बूढीगण्डकीले दस घर बगायो

बूढीगण्डकीले दस घर बगायो

गोरखाः निरन्तरको वर्षाले गोरखाको सिर्दिबास-१ जगत गाउँका १० घर बगाएको छ । बूढीगण्डकीले धार परिवर्तन गरी गाउँतिर कटान गर्न थालेपछि जगतको बगरटोलको पूरै विस्थापित भएको छ ।

‘तीन दिनयता १० घर बगायो', स्थानीय लक्ष्मण घलेले भने, ‘हामी माथि भीरपाखामा त्रिपाल टाँगेर बसेका छौं ।' उनका अनुसार आइतबार पूर्णबहादुर गुरुङको घर बगाएको थियो । त्यसयता बेलबहादुर लामा, अभिषेक लामा, कृष्णबहादुर लामा, विशाल हिमाली घले, दिलमाया गुरुङ, विशाल गुरुङ, कमानसिंह घले, मानबहादुर गुरुङ र धनबहादुर गुरुङको घर बगाएको छ ।

सोमबार राति विशाल हिमाली घलेको घर बगाएको उनले बताए । ‘मेरो छोरा विशालको तीनवटा होटेल थिए । हिजो राति सबै बगायो', उनले भने, ‘अरू दुईवटा होटेल पनि बगायो ।' नौ दस दिनदेखि बूढीगण्डकी बगरटोलतर्फ नजिकिएको थियो ।

जगत मनास्लु ट्रेकिङ क्षेत्रको मुख्य बजार हो । यहाँ मनास्लु क्षेत्रमा उडान गर्ने हेलिकोप्टरले तेल भर्ने बिसौनी पनि थियो । ‘बूढीगण्डकीले हेलिप्याड पनि लग्यो’, अर्का स्थानीय राजेन्द्र कार्कीले भने, ‘गण्डकीले घर भत्काउन थालेपछि गाउँलेले घरको काठपात, जस्ता डोरीले बाँधेर तान्दै जोगाएका छन् । त्यही जस्ता र काठपातले टहरो बनाएर पखेरोमा बसेका छन् ।' जगतको माथिल्लो टोलमा २५ घर छन् । त्यहाँसम्म भने गण्डकी पुग्न सकेको छैन । बगरटोल नयाँ बस्ती हो । यहाँ करिब १५ वर्षयता बसोबास गर्न सुरु भएको हो ।

 

गाउँनै खाली हुने गरी बूढीगण्डकी पसेपछि गाउँलेको अलापबिलाप भएको अर्का स्थानीय सरिता घले बताउँछिन् । ‘गाउँलेको बिलाप भयो । सरकारले देखेन', उनले भनिन्, ‘साउन १२ गतेदेखि गण्डकी गाउँतिर आएको हो । धमाधम घर बगाएको छ । तर हाम्रो कुरा सरकारले थाहा पाएन ।' जगत चौकीका प्रहरी भने आइपुगेको उनले बताइन् । ‘प्रहरी दिनदिनै आउँछन्', उनले भनिन्, ‘उनीहरूले पनि के गर्ने हो र ? तपाईँहरूलाई खतरा छ । यहाँ नबस्नू मात्र भनेर जान्छन् ।' गाउँलेहरू गत वर्षको राहतको भरमा रहेको उनले बताइन् ।

बूढीगण्डकी गाउँमा पसेपछि स्थानीयवासी त्रासमा छन् । ‘रातभरि निद्रा लाग्दैन', सरिता भन्छिन्, ‘गाउँलेहरू उठ्दै गण्डकीतिर लाइट बालेर हेर्दै रात बिताउँछन् ।' केटाकेटीहरू टहरोभित्र पस्न पनि डराउने उनले बताइन् ।
सदरमुकामबाट ३० कोस दूरीमा रहेको जगत हिमालपारि पर्ने गाउँ हो । यो वर्ष बाटो बिग्रिएका कारण खच्चड हिँड्न सकेका छैनन् । सामान ढुवानीको एक मात्र विकल्पको रूपमा रहेको खच्चड पनि नहिँड्दा उनीहरूलाई खानेकुराको अभाव भएको लक्ष्मण घलेले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.