक्ससहित अन्य क्षेत्रीय तथा बहुपक्षीय मञ्चमा ब्राजिलले महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । नेपालले ब्राजिलसँगको सहकार्यबाट लाभ लिने धेरै कुरा छन्’, उनले भने ।
अस्ट्रियाको भियनास्थित राष्ट्रसंघीय स्थायी प्रतिनिधिमा सिफारिस प्रकाशकुमार सुवेदीले आफूले त्यहाँस्थित राष्ट्रसंघीय एजेन्सीसँग समन्वय गरी नेपालको हित प्रवद्र्धन प्रयास गर्ने बताए ।
‘युनाइटेड नेसन्स इन्डस्ट्रियल डेभलपमेन्ट अर्गनाइजेसन, इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सी, युनाइटेड नेसन्स अफिस अन ड्रग्स एन्ड क्राइमलगायत राष्ट्रसंघीय एजेन्सीसँग सहकार्य गर्न म समन्वयकारी भूमिका निर्वाह गर्नेछु’, उनले भने ।
इटाली आफ्नो कार्यक्षेत्राधिकारभित्र पर्ने मुलुक भएकाले विश्व खाद्य कार्यक्रमलगायत संस्थासँग नियमित सम्पर्कमा रही राष्ट्रिय हितका पक्षमा आफूले काम गर्ने उनले बताए ।
सरकारले अस्ट्रियामा नयाँ दूतावास खोल्ने निर्णय गरेको हुँदा आफ्नो ध्यान दूतावास कार्यालय स्थापना र व्यवस्थापनमा पनि केन्द्रित रहने बताए ।
बेलायतका लागि प्रस्तावित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायत र नेपालबीच सीधा हवाई सेवा सन् २०१८ भित्र सुरु गर्न आफूले पहल गर्ने बताए ।
बेलायत र नेपालबीच प्रधानमन्त्री, विदेशमन्त्री र मन्त्रीस्तरका विभिन्न भ्रमण आयोजना गर्न पहल गर्ने उनको भनाइ थियो । बेलायतस्थित विश्व पर्यटन संगठनसँग नजिक रही काम गर्ने र त्यसबाट नेपालले लाभ लिन प्रयास गर्ने सुवेदीले बताए ।
रुसका लागि प्रस्तावित राजदूत ऋषिराम घिमिरेले रुससँग नेपालको सहकार्यका सबै क्षेत्रको विस्तारमा आफूले पहल गर्ने बताए । नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा हुन लागेको बताउँदै उनले रुसबाट लगानी भित्र्याउन नेपालभित्र उपयुक्त वातावरण आवश्यक हुनुपर्ने बताए ।
‘राजदूतले चाहँदैमा मात्र सबै कुरा गर्न सक्दैन । देशभित्रको वातावरण राम्रो हुन आवश्यक छ’, उनले भने । दुई देशबीच उच्चस्तरीय भ्रमण गराउन तथा नेपाल-रुसबीच सांसदको ककस निर्माण गर्न आफूले पहल गर्ने उनले बताए । समितिको बुधबार बिहान बस्ने बैठकले परराष्ट्र सेवाबाटै प्रस्तावित राजदूत झविन्द्र अर्याल, रमेश खनाल र लोकबहादुर थापाको संसदीय सुनुवाइ गर्ने समितिका सभापति केबी गुरुङले बताए ।
राजनीतिक कोटाबाट प्रस्तावित १४ जना राजदूतको सुनुवाइप्रक्रिया अघि बढाउने विषयमा समिति अन्योलमा परेको छ । ‘नयाँ सरकारले सुनुवाइ रोक्न भन्यो भने हामी सुनुवाइ रोक्छौं’, उनले भने, ‘अहिले नै के हुन्छ भन्न सकिने अवस्था छैन ।’