ओलीलाई प्रचण्डको जवाफ, चिन्ता नमान्नुहोस् फास्ट–ट्रयाक हामी बनाउछौँ
काठमाडौँः ‘चिन्ता नगर्नुहोस् प्रधानमन्त्रीज्यू विलकुल चिन्ता नमान्नुहोस् फास्ट ट्रयाक हामी बनाउछौँ ।’ साउन ९ गते व्यवस्थापिका संसदमा राजीनामा दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको काठमाडौँ–निजगढ फास्ट ट्रयाकको भविष्य अब के हुन्छ ? प्रश्नको जवाफ बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसरी दिए ।
ओलीले राजनीनामा दिने क्रममा प्रचण्डलाई सात प्रश्न गरेका थिए । ति प्रश्नको जवाफ प्रचण्डले क्रमश दिए । प्रचण्डले केरुङ, काठमाडौँ, पोखरा लुम्बिनी रेलसेवा समेत बनाउने जवाफ दिए ।
प्रचण्डले भने, ‘रेलमार्ग बनाउछौँ । तर, तपाईंले भनिदिनुपर्छ रेलमार्ग ऋणले बनाउने कि अनुदानले बनाउने ? हाम्रो साधारण खर्च पनि ऋणमा चलेको छ, स्रोत देखाइदिनुहोस्, हामी त्यो रेलमार्ग अवश्य बनाउनेछौँ ।’
प्रचण्डले शैक्षिक प्रमाणपत्र धितो राखेर विद्यार्थीलाई ऋण दिने योजनालाई निरन्तरता दिने, भैरहवा र निजगढ विमानस्थल, हुलाकी राजमार्ग बनाउने , सबै अल्पसंख्याक समुदाय र सामाजिक सुरक्षाका कार्यक्रमलाई समेत निरन्तरता दिने उद्घोष गरे ।
ओलीले गरेको प्रश्नको जवाफ दिनुअघि प्रचण्डले नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को ४९ उपनियम (४) बमोजिम नेपालको प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गरे ।
प्रचण्डले उम्मेदवारी प्रस्तुत गर्ने क्रममा जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा ज्यान गुमाएकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै घाइतेप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गरे ।
उनले राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेकोमा आफू ज्यादै खुसी नभएको तर सहमति अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे । राष्ट्रिय मुद्दामा सहमति गर्न सकिने र प्रधानमन्त्री निर्वाचित भएमा आफूले सहकार्य र सहमतिका निम्ति भरमग्दुर प्रयत्न गर्ने प्रतिवद्धतासमेत प्रचण्डले व्यक्त गरेका छन् ।
एमालेबाट बाट प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णयलाई आफूले सकारात्मक रुपमा लिएको बताउँदै उनले एमालेसँगको सहकार्य जारी रहने, भूकम्पपछिको पुनःनिर्माण, शान्तिप्रक्रिया टुङ्ग्याउने र संविधान कार्यान्वयन, सन्तुलित परराष्ट्र नीतिको सञ्चालन आफू नेतृत्वको सरकारको प्रमुख प्राथमिकता हुने स्पष्ट पारे । निषेधको राजनीति नगरौ, सहमति र सहकार्यको राजनीति आफ्नो चाहना भएको पनि उनलेब ताए ।
‘ध्र्रुवीकरण होइन आपसी विश्वास अहिलेको आवश्यकता हो, मतभेद हटाउनैपर्छ । मधेसका असन्तुष्टि अन्त्य गर्नैपर्छ । मधेस समस्या समाधान गर्न पुलको भूमिका निर्वाह गर्नेछु,’ प्रचण्डले भने ।
प्रचण्डले गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षताजस्ता विषय परिवर्तनका खास एजेन्डा भएकाले त्यसलाई संस्थागत गर्नेसमेत उल्लेख गरे । देश निर्माणको नयाँ शैलीको खोजी गर्नुपर्ने बताउदै नयाँ नेपालको वास्तविक गोरेटो कोर्न १० वर्ष लागेको र विगतको अनुभव संश्लेषणका आधारमा सबै नेपाली र राजनीतिक दलले सङ्कल्प गर्नुपर्ने प्रचण्डको भनाइ छ ।