जथाभावी डोजर चलाउँदा प्युठानमा पहिरो
दाङः जथाभावी बाटो खन्ने, नयाँ ट्रयाक खोल्ने र डोजर र एक्साभेटरजस्ता ठूला निर्माण सामग्रीको प्रयोग गर्दा जमिन कमजोर भएर प्युठानमा धेरै पहिरो खसेको निष्कर्ष निकालिएको छ ।
साउन १० र ११ गते प्युठानका विभिन्न ठाउँमा पहिरो जाँदा ३८ जनाको मृत्यु भएको थियो भने पाँच हजारभन्दा बढी विस्थापित भएका छन् । त्यस्तै ६ जना अझैं हराइरहेका छन् ।
पहिरोलगत्तै प्युठानका केही प्राविधिक गएर विभिन्न ठाउँको पहिरो अध्ययन गरेका थिए । त्यो अध्ययन टोलीले पहिरो गएका धेरै ठाउँको माटो कमजोर भएकाले पहिरो गएको निष्कर्ष निकालेको छ । नयाँ खोलिएका बाटोछेउछाउमा बढी पहिरो गएको छ । केही समयअघि रजवारा गाविसमा पहिरो जाँदा एकै परिवारका पाँचजनाको मृत्यु भएको थियो । त्यो पनि यही वर्ष खनिएको बाटो भस्किएर पहिरोले घर पुरेको थियो । अहिले पहिरोले सबैभन्दा बढी क्षति प्युठानको फोप्ली गाविसमा पुर्याएको छ । त्यो गाविसमा मात्रै पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ भने ६ जना अझै हराइरहेका छन् ।
यो गाविसमा सबैजसो जमिन कमजोर भइसकेको स्थानीय बताउँछन् । स्थानीयवासीका अनुसार अहिले जमिन कमजोर भएर जहाँतहीँ रसाउन थालेको छ । जमिन कुल्चिदाँसमेत थलथल गरेर पानी निस्किने गरेको छ । त्यसमाथि पनि केही वर्षदेखि फोप्लीको पहाडमा डोजर र एस्काभेटर लगाएर ठूल्ठूला बाटो खोलिएका छन् । गाविसका सबैजसो पहाड फोरेर कच्ची बाटोको ट्र्याक खोलिएको छ । त्यसले पनि जमिन कमजोर भएर पहिरो गएको स्थानीय तथा प्राविधिकको भनाइ छ ।
‘जहाँ बाटो खनिएको छ, पहिरो पनि त्यही नयाँ बाटो खोलिएको ठाउँमा बढी गएको छ’, फोप्ली गाविस ५का स्थानीय भेषराज भन्डारीले भने, ‘डोजर र एस्काभेटरले थर्काएका पहाड अनि जमिन सबै धुजाधुजा भएर फाटेका छन् । पानीको मुहान रसाउन थालेका छ ।'
फोप्ली-१ लुप्लुङस्थित सातताले सामुदायिक वन क्षेत्रको पहाडमा रहेको चुनढुंगा उत्खननका लागि यो गाविसका कैयौँ वडा जोडिने गरी नयाँ बाटो यसै वर्ष खोलिएको थियो । यो पहाडमा चुनढुंगा उत्खनन गर्न काठमाडौंको शुभ श्री सिमेन्ट प्रालिले ठेक्का लिएको छ । सोही चुनढुंगा उत्खननका लागि गाविसले सिमेन्ट उद्योगलाई त्यहाँसम्म बाटो खन्ने अनुमति दिएको थियो । उक्त बाटो खन्न यो वर्ष धेरै डोजर तथा एस्काभेटर प्रयोग गरिएको थियो । अघिल्लो आर्थिक वर्षदेखि निर्माण थालिएको अँधेरीखोला-लुप्लुङ-फोप्ली पुर्याउने यो ग्रामीण सडकको निर्माण यसै वर्ष मात्रै सकिएको थियो ।
बिनाअनुगमन जथाभावी पहाडहरूमा डोजरले खन्दा जमिन कमजोर भएको स्थानीयको गुनासो छ । ‘बाटो खन्दा पनि पहाड नै थर्किन्थ्यो’, भन्डारीले भने, ‘अहिले त्यहीँ ठाउँबाट पहिरे खसेर गाउँमा यत्रो क्षति पुर्याएको हो ।' यो वर्ष खनेको जति बाटो सबै कामै नलाग्ने गरी भत्किसकेको छ । मोटरबाटो वरिपरि पर्ने तोरीवाङ, भीरकुना, गातिना र ठूलोगाउँको बस्तीमा दर्जनौं ठाउँमा बाटोको तलमाथिबाट पहिरो खसेको छ ।
बाटोको उपभोक्ता समितिका अध्यक्ष फोप्ली ९ का ज्ञानु रानाले भने प्राविधिकहरूले नै सिफारिस गरेर बाटो खनिएका कारण त्यस्तो हुन नसक्ने बताए । ‘धेरैजसो बाटो खनिएकै ठाउँमा पहिरो गएको छ, किनकि त्यहाँको माटो कमजोर थियो', उनले भने, ‘कतिपय बाटै नपुगेका वडाहरूमा पनि पहिरो गएको छ ।' सबैभन्दा बढी मानवीय क्षति फोप्लीको ५ नं वडामा भएको थियो ।
यही वडामा सबैभन्दा धेरै पहाड खनेर बाटो खोलिएको छ । उनका अनुसार पहिरो गएपछि प्राविधिक र स्थानीयको टोलीले त्यहाँको जमीनसमेत अनुगमन गरेको थियो । ‘त्यो अनुगमन टोलीमा म पनि थिएँ त्यहाँको धेरैजसो रातो माटो छ, रातो माटो त्यसै कमजोर हुन्छ', उनले भने, ‘धेरै ठाउँमा कमजोर जमिन छ केही ठाउँमा बाटोकै कारणले पहिरो गएको होला तर सबै ठाउँमा त्यस्तो छैन ।'
त्यस्तै झिमरुक नदी किनारको छेउमा रहेका बिजुवार, बाग्दुला, दाखाक्वाडी, विजयनगर, खप्रेङखोला, दम्ती, बरौला, बाहाने, धुवाङ र पकला क्षेत्रका बस्तीहरू डुबान र कटानको खतरामा परेका छन् । ‘नयाँ बाटो खन्ने नाममा जमिन कमजोर पारियो, डोजर लगाउँदा जमिन धेरै फाटेको छ’, बरौलाका स्थानीय सुरेशचन्द्र थापाले भने, ‘बाटो खन्दा गाउँमा भएको माटो र ढुंगा खोलामा ल्याउँदा डुबानको खतरा भएको छ ।'
उनका अनुसार पहाड फोरेर नयाँ खनिएका बाटोहरूमै बढी पहिरो खसेका छन् । ‘जहाँ जहाँ पहाडहरू खनिएका छन्, जहाँ पहड उत्खनन भएको छ ती ठाउँहरूमा पहिरो खसेको छ', उनले भने, ‘भूक्षय धेरै भएको छ, अझैं यस्तो काममा सावधान नभए झन् ठूला पहिरो खस्ने डर छ ।'