साथी बदल्न सकिन्छ तर छिमेकी बदल्न सकिदैनः देउवा
काठमाडौँः कांग्रेस सभापति शेरबहादुर देउवाले साथी बदल्न सकिए पनि छिमेकी बदल्न नसकिने भन्दै भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
व्यवस्थापिका संसदमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रधानमन्त्री पदको उम्मेदवारीको प्रस्तावकको तर्फबाट बोल्दै देउवाले दुई शक्तिशाली छिमेकीसँगको सम्बन्धलाई सन्तुलित बनाउनुपर्नेमा जोड दिएका हुन् ।
‘साथी बदल्न सकिन्छ तर छिमेकी बदल्न सकिदैन, हाम्रो राष्ट्रियहितका लागि भारत र चीनसँगको सन्तुलित सम्बन्ध महत्वपूर्ण छ,’ देउवाले भने, ‘हामीले दुई ठूला राष्ट्रका बीचमा खेल्ने काम गर्नु हुँदैन ।’
देउवाले भारत र चीनसँग राम्रो सम्बन्ध राखे मात्र राष्ट्रियहित हुने बताए । ‘हामीले भारत र चीनसँग राम्रो सम्बन्ध राख्नुपर्छ । दुवै देशसँग राम्रो सम्बन्ध राख्नु नै हाम्रो राष्ट्रियहित हुन्छ,’ देउवाले भने ।
देउवाले भारत र चीनसँगको सम्बन्धमा ति देशको सुरक्षा चाँसो समेत रहेकाले दुवै देशसँगको सम्बन्धलाई सधैँ सन्तुलित बनाउनुपर्नेमा समेत जोड दिए। कांग्रेस सभापति देउवाले भारत र चीनसँगै अन्य मित्रराष्ट्रसँग समेत राम्रो सम्बन्ध राखेर देश विकास गर्नुपर्नेमा जोड दिए ।
‘हामीले भारत र चीनसँगै अन्य मित्रराष्ट्र अमेरिका, बेलायत, रुस, जापानसँग राम्रो सम्बन्ध राखेर देशको विकास गर्नुपर्छ’, ‘सन्तुलित विदेश नीति लाागु गरेमा हाम्रो देश सुन्दर, शान्त र विकसित बन्ने छ ।’