प्रचण्डले संसद्मा भने, 'बन्दुक लिएर लडेको सुप्रिम कमाण्डर हुँ'
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकमा आफू बन्दुक लिएर लडेको सुप्रिम कमाण्डर हुँ भन्दै देशमा जारी सम्पूर्ण विभेद अन्त्य गर्ने बताएका छन् ।
संसद बैठकमा सम्बोधन गर्दै प्रचण्डले भने–‘मेरो र मेरा दलका केही जिम्मेवारी छन् । सायद म यो समस्या समाधान गर्ने इतिहासले अगाडि सारेको स्वभाविक पात्र भएको ठान्छु ।'
प्रचण्डले भने–‘म स्वभाविक पात्र बनेको छु, जसले मधेस, आदिवासी, जनजाति, थारु, दलितसबैसँग सहकार्य गर्न सक्छु । बन्दुक लिएर लडेको सुप्रिम कमाण्डर पनि म हुँ मधेसमाथिका सांस्कृतिक विकृतिको कमाण्डर पनि हुँ । त्यसर्थ म विभेदको अन्त्य गर्ने विश्वासका साथ अगाडि बढेको छु ।'
प्रचण्डले मधेससँगको सम्बन्धका बारेमा भने, ‘हामीलाई एक आपसमा अलग बनाउने पर्खाल होइन एक आपसमा जोड्ने पुल चाहिएको छ, मदेशसँग मतभेद होइन मनभेद भयो । कताकता मदेश र देशको सम्बन्ध के हो भन्ने विचित्रको कुरा हामीले देख्न र सुन्न पायौँ । मतभेद हटाएर मनोवैज्ञानिक भेदलाई हटाउनु मेरो प्राथमिकतामा छ ।'