बालुवाटारमा पिपल रोपेर बाहिरिए ओली
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटारमा पिपल रोपेर बिदा भएका छन् ।
व्यवस्थापिका संसदले बुधबार नै नयाँ प्रधानमन्त्री चयन गर्ने निश्चित भएपछि ओली बालुवाटारबाट बाहिरिएका हुन् ।
सरकारी निवास छाड्नुअघि ओलीले बालुवाटारमा रहेका कर्मचारी तथा सुरक्षाकर्मीसँग भलाकुसारी गरेका थिए । आफू बालुवाटारमा रहँदा पुर्याएको सहयोगको प्रशंसा गर्दै ओलीले कर्मचारी र सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेको उनका प्रेस सल्लाहकार प्रमोद दहालले बताए ।
बालुवाटार छाडेका ओली संसद बैठकमा सहभागी हुन संसदभवन नयाँ बानेश्वर आएका छन् । उनी आजै स्वतन्त्र युवा अभियानको नेतृत्वमा हुने जुलुससहित बालकोट पुग्ने तयारी छ ।
ओलीलाई मोटरसाइकल तथा गाडीले स्कर्टिङ गरी बालकोट पुर्याउने युवा संघको तयारी छ ।
बालकोट चोकमा पनि धिमे बाजासहित ओलीको स्वागत गर्ने कार्यक्रम रहेको छ ।