प्रधानमन्त्रीको निर्वाचनमा जे देखियो...
काठमाडौँ: सरकारबाट बाहिरिएको २० दिनपछि संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेसँगै सत्ता फेरबदलको राजनीतिक क्रमले मूर्तरुप लिएको छ ।
दोस्रो ठूलो दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा संयुक्त सरकार बनाउन निर्णायक भूमिका खेलेका माओवादी केन्द्रले ओली सरकार ढाल्न पनि मुख्य भूमिका निर्वाह गर्यो। सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनका कारण प्रधानमन्त्रीमा दाहाल ओलीले भन्दा २५ मत बढी प्राप्त गरी निर्वाचित भएका हुन् ।
आज बिहान ११ बजे बस्ने भनिएको बैठक केहीबेर ढिला भई सुरु भएको थियो । उम्मेदवारको सूचनाको प्रस्तुतिपछि प्रस्तावक तथा समर्थकले मन्तव्य दिएसँगै सभामुख ओनसरी घर्तीले प्रस्तावलाई मत विभाजनका लागि निर्णयार्थ प्रस्तुत गरेकी थिइन ।
नयाँ बानेश्वरको संसद् बैठकमा निर्वाचित भएको घोषणासँगै दाहाललाई बधाई दिन सांसदको भीड लागेको थियो । कांग्रेस सभापित शेरबहादुर देउवा लगायतको बधाईका साथै प्रधानमन्त्री ओलीले पनि उनलाई हात मिलाएर बधाई दिए ।
सभामुख घर्तीले बधाईका लागि प्रधानमन्त्रीको कक्षमा व्यवस्था मिलाएको जानकारी दिए पनि सांसदहरु बैठक कक्षमा खादा र माला लिएर लाइनबद्ध देखिएका थिए । समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंहले त दुबोकै माला लगाइदिए । बधाई दिने क्रममा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल दाहालको आशनमा पुगेका थिए भने ओलीले आफ्नै आशनमा आइपुगेका दाहाललाई हात मिलाएर बधाई दिएका छन् ।
निर्वाचित भएको घोषणापूर्व पनि सांसदले हाउभाउबाट दाहाललाई बधाई दिइरहेको देख्न सकिन्थ्यो । त्यही बीचमा राप्रपाका सांसद सुनील बहादुर थापाको मोबाइलबाट दाहालले कतै फोनमा कुराकानी गरेको दृश्य फोटो पत्रकार र दर्शक दीर्घाका सहभागीका लागि रोचक बनेको थियो ।
माओवादी केन्द्रले गत साउन २८ मा सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने सो दल र कांग्रेस मिलेर ओलीको विरोधमा २९ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
प्रधानमन्त्री ओलीको राजीनामा पछि सहमतीय सरकार बन्न नसकेपछि राष्ट्रपतिको आह्वानमा संसद्ले बहुमतका आधारमा दाहाललाई प्रधानमन्त्री चयन गरेको हो । एमाले वा अन्य दलले उम्मेदवारी नदिए पनि संसद्को नियमावली बमोजिम एकल उम्मेदवारका लागिसमेत मतदान हुँदा दाहालले ३६३ मत प्राप्त गर्न सफल भए ।
उनलाई कांग्रेस, मधेसी मोर्चामा रहेका दल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले समर्थन गरेका थिए । कुनै पनि उम्मेदवारी नदिने निर्णय गरेको एमाले र यसमा सहमत दलले दाहालको विपक्षमा मत हालेका थिए ।
विपक्षमा २१० मत खसेको थियो । विपक्षमा एमालेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायत दलले मत हालेका थिए ।
नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई निवर्तमान सरकारले अघि सारेका तथा राष्ट्रिय मुद्दा रहेका संविधान संशोधन, पुनःनिर्माण, नीति तथा कार्यक्रम, बजेट र आर्थिक विकासलाई सबैको सहयोगमा अघि बढाउने चुनौती छ ।
मधेसी मोर्चासँग संविधान संशोधनलगायतका विषयमा सहमति भएर दाहाल निर्वाचित भए पनि एमाले र राप्रपा नेपाल विपक्षीको भूमिकामा रहने भएकाले सजिलै संविधान संशोधन वा सीमाङ्कनको मुद्दा टुङ्गिने स्थिति नरहेको विश्लेषकहरु औँल्याउँछन् । रासस