तनहुँ हाइड्रो बन्न अझै एक वर्ष

तनहुँ हाइड्रो बन्न अझै एक वर्ष

दमौलीः बहुप्रतिक्षित तनहुँ जलविद्युत आयोजना बन्न अझै एक वर्ष लाग्ने देखिएको छ । आयोजनासम्बद्ध अधिकारीहरुका अनुसार आयोजनाको ठेकेदार छनोटको काम थालिए पनि छनोट भैसकेर काम थाल्दा करिब एक वर्ष लाग्ने छ ।

तनहुँको व्यास नगरपालिका ७ पाटन र काहुँशिवपुर गाविसमा निर्माण हुन लागेको एक सय ४० मेगावाट क्षमताको आयोजनाको काम निकै सुस्त गतिमा अघि बढेको छ । यसअघि सन् २०११ बाट निर्माण शुरु हुने बताइएको आयोजनाको काम निकै सुस्त गतिमा अघि बढ्दा अझै कामै शुरु हुन सकेको छैन ।

आयोजनाका उप निर्देशक विदुर अधिकारीले पूर्व योग्यता पुगेका ठेकेदार कम्पनीको छनोट भए पनि उनीहरुमध्येबाट आवश्यक कागजात अध्ययनको काम चलिरहेको बताए । नौवटा अन्तर्राष्ट्रिय ठेकेदार कम्पनीहरुको कागजात अध्ययनका आधारमा निर्माण कम्पनी छानिने उनले बताए । यसका लागि पूर्व योग्यता पुगेका कम्पनीहरुले अबको तीन महिनाभित्रमा कागजात पेश गर्ने र त्यसको अध्ययन पश्चात छनोट हुने उनले बताए ।

देशले उच्च लोडसेडिङको मार खेपिरहेका बेला चालु आर्थिक वर्षको शुरुमै आयोजनाको काम शुरु हुने यसअघि आयोजनाले नै बताएको थियो । तर परामर्शदाता छनोटको विषयमा तत्कालीन उर्जा मन्त्री राधा ज्ञवालीको विवादास्पद निर्णयका कारण पनि प्रक्रिया थप लम्बियो ।

परामर्शदाता छनोट पछि पनि उसले समेत समयमै काम नसक्दा ग्लोबल टेण्डरको काम पनि ढिलो भएको थियो । आयोजना उप निर्देशक अधिकारी काममा ढिलाइ भएको स्विकार्छन् ।

‘काममा ढिलो भएकै हो । अब हामी द्रुत गतिमा काम गर्नेछौं,' उनले भने । स्थानीय नागरिक आयोजनाको काम शुरु हुन नसकेकोमा असन्तुष्ट छन् । ‘काम थाल्ने भनेको दशकौं भैसक्यो,' आयोजना प्रभावित क्षेत्र बेलबासका स्थानीय यमबहादुर आलेले भने,‘हामी कामबाट कत्ति पनि सन्तुष्ट छैनौं ।'

रिसिङ कोटदरबारका यम सारुले जलाशय क्षेत्रको जग्गाको काम पनि शुरु हुन नसकेको भन्दै आयोजनाले सन्तोषजनक काम नगरेको बताए । छाङका नरसिं रानाले काममा ढिलासुस्ती भएका कारण अझै पनि समयमा काम थालिनेमा शंका लागेको बताए ।

लागत बढेको बढ्यै

आयोजनाको काममा ढिलो हुँदै गर्दा सम्भावित लागत रकम पनि बढ्दै गएको छ । यसअघि करिब ३३ अर्ब लागत अनुमान गरिएकामा गत वर्ष यसमा संसोधन गरेर ४० अर्ब पुर्‍याइएको थियो । तर पछिल्लो बजार मुल्यका आधारमा लागत ५० अर्ब (पाँच सय मिलियन डलर) पुग्ने प्रक्षेपण गरिएको छ । ‘अहिलेको बजार मुल्यका आधारमा यो सामान्य अनुमान हो,' उप निर्देशक अधिकारीले भने । यसमा पनि तत्काल काम शुरु नभएमा थप वृद्धि हुनसक्ने पक्का छ ।

१३ सय रोपनीको मुआब्जा बाँकी

आयोजनाको काममा ढिलासुस्ती छ भन्ने कुरा आयोजनाको काम थाल्ने भनिदासम्म पनि करिब १३ सय रोपनी जग्गाको मुआब्जाको प्रक्रिया समेत शुरु नभएबाट प्रष्ट हुन्छ । मुख्य निर्माण क्षेत्रको एक सय ४० रोपनीको मुआब्जा दिइए पनि जलाशय क्षेत्रको १३ सय रोपनी जग्गाको मुआब्जाका लागि काम समेत शुरु हुन सकेको छैन ।

आयोजनाले यसै वर्ष जलाशय क्षेत्रको मुआब्जाका लागि काम थाल्ने सह निर्देशक लोकप्रसाद नेपालले बताए । उनले यसका लागि प्रक्रिया शुरु भैसकेको दाबी गरे । आयोजनाले यसै वर्ष कर्मचारी आवास र निर्माण क्षेत्र पुग्ने सडकको कालोपत्रे गर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.