गाैरिका रियो ओलम्पिक कान्छी खेलाडी
काठमाडौंःनेपाली युवा पौडीबाज गौरिका सिंह रियो ओलम्पिकमा सहभागी हुने खेलाडीमध्ये सबैभन्दा कान्छी उमेरकी खेलाडी भएको पक्का भएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले शुक्रबारबाट ब्राजिलको राजधानी रियोमा सुरु हुने ओलम्पिक खेलकुदमा प्रतिस्पर्धा गर्ने खेलाडीमध्ये गौरिका सबैभन्दा सानी उमेरको खेलाडी भएको पक्का गरेको हो ।
रियो ओलम्पिकमा दुई सय ६ देशबाट १० हजार दुई सय ९३ खेलाडीले सहभागिता जनाउँदै छन् ।आइतबार गौरिकाले नेपालको प्रतिनिधित्व गर्दै एक मिटर ब्याक स्ट्रोकमा प्रतिस्पर्धा गर्दा उनी आधिकारिक रूपमा रियो ओलम्पिकमा प्रतिस्पर्धा गर्नेमध्ये कान्छी उमेरकी खेलाडी घोषित हुनेछिन् । उनी त्यसबेला १३ वर्ष र दुई सय ५५ दिनकी हुनेछिन् ।
नेपालको राष्ट्रिय टोलीबाट हालै भारतको सिलोङ र गुवाहाटीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा समेत सहभागिता जनाएकी गौरिकाले नेपाललाई चार पदक दिलाएकी थिइन् । १२ औं सागमा गौरिकाले एक रजत र तीन कांस्य पदक जितेकी थिइन् । हाल आफ्नो अभिभावकस“ग लन्डनमा बस्दै आएकी गौरिकाले २०१५ को जुनबाट मात्रै नेपालमा राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न थालेकी हुन् । त्यसयता उनले सात राष्ट्रिय कीर्तिमान आफ्नो नाममा बनाइसकेकी छिन् ।
उनले नेपालको तर्फबाट गत अगस्टमा रसियाको काजनमा भएको विश्व च्याम्पियनसिपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।
उनले रियो ओलम्पिककी कान्छी खेलाडी भएकोमा आफैंलाई अविश्वासिलो लागेको प्रतिक्रिया दिएकी छिन् । ‘रियो ओलम्पिककी कान्छी खेलाडी भएको पहिलो पटक सुन्दा विश्वास नै लागेको थिएन', गौरिकाले भनेकी छिन् । गौरिका रियो ओलम्पिक कै सर्वाधिक कम उमेरकी खेलाडी भएकोको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत प्राथमिकताका साथ दिएका छन् ।