प्रचण्डले भावुक हुँदै भने–मबाट धेरै कमजोरी र भूल भएका छन्
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसदमा सम्बोधन गर्नेक्रममा भावुक हुँदै आफुबाट धेरै भुल र कमिकमजोरी भएको स्वीकार गरेका छन् ।
आफू जनता र राष्ट्रको हितमा लडेको एउटा सामान्य सिपाही रहेको बताउँदै प्रचण्डले भने–'देश र जनताको लागि लड्दा धेरै कमिकमजोरी भएको छ, त्यसको हेक्का मलाई छ ।'
मेरो कारणले देश र जनतालाई कति क्षति पुगेको छ भन्ने कुरा इतिहासले मुल्यांकन गर्नेछ र मुल्यांकन हुनुपर्छ । मलाई राम्रो र गल्ती दुवै गर्ने अवसर प्राप्त भयो । यो थोरै व्यक्तिलाई मात्र मिल्छ । यसले मैले धेरै पाठ सिकेको छु ।
आफू अस्थिर स्वभावको भएको भन्दै प्रचण्डले भने–'म अलि अस्थिर स्वभावको मान्छे । यो स्वभावले मलाई कमजोर पनि बनाउँछ । तर, म अलि अस्तिर नभएको भए के हुन्थ्यो होला ? म अस्थिर नभएको भए जनयुद्ध के हुन्थ्यो होला ? शान्ति प्रक्रिया के हुन्थ्यो होला ? संघीयता के हुन्थ्यो होला ? संघीय लोकतान्त्रिक आन्दोलन के हुन्थ्यो होला ?'
प्रचण्डले केपी ओली, माधव नेपाल, झलनाथ खनाललाई सम्बोधन गर्दै भने–'मैले तपाईंहरुलाई पनि भनेको हो । यदी म अस्थिर नभएको भए के हुन्थ्यो होला ?' प्रचण्डले आफ्नो अस्थिर पनाले धेरै साथीहरुलाई फाइदा पुर्याएको पनि बताए । उनले भने–'मेरो अस्थिर पनाले देश र जनताको लागि केही क्षति भएको भएपनि यो गतिशिलता भएको मैले बुझेको छु ।'
सम्बोधनका क्रममा आफूलाई कहिल्यै प्रधानमन्त्री हुन्छु जस्तो नलागेको भन्दै प्रचण्डले आफ्नो बाल्यकालदेखि जनयुद्ध, शान्तिप्रक्रिया र पछिल्लो राजनीतिक घटनाक्रममा भएका गतिविधिको स्मरण गरेका थिए ।