नेतातन्त्रको संयन्त्र
संविधानतः नेपाल लोकतान्त्रिक मुलुक हो । विधिविधान नीतिनियमले पनि नेपाल स्वतन्त्र सावैभौम संघात्मक लोकतन्त्रात्मक गणतन्त्रकै देश हो । अनि नयाँ शक्ति र नूतन आसक्तिका साथ परिवर्तनका संवाहक भनिठान्ने नेताहरूका मुख बोलीले भनिने परिवर्तित नयाँ नेपाल पनि जनता नै मालिक हुने गणतन्त्रात्मक संघीय लोकतान्त्रिक प्रणालीकै राष्ट्र हो ।
तर विधि व्यवस्था र औपचारिक स्याहा से्रस्ता त्यस्ता जेजस्ता कुरा भएगरेका पनि व्यवहारमा लोकको गणको संघको कुनै स्पष्ट रूप सार र आकार प्रकार भेटिन्न ।
लोकतन्त्र छ, तर त्यसको लोकानुभूति छैन । गणतन्त्र छ, तर त्यो गणात्मक र गुणात्मक छैन । अनि संघात्मक छ, तर त्यसको कुनै स्पष्ट गन्ध र छेकछन्द छैन । त्यसैले एक दसकयताको यो नवनेपालका मालिक भनिने नेपाली जनताले अनुभव गर्दै आएको मुलुक लोक यथार्थ हो, रोग शोक भोक र नौटंकी नाटक ।
कतिपय देशीविदेशी विज्ञ विश्लेषक समीक्षकहरूले अनुबोध गरेको विषय पनि त्यही हो लोकतान्त्रिक नेपाल तीन त्रिलोकभित्र कहीँ कतै नभएको दलतन्त्र नेतातन्त्र र गुटतन्त्रको एउटा अनौठो मुलुक हो ।
६ सय एकजना एक से एक लोकपुरुषले नयाँ नेपालको नयाँ व्यवस्था बाँधेपछि लोकतान्त्रिक नेपालको आलोक नै अर्को हुन्छ भन्ने धेरैको भाका थियो । तर तिनले कोरे बनाएको त्यो खाकापछिका समयक्रमले पनि त्यस्तो कुनै खासा खुलासा गर्न सकेन । अनुहार उनै उस्तै तर परिधान नवीन, विधि विधान नूतन तर आचरण उही पुरातन । त्यस्तो भएपछि नयाँ आयामको आगमन र परिप्राप्तिको परिणाम आउँछ कसरी ?
विधि छ व्यवस्था छैन, नीति छ तर तदनुकूलको नेतृत्व छैन अनि वाचा वचनबद्धता र प्रतिबद्धता छन्, कार्य क्षेत्रमा त्यसको त्यस्तो कुनै कर्मण्यता तथा निष्ठा छैन । अनि भनिने लोकतन्त्रले के लौकिक हित गर्छ, गनिने गणतन्त्रले जनजनको के गुन गर्छ र कोरिने संघीयताले के रूप रस गन्ध स्पर्शको प्रवाह गर्छ । आज नेपालभरि, नेपाली भूलोकका सकल बस्ती–बस्तीभरि अनि यही नेपाली भूखण्डका वासिन्दाहरूका आँखाभरि अहिले यिनै थरीथरी प्रश्न भरिएका छन् ।
भन्न त लोकतान्त्रिक संघीय गणतन्त्रात्मक नेपालमा दल, समिति सभा, ब्युरो संसद्, प्रदेश निकाय संगठन संयन्त्र, क्षेत्र, समूह आदि के–के भनिन्छ । अनि आस्था आदर्श सिद्धान्त मान्यता, साझा दस्तावेज, निर्णय घोषणा आदि पनि भनिन्छ तर ती सबै देखाउने दाँत दस्तावेज र गरिटोपलिएको बैठक पुस्तिकाका कोरा हरफहरू मात्र हुन् । परिणाममा विभिन्न नाम राखेर खडा गरिएका दलका केही टाउके नेताहरू र उनीहरूकै एउटा साँघुरो अँधेरो एवं अधमरो फरमान फर्मानको नीति निर्णय नै ती सबको निचोड हो ।
जनताको मन स्पदन्द मत मान्यता र मागमुताविक जुन शासन प्रशासन एवं विधि व्यवस्थापन हुन्छ, त्यो नै लोकतन्त्र हो । गणतन्त्र हो । तर नेपालमा कतिपय नेपालीले र कति विदेशी बुझक्कडहरूले भोगे देखेको लोकतन्त्र त्यस्तो हैन । लोकतान्त्रिक रीति छ रीत छैन, लोकतान्त्रिक प्रशासन छ, प्रावधान छ ।
राज्य संयन्त्र र राजनीतिक साधन काँडाकन्टक उमार्न होइन, फाँड्न उद्यत् हुनुपर्छ । यसका निम्ति नजानिँदो तवरले संसदीय प्रजातान्त्रिक प्रणालीलाई विरूप बनाउने प्रायोजनमा उत्पन्न कन्टककरणलाई संक्रमण, द्वन्द्व वर्ग संघर्षका नाममा फैलिन बढ्न दिनुहुँदैन ।
त्यसको कुनै शोभा श्रृंगार छैन, लोकतान्त्रिक गीत बज्छ तर त्यसले कुनै रसमय सारसुर दिँदैन । लयमा लिप्त राग ताल तथा स्वर वाचनले कतै कुनै उत्प्रेरण उल्लास र उपादेयता दिँदैन । त्यसैले राष्ट्रका नायक र उत्प्रेरक अग्रगण्य शीर्षस्थ भन्नेहरूको गणतना आकलन र सम्मान पनि जनमनले यहाँ उस्तो गर्दैन । तथापि स्वनामधन्यताका धनी मानीहरूकै ढलीमलीमा देशले लडीबुडी गरिरहेछ र देशवासीको दशा दुर्दशा झनै-झनै बढिरहेछ ।
राजनीति विचारमा हुन्छ, आचारमा हुन्छ र आदर्शमा आधारित हुन्छ । बाटो देखाउन अगुवाइ गर्ने र प्रकाश झल्काएर अँधेरो फार्ने कामका हेतु राजनीति हुन्छ, अनि त्यस्तो राजनीतिले र त्यस्ता नेताले गर्ने दिशाबोधबाट सही सार निस्कन्छ । तर हामीकहाँ प्रभुत्वशील हुने र प्रभावी पात्र बन्न अनि त्यसबाट आफ्नो अनि आफ्नाहरूको स्वार्थपूर्ति गर्न राजनीति अँगालिन्छ । राजनीति योग हो, संयोग हो, साधना सेवा समाधि र तपस्या पनि हो । तर प्रयोग प्रमोद र भोगमा भुक्त प्रयुक्त लिप्त छ नेपालको राजनीति ।
जनरञ्जन राजनीति र राज्यव्यवस्थाको धर्म हो । तर लोकतन्त्रको रामनामी ओडेर मनोमानी शासन चलाउने परिपाटी आयातित आत्मकेन्द्रित नेपालको विद्यमान राजनीति हो । जनकेन्द्रित जनरञ्जित जनअपेक्षित हुनुपर्ने राज्यविधि व्यवस्था जब व्यक्तिकेन्द्रित, नेतानियन्त्रित तथा कार्यकर्ता अपेक्षित स्थितिमा रहन्छ तब त्यो जनरञ्जनको लोकतन्त्र नभई आत्मकेन्द्रित मनोरञ्जन बन्न पुग्छ । यस्तै प्रायोजन प्रबन्धन सत्ता सुख साधन र मनोरञ्जनको ढाँचामा प्रदर्शन भइरहेछ संविधान आगमनयताको अवधिमा पनि हाम्रो राजनीति ।
लोकतन्त्रमा नेता हुन्छन्, तिनै नेता उत्थानका आधार बन्छन् । उन्नयन सुख साधन जनमनोभावको परिपोषण एवं आफ्नो मौलिक मूल्यको परिपूर्णताका निम्ति जनताको दिलदिमागद्वारा दुरुस्त दरिएका नेताहरू नै उन्नायक हुन्छन्, संवाहक बन्छन्, आधारस्तम्भका रूपमा ठडिन्छन् ।
तर नेपालमा हेर्दा नेता नायक संवाहक भनिने शीर्षस्थहरूको कद र हैसियत निकै खस्किएको स्थितिमा झल्किन्छ । यसो हुनुमा नेताहरूको सत्तालिप्सा, शासनव्यवस्थाको सौदाबाजी, भागशान्ति लिने दिने र भागबन्डा गरिखाने विधि प्रविधि नै मुख्य दोषी दृश्यमा देखिन्छ । यस्तो खालको दोष दृष्टि, यस प्रकारको राजनीतिक दिशादर्शन र यस प्रकारको राजनीतिक विधि प्रवृत्ति अग्रगतिको साध होइन ।
दुःखपीडा र संकटै संकटको कन्टक बनेको छ । लोकतन्त्र कन्टक मुक्त हुनुपर्छ । लोकतान्त्रिक प्रक्रिया जनतालाई चिथोर्ने काँडो होइन, सुगम सुखद् भाँडो हुनुपर्छ । तर न भुइँमा न भाँडामा भएर भाँडिएको नेतातन्त्रले लोकतन्त्रलाई कताकता अन्यत्र नै लगिरहेको देखिन्छ ।
नौ महिनामा नाजायजी तवरले कसैलाई सत्ताबाट गिराउने र नौ–नौ महिना शासन सत्ताको नयाँ–नयाँ तानाबाना बुन्ने हालसालैको घटनाक्रमले हाम्रो लोकतन्त्रमा सहमति सहकार्य र जनस्वीकार्य संस्कृतिको होइन जनअनपेक्षित, अराजनीतिक, अनैतिक विकृति भित्र्याउँदै गएको छ । नेतातन्त्रको कण्टकमय यस्तो लोकतन्त्रले नेपाल र नेपालीलाई कस्तो अग्रगतितर्फ लैजान खोज्छ, कुनै शुद्धिबुद्धि नै छैन, कुनै ठेगान नै छैन ।
त्यसैले अब जनमत जनमनोभाव र राष्ट्रको आफ्नो मौलिक मूल्य अस्तित्व तथा लोकहितमा आधारित तन्त्र साध्यको सिद्धि गर्ने हो भने विधानमा प्रावधानमा शैलीमा समयक्रमको चिन्तनमा राम्रो ध्यान पुर्याउनैपर्छ । राज्य संयन्त्र र राजनीतिक साधन काँडाकन्टक उमार्न होइन, फाँड्न उद्यत् हुनुपर्छ । यसका निम्ति नजानिँदो तवरले संसदीय प्रजातान्त्रिक प्रणालीलाई विरूप बनाउने प्रायोजनमा उत्पन्न कन्टककरणलाई संक्रमण, द्वन्द्व वर्ग संघर्षका नाममा फैलिन बढ्न दिनुहुँदैन ।
आफ्नो अर्कैथरी अभीष्ट चिन्तनले नयाँ नेपालको बाटो बनाउँदैन । बाटो सुगम बनाउने निहुँमा बाटो बिगारेर भताभुंग लथालिंग पार्ने दाउ गर्ने, दाउपेच कलंक कन्टक हो र यसलाई नपन्छाई हामीलाई पार लागउँदैन भन्नेमा अब हाम्रो हेक्का हुनैपर्छ । अन्यथा अब राजनीतिक व्यथा दूर भयो भनेर आर्थिक कथा हाल्ने हल्काफुल्का खालका नेताहरूलाई आफैँद्वारा मनोमानीका साथ फैलाइने नेतातन्त्र स्वयंले बढार्नेछ र नेपाली जनताले सर्वजन हिताय वास्तविक लोकतन्त्र प्राप्तिको अर्को यात्रा तय गर्नुपर्नेछ ।