कांग्रेसमा सरकार नेतृत्व कसले गर्ने भन्ने विवाद, मन्त्री छान्न पनि सकस
काठमाडौं: कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने केही मन्त्री र नेतृत्व चयनका लागि प्रभावशाली केन्द्रीय सदस्य र पदाधिकारीको बैठक बोलाएका छन् ।
बिहीबार बिहान डाकिएको बैठकले सरकारमा सहभागी हुने केही मन्त्री र सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय गर्नेछ । देउवाले बिहीबार प्रधानमन्त्रीको शपथलगत्तै कांग्रेसबाट तीनजना मन्त्री पठाउने तयारी गर्दै बैठक डाकेका हुन् । सरकारको नेतृत्वका विषयमा पार्टीभित्र आकांक्षी बढी भएपछि सबैसँग सल्लाह गरी निर्णयमा पुग्न देउवाले बैठक डाकेका हुन् ।
सरकारको नेतृत्वका लागि नयाँ गठबन्धन निर्माणका लागि कांग्रेसबाट सक्रिय र नेतृत्वदायी भूमिका खेलेका विमलेन्द्र निधि मुख्य दाबेदार हुन् । उनका साथै गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले पनि सरकारको नेतृत्व दाबी गर्दै आएका छन् ।
कांग्रेसबाट सरकारको नेतृत्व गर्ने तीव्र इच्छा व्यक्त गरेका नेता निधिलाई पार्टी उपसभापति वा उपप्रधानमन्त्रीमध्ये एक पद रोज्न दबाब परेको छ ।
स्रोतका अनुसार सभापति देउवाले उपसभापति बनाउन इच्छा व्यक्त गरे पनि निधिको उपप्रधानमन्त्री हुने इच्छाका कारण सरकारको नेतृत्वमा उनैलाई पठाउने तयारी भएको छ । उपप्रधानमन्त्री बनेलगत्तै पार्टी उपसभापति बन्ने अवसर भने निधिले गुमाउनेछन् । ‘उपप्रधानमन्त्री बनेर सरकारको नेतृत्व गर्ने वा उपसभापति मनोनीत हुने एक रोज्न सभापतिले निधिलाई आग्रह गर्नुभएको छ', देउवा निकट स्रोतले भन्यो, ‘उहाँले जुन रोज्नुहुन्छ त्यही पाउनुहुन्छ तर दुवै पाउनुहुन्न ।'
निधिको नेतृत्वमा सरकारमा पठाउने औपचारिक निर्णय भने भएको छैन । गठबन्धन निर्माणमा मुख्य भूमिका खेलेकाले पनि आफूले पार्टीका तर्फबाट सरकारको नेतृत्व गर्न पाउनुपर्ने निधिको तर्क छ ।
देउवाले बिहीबार नवनिर्वार्चित प्रधानमन्त्री पुष्पकमल दाहालको शपथअघिमात्रै आपैचारिक निर्णय गरेर सरकारको नेतृत्व गर्ने र बढीमा दुई मन्त्रीलाई प्रधानमन्त्रीको शपथ लगत्तै शपथ खुवाउने तयारी छ । तर ती मन्त्रीबारे निर्णय हुन बाँकी छ ।
स्रोतका अनुसार शेखर कोइराला र अर्जुननरसिंह केसीले मन्त्रीको रूपमा शपथ खाने सम्भावना छ । तर उनीहरूलाई अहिले मन्त्रालयको जिम्मेवारी भने दिइने छैन । मन्त्रालय कुनकुन कांग्रेसले लिने भन्ने टुंगो लागिनसकेकाले त्यसपछि मात्रै मन्त्रालय तोकिने स्रोतको दाबी छ ।
कांग्रेसभित्र निधिलाई दुवै पद नदिन निर्णयअघि नै चर्को दबाबसमेत परेको छ । उपसभापतिलगायतका पदाधिकारी केन्द्रीय कार्यसमितिको निर्वाचित सदस्यको बहुमतले अनुमोदन गर्नुपर्ने भएकाले पनि आन्तरिक सन्तुलन मिलाउनुपर्ने हुन्छ ।
देउवाले उपसभापतिमा निधि र महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई मनोनीत गर्ने तयारी गरेका छन् ।
कार्की कांग्रेसभित्र भद्र, शालीन र बौद्धिक व्यक्तिका रूपमा परिचित छन् । २०३८ सालमा नेविसंघका अध्यक्ष बनेका कार्की महामन्त्रीको आकांक्षीमध्ये सिनियर पनि हुन् । उनको पार्टीप्रतिको निष्ठा, स्वच्छ छवि र बौद्धिक व्यक्तित्वका कारण पनि देउवा महामन्त्री बनाउने निष्कर्षमा पुगेका हुन् ।
सरकारमा सहभागी हुने मन्त्रीहरू पठाएपछि पदाधिकारी र मनोनीत हुन बाँकी केन्द्रीय सदस्य मनोनीत गर्ने तयारीमा देउवा छन् । पार्टी पदाधिकारी मनोनयनलाई सहज हुने गरी मन्त्री चुन्ने रणनीतिमा देउवा देखिएका छन् ।
देउवाले सातवटै प्रदेशबाट कम्तीमा एकजना, समानुपातिक रूपमा सबै वर्ग समेटिने गरी यसअघि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र सुशील कोइरालाको सरकारमा सहभागी नभएकालाई मन्त्रीमा पठाउने गरी मापदण्ड बनाएका छन् । केही अपवादबाहेक दोहोर्याएर मन्त्री नबनाउने विषयमा पार्टीभित्र आन्तरिक सहमतिसमेत भएको छ ।